मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा नीर शाह अभिनन्दिन

ड्यालसमा नीर शाह अभिनन्दिन


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – नेपाली कलाकारितामा उच्च स्थान बनाउन सफल अभिनेता नीर शाहलाई ड्यालसबासीहरुले शुक्रबार अभिनन्दन गरेका छन् । 
 
नेपाली समाज टेक्ससको सभाकक्षमा भव्य उपस्थितिबीच शाहलाई अभिनन्दन गरिएको हो । नेपाली समाज टेक्ससले शाहलाई रंग, सञ्चार, साहित्य क्षेत्रमा योगदान गरेवापत अभिनन्दन गरेको हो । 
 
शाहले सयौं नेपाली चलचित्रहरुमा बिभिन्न भूमिका निर्वाह गर्नुका साथै नेपाल टेलिभिजनको स्थापनामा सबैभन्दा ठूलो योगदान गरेका छन् । 
 
नृत्य प्रशिक्षीका आइशा ओझाबाट प्रशिक्षित ससाना नानीहरुको नृत्य सहितको कार्यक्रममा शाहद्वारा अभिनित चलचित्र बसन्तीको ‘गैरी खेतको सिरै हान्यो’ बोलको गीतमा शर्मिला लामिछानेले नृत्य गरेकी थिइन् । सोही अवसरमा शास्त्रीय संगीतका प्रशिक्षक तुङ्गनाथ उपाध्यायका प्रशिक्षार्थीहरुले वाद्यवादन प्रस्तुत गरेका थिए । 
 
नेपाली समाज टेक्ससका महासचिव भक्त भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन भगवती पौडेलले गरेकी थिइन् । समापन सहित धन्यवाद ज्ञापन भने नेपाली समाजका अध्यक्ष सुमन थापाले। 
 
हिमालय खबरका सल्लाहकार सम्पादक शैलेश आचार्यले अभिनन्दन गरेका थिए । श्रष्टा साँझका प्रभात दीक्षितले अभिनन्दित शाहको परिचय दिएका थिए । त्यस अवसरमा ज्ञानेश्वर अमात्यले गीत, राधाकृष्ण काफ्लेले कविता वाचन गरेका थिए ।
 
अभिनन्दन पछि शाहले आफ्नो रंग जीवनका विविध पाटाहरूमाथि प्रकाश पार्दै आफूलाई गरिएको सम्मान सम्पूर्ण नेपाली कला क्षेत्रलाई गरिएको भन्दै आभार प्रकट गरे । वर्तमान मानव समाजको अन्तरराष्ट्रियकरण भएको चर्चा गर्दै शाहले जो जहाँ भएपनि आफ्नो संस्कृति र संस्कारलाई आफूभित्र नचाई राख्नुपर्ने र यसका लागि तपाईहरूले गरिरहनु भएको कार्य सराहनीय रहेको बताए । 
 
नेपालमा समाजविरोधी कार्य गर्नेभन्दा नेपाल वाहिर रहेर नेपाल र नेपाली भाषा, संस्कृतिका लागि केही गर्ने बढ़ी नेपाली हो ( नीर शाहको भनाई थियो । सो अवसरमा उहाँले आफ्नो एउटा कविता पनि वाचन गरेका थिए ।
 
यसैगरी नेपाली जनसम्पर्क समिति, वेष्ट टेक्ससले पनि नीर शाहको सम्मानमा एक कार्यक्रमको आयोजना गरेको थियो । च्याप्टरका कार्यवाहक अध्यक्ष प्रवीण घिमिरेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता हरिबोल भण्डारीले शाहको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पारेका थिए । 
 
उक्त भेलालाई संवोधन गर्दै शाहले आफू मूलत कलाकार भएको बताउँदै मानिसलाई यन्त्र बनाउने विचारको सदैव बिरोधी भएका कारण मानवीय मूल्यको रक्षा गर्न आजीवन लोकतन्त्रको पक्षपोषणमा लागिरहने बताए ।