मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

घर किन्नु पहिले गर्नैपर्ने काम–जीवन बीमा

घर किन्नु पहिले गर्नैपर्ने काम–जीवन बीमा


ड्यालस अमेरिकामा द्रुत गतिमा अार्थिक बिकास भइरहेको शहरमा पर्छ । अमेरिकाको बाँकी ४९ वटै राज्यमात्र नभएर संसारभरिका सबै देशबाट अाएका अाप्रवासीहरूको बसोबास छ ड्यालसमा । 
 
शहरको तीब्र विस्तार अनि रोजगारीको राम्रो अवसर हुनाले नेपाली समुदायको पनि निकै बाक्लो बसोबास छ ड्यालसमा । अमेरिकामा रहेका नेपालीहरूमधय समुदायमा सफल कहलिएका ब्यबसायीदेखि भर्खर नेपालबाट आएर आफ्नो जीवन थालनी गर्नेहरूको संगम पनि हो यो शहर । ड्यालस भन्नाले एउटामात्र शहरका रूपमा भएपनि यसले बीच र सेरोफेरोका फोर्टवर्थ, फ्रिस्को, मिकिनी, वेदरफोर्डसम्मलाइ पनि बाहिरबाट चिनिएको छ । 
 
नेपालीहरु ड्यालस र सेरोफेरोमा विभिन्न ब्यबसाय गरिरहेका छन् बिशेषज्ञ सेवामा पर्न डाक्टर, सिपिए, रजिस्टर्ड नर्स, इन्जिनीयर, बैंकर, कम्प्युटर सफ्टवयर सम्बन्धि कामदेखि लिएर वयरहाउस लगायत विभिन्न कम्पनीमा काम गरि परिवारलाइ सहयोग गर्दै आउनेको संख्या ठूलो छ । अाफ्नै व्यबसाय गरेर सयाैँलाइ रोजगारी दिने नेपाली समुदायका सदस्यहरू पनि छन् ड्यालसमा । 
 
अमेरिकामा नेपालको तुलनामा काम गर्न धेरै सजिलो छ । यहाँ सिस्टम छ, त्यो सिस्टमलाइ राम्रोसँग उपयोग गर्यो भने मात्र पुग्दछ । नेपाली समुदायको ड्यालस अागमनसँगै परिवारको लागि आवश्यक घर किन्ने अनि गाडी किन्ने प्रचलन अन्य राज्यमा भन्दा धेरै छ ।
 
अमेरिकामा घर किन्दा नेपालमा जस्तो सबै मूल्य चुक्ता गर्नु पर्दैन । यही कारणले गर्दा कहिले कहिले अपार्टमेन्ट भाडामा बस्नु भन्दा घर किन्न सरल र लामो समयमा घरको लगानी सुरक्षित लगानी पनि जम्मा हुँदै जाने र भाडामा बस्दा हुने विभिन्न झन्झटबाट मुक्त हुने हुँदा घर किन्न नेपाली समुदाय आकर्षित भै रहेका छन् । 
 
आफ्नो क्रेडिटस्कोर र कमाइ अनुसार घरको मूल्यको साढे तीन प्रतिशत भन्दा माथि चुक्ता गरे बाँकि पैसा बैंक अथवा त्यस्तै ऋण दिने कम्पनीले बढीमा ३० वर्ष सम्म चुक्ता गर्ने गरि ऋण पाइन्छ । हरेक महिना अपार्टमेन्टको भाडा तिरेको जस्तै गरि बैंकको किस्ता तिर्दा आफ्नो घरमै बसी रमाइलो गर्न पाइन्छ । 
 
परिवारको हेरचाह, अनि बैंकको तिर्नुपर्ने किस्ता, त्यस्तै अमेरिकाको छुट्टी मनाउने प्रचलन, अनि नेपाली चाडपर्व समुदायमा हुने विभिन्न कार्यक्रम अनि खर्चहरु धेरै भइ रहेको हुनाले बचत खासै हुदैन । त्यसैले सधैँ स्वस्थ रही काम गर्नुको विकल्प हुदैन ।
 
अमेरिकी जीवन एक किसिमले भन्नुपर्दा किस्तै किस्तामा चलेको हुन्छ ।  गाडी किस्ता, घरको किस्ता, मोबाईल फोनको किस्ता । त्यस्तै त्यस्तै हुन्छ किस्ताको सूचि । 
 
अब कल्पना गराैँ कुनै कारणले घरको आम्दानी गर्ने मान्छे अङ्गभङ्ग भयो, बिरामी भयो भने भने त्यो अवस्थामा के होला ?  कमाउने मान्छे बिरामी भएको कारणले थप खर्च बढ्न गई परिवार चल्न गार्हो हुन्छ । कुनै कारणले बैंकको तिर्नुपर्ने दुइ किस्ता तिर्न छुट्ने बित्तिकै घरमै चिठी अाइपुग्छ । त्यति गर्दा पनि तिर्न नसके घर गाडी फिर्ता लिने काम गर्छ ।
 
साथै उक्त घर, गाडीलाइ लिलाम गरेर अाफ्नो ऋण असुल उपर गर्छ । यसरी बिरामी भएको कारण वा कमाई गर्ने मान्छेको मृत्य भएको कारणले आश्रित परिवारमा ठूलो क्षति भएको हामी सबैले देखेका छौ ।
 
मानव जीवनमा ग्यारेन्टी भन्ने कुरा केहि छैन । परिवारमा कमाइ गर्नेको असामयीक निधन हुनसक्छ, अंगभंग हुनसक्छ । समयमा कसरी ब्यबस्थापन गर्ने त ?
अमेरिकामा सिस्टम छ । सिस्टमसँगै बसियो भने भोलि भइपरि अाउने समस्या लाई न्यूनीकरण गर्न सकिन्छ ।
 
अमेरिकामा घर किन्दा घरको बीमा अनिबार्य गर्नु पर्दछ । गाडी किन्दा अनिवार्य बीमा गर्नु पर्दछ । अनि हामीले थाेरै मूल्यको फोन किन्दा पनि बीमा गर्ने चलन छ । तर यी सबै कुराहरू किनेर पाइने चिज हुन् । तर किनेर नपाइने बहुमूल्य हाम्रो जीवनको बीमा गर्ने तर्फ भने हामी त्यति सजग छैनाैँ । त्यसतर्फ हामी चुकेका  हुन्छौ । कतिपय कुराहरु नेपालमा चलन चल्ती मा नभएर पनि हामीलाई बानी नपरेको हो । 
 
नेपालमा हाम्रो सामाजिक परम्परा अनुसार सामाजिक बीमा हुन्छ । कुनै छिमेकीलाई केहि पर्यो भने गाउँभरिका मानिस आएर सहयोग गर्ने चलन छ । अनि बिरामी भएमा अस्पताल बोकेर पनि पुर्याउने, छिमेकी बिरामी भएमा उसको खेती लगाइदिने, पशुपन्छी हेरचाह गरिदिने चलन छ । यसलाइ सामाजीक बीमाका रूपमा लिँदा पनि हुन्छ । 
 
भनिन्छ कुनै पनि जोखिमको काम गर्दा त्यो जोखिम बापतको जोखिम व्यबस्थापपन पनि गर्नु पर्दछ । जब जोखिमको बेबस्थापन गरिदैन यो जग बिनाको महल हुन जान्छ । जुन सानो गडबडीले पनि भत्काउन सक्छ । 
 
अमेरिकाको जीवनशैली, अनि यताको सिस्टमले त्यो सबै गर्न सम्भव छैन । तर पनि हामी भाग्यमानी छौँ । कसैलाई केहि पर्यो भने ड्यालसमा नेपाली समाज सक्रिय छ । हाम्रो त्यो नेपालको सामाजिक भावनालाई चटक्कै बिर्सेका छैनौ । तर नेपाली समाजले मर्दा पर्दा तत्कालिन काम गर्ने हो, सबै काम सधैभरि कसैले पनि गर्न सम्भव हुँदैन । आफ्नो  काम त हामी आफैले गर्नुपर्छ । 
 
यी बिबिध कारण ले गर्दा जीवन बीमा अनिबार्य छ । अब कस्तो बीमा गर्ने कति पर्छ ? बीमाका बारेमा विभिन्न हल्लाहरु छन् कस्तो बीमा लिने भन्ने जिज्ञाशा हुन सक्छ ?
जीबन बीमा धेरै किसिमका हुन्छन् । कुनै कोठा भाडामा बसेको जस्तो र अर्को घर किनेको जस्तो ।
 
कोठाभाडामा लिँदा सस्तो त छ, बस्न सजिलो पनि हुनसक्छ । तर जब हामी कोठा छोड्ने बखतमा हिसाब गर्दा हात लाग्यो शून्य । अर्थात अपार्टमेन्टलाइ तिरेको रकम एक पेनी पनि फिर्ता हुँदैन । उल्टो डिपोजिट राखेको रकमले नपुगेर थपेर अपार्टमेन्ट छोड्ने नेपाली धेरै छन् । किनकी त्यो भाडामा थियो । 
 
तर आज घर किनियो भने घरको लागि लिइएको ऋण एकदिन चुक्ता हुन्छ। आफुले प्रयोग गरे पनि भयो, बेच्न पनि मिल्यो अथवा त्यो घरबाट आफ्नो जम्मा  भएको पैसा लिन पनि मिल्यो । अथवा छोराछोरीलाइ दिन पनि भयो । धेरै फाइदा छन् ।   
 
जीवन बीमा महंगो हुँदै होइन । आफ्नो स्वस्थ र उमेर बीमाको योजना अनुसार किस्ता फरक हुन्छ । बीमाको किसिम भन्दा आफुलाई आबश्यक पर्ने रकमको बीमा लिए आफ्नो र सन्ततीको भबिष्यमा पर्न सक्ने जोखिम कम गर्नेतिर हामीले अहिलेनै ध्यान पुर्याउनैपर्छ । कस्तो किसिमको बीमा योजना लिने र कति पर्छ भन्नको लागि लाइसेन्स प्राप्त एजेन्टसँग सल्लाह गरि आफ्नो बजेट र आबश्यकता अनुसार बीमा योजना लिई आफ्नो र परिवारको भबिष्य सुरक्षित गर्नेतिर सोच्ने बेला भएको छ । 
 
(लेखक लोहनी न्यूयोर्क लाइफ इन्सुरेन्ससँग संबद्ध छन् ।)