मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

दरको फेरिँदो प्रवासको संस्कृति

दरको फेरिँदो प्रवासको संस्कृति


नेपाली महिलाहरूको विशेष चाड “तीज” हर्षोल्लासका साथ अमेरिकाको विभिन्न शहरहरूमा तीजको केही हप्ता अगाडिबाट नै मनाईरहको कुरा सामाजिक सञ्जालमा प्रशस्तै देख्न र हेर्न पाईन्छ । सन् २०१८ को तीज पर्व सेप्टेम्वर १२ तारिख बुधवारको दिन पर्ने भएको हुनाले उक्त तीजको दिन अगाडिकै सप्ताहन्तसम्ममा आफन्त र साथीहरूसँगको भेटघाट, पार्टी एवं दर खाने र ख्वाउने काम समापन गरिन्छ ।
 
 
प्राय: नेपाली-अमेरिकनहरूको पहिलो पुस्ता आफ्नो भाषा, संस्कार र संस्कृतिसँगै रमाउन चाहन्छन । यद्यपी अन्य अमेरिकन चाडपर्वहरू पनि उत्तिकै महत्व र उल्लाससाथ मनाउने गरिन्छ । अनुमानित ४० हजारको हाराहारीमा नेपालीको बसोबास रहेको डालस डिएफडब्ल्यू मेट्रोप्लेक्स, टेक्ससमा सातवटा मुख्य सहरहरू रहेका छन् । त्यस मध्ये अर्भिग र यूलेस सहरहरूमा सबै भन्दा बढी नेपालीहरूको बसोबास छ । 
 
नेपाली संघसंस्थाहरूको प्राय: कार्यालयहरू यिनै सहरहरूमा भएकोले सिटीका पदाधिकारीहरू पनि नेपाली चाडपर्वहरूमा उपस्थित हुन्छन । उनीहरू एक घण्टाको लागिमात्रै भनेर कार्यक्रममा आएतापनि तीन घण्टा बसेर नेपाली भोजनको साथमा कार्यक्रमको मज्जा लिने गरेका छन । साथै, विश्वका १९२ वटा राष्ट्र र टापुहरूका स्थानीय बासिन्दाहरू यस मेट्रोप्लेक्समा बसोबास गर्ने भएकोले उनिहरूलाई नेपाल र नेपालीवारे केही न केही जानकारी छ । स्थानीय सरकारको प्रहरी सेवा लगायत विभिन्न निकायहरूमा नेपालीहरू पाईन्छन ।
 
सन् २००४ सम्म मात्रै केही सयको संख्यामा नेपालीहरू यस मेट्रोप्लेक्समा रहेका थिए । सन् २००९-१८ को अवधि अर्थात एक दशकको बीचमा धेरै हजार नेपालीहरू नेपालबाट सोझै वा अन्य अमेरिकि राज्यहरू र विश्वका विभिन्न देशहरूबाट आएको पाईन्छ । 
 
अर्भिंग, युलेस, आर्लिंगटन, बेडफोर्ड, ग्रेण्डप्रेरी, डालस, फोर्टवर्थ, क्यारल्टन, कोलिभिल, ग्रेपभाईन, प्लेनो, फ्रिस्को, हर्स्ट आदि विभिन्न सहरहरूका नेपाली घर, अपार्टमेन्ट, टोलमा तीज धुमधामका साथ मनाएको पाईन्छ । आगामी सेप्टेम्वर ८ र ९ तारिख सप्ताहन्त पर्ने भएकोले संघसंस्थाहरूले होटेलमा तीज आयोजना गरेका छन । टोल-टोलमा पनि तीजको कार्यक्रम राखिएको छ । एउटा टोलमा औसत तीनसयको हाराहारीमा सहभागी हुने देखिन्छ ।
 
समग्रमा हेर्दा यसरी नेपालीहरूले अमेरिकामा पनि स्थानियहरूसँग नेपाली कल्चरलाई व्यालेन्स गरेर नेपालमा झैं चाडपर्व मनाउनु  उत्साहपूर्ण छ । यो तीज कार्यक्रमलाई हर्ने/देख्ने दोस्रो पुस्ताका नेपाली सन्ततिहरूले तीजमा म्याक्डोनल र बर्गर चपाउंदै भए पनि साडी लगाएर डान्स गर्नेछन । 
 
दोस्रो पुस्ताका नेपाली-अमेरिकनहरूले अनलाईनमा तीजको गीतहरू बजाउन त पाउनेछन तर, तिथि अनुसार तीज मनाउन प्राय: असम्भव छ । हरियो पोतेमा तिलहरी हराउन सक्छ । दरको सट्टा ‘टकिला’ स्वाट्ट पारेर र्-यापमा झ्याप हुँदै ह्यप्पी तीज गाईन सक्छ ।