अमेरिका – नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको बिधेयकमा गैर आवासीय नेपालीहरुका मागहरु बारे स्पष्ट नभएको निष्कर्श सहित विदेशमा रहेका नेपालीहरुका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउन एनआरएन अमेरिकाको टोली काठमाडौं जाने भएको छ ।
हाल राज्य व्यवस्था तथा शुसासन समितीमा बिचाराधीन रहेको नागरिकता बिधेयकमा थुप्रै सच्याउनुपर्ने देखिएपछि सरकारलाई यसबारे ध्यानाकर्षण गराउन एनआरएन अमेरिकाले उपाध्यक्ष जेदु पोखरेल र बोर्ड अफ डाइरेक्टर संजय थापालाई काठमाडौं पठाउन लागेको हो ।
नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुदीप पन्त समेत यो अभियानमा सामेल हुनेछन् । पन्त संस्थागत तथा व्यक्तिगत कामको सिलसिलामा नेपाल जाने भएपछि नेजाले यो नागरिकताको अभियानमा सामेल हुन अध्यक्ष पन्तलाइ म्यान्डेट दिएको हो ।
एनआरएन अमेरिकाले एक बिज्ञप्ती जारी गर्दै गैर आवासीय नेपालीहरुका मागहरु सम्बोधन गर्न सम्बन्धीत निकायसमक्ष लबि गर्न उपाध्यक्ष पोखरेल र बोर्ड अफ डाइरेक्टर थापालाई खटाएको जनाएको छ । यस अघि एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले पुर्ब सभामुख सुवास नेम्वाङ लगायतका व्यक्तिहरुसँग यसबारे छलफल गरेका थिए । एनआरएन अमेरिकाले महावाणिज्यदुतावास मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।
प्रतिक्रिया