मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वार्ता टोलीलाई सम्पादकहरुको सुझाव

वार्ता टोलीलाई सम्पादकहरुको सुझाव


कामाडौँ । सरकारद्वारा गठित ‘अधिकार सम्पन्न राजनीतिक वार्ता टोली–२०७५’ ले द्वन्द्वरत् समूहसँग वार्ता गर्ने सन्दर्भमा बिहीबार प्रमुख सञ्चारमाध्यमका प्रमुख तथा सम्पादकहरुबाट सुझाव लिएको छ । 
 
कार्यक्रममा सरकारी वार्ता टोलीका संयोजक पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले नेपालले संविधानसभाबाट संविधान बनाई निर्वाचनसमेत भइसकेको स्थितिमा अझै पनि केही द्वन्द्वरत् समूह बाँकी रहेकाले ती सबैलाई मूलप्रवाहमा ल्याउनु आवश्यक भएकोले वार्ता टोली गठन भएको बताए । 
 
वार्ता टोलीले विभिन्न जानकार पक्षबाट सुझाव लिने क्रममा सञ्चारमाध्यम तथा पत्रकारहरुको सुझाव महत्वपूर्ण भएकाले सुझावको अपेक्षा गरिएको उनले बताए । 
 
कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यमका प्रमुख तथा सम्पादकहरुले वार्ता टोलीले सुझबुझपूर्ण ढङ्गले विश्वासिलो सम्पर्क सूत्रमार्फत गोपनीयता कायम गर्दै सकारात्मक वार्ताको पहल गर्नुपर्ने सुझाव दिए । 
 
केही सम्पादकले भने पत्रकारले पाएको गोप्य सूचना पत्रकारिताको धर्मअनुसार उपलब्ध गराउन नसकिने बताए । अधिकांशले वार्ताका लागि सकारात्मक पहलमा साथ दिने बताउँदै वार्ता भाँड्ने गरी नकारात्मक प्रचारप्रसार गर्न नहुने विचार व्यक्त गरे । 
 
कार्यक्रममा वार्ता टोलीका सदस्यहरु सुरेश आलेमगर, ताराकान्त चौधरी, लीलाकुमारी भण्डारी तथा सदस्यसचिव कुमारबहादुर खड्काले सुझावका लागि धन्यवाद दिए । 
 
कार्यक्रममा राससका महाप्रबन्धक ओपेन्द्र शर्मा, प्रमुख समाचारदाता तीर्थ भट्टराई, नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोका, रेडियो नेपालका निमित्त समाचार शाखा प्रमुख पवन प्याकुरेल, हिमालयन टाइम्सका प्रकाश रिमाल र रोशन नेपाल, नेपालमण्डल टेलिभिजनका रामराजा बज्राचार्य, रिपब्लिक खबर डटकमका प्रधान सम्पादक टङ्क पन्तको उपस्थिति थियो । फाइल फोटो