हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – अमेरिकामा नेपाली समुदायका दैनिक जीवनका विषयहरूलाइ मनोरञ्जनात्मक रूपले प्रस्तुत गर्नेगरि वेव–सिरियल (टेलिसिरियल) निर्माण हुने भएको छ ।
नेपो प्रिकर्ड, सफल इन्टरटेनमेन्ट र कलरब्लाइन्ड क्रियटिभले संयुक्त रूपमा प्रस्तुत गर्न लागेको सिरियल हरेक साता नयाँ र समसामयीक विषयमा प्रस्तुत हुने जनाइएको छ ।
‘हाउस नम्बर ४२०‘ नाम दिइएको सिरियलका लागि अहिले धमाधम कलाकार चयन गर्ने काम भैरहेको प्रयास बास्तोलाले जानकारी दिएका छन् । ‘यसमा अमेरिकामा रहेका नेपालीहरूको दैनिक जीवनमा भोगेका घटना, दिनचर्यालाइ रमाइलो रूपमा प्रस्तुत गर्दैछैाँ,‘ बास्तोलाले भने ।
उच्च स्तरीय क्यामरा र स्टुडियो मार्फत सिरियलको निर्माण तथा उत्पादन हुने समेत उनले जानकारी दिए । पोष्ट प्रोडक्सनको काम जम्प एण्ड स्मास स्टुडियोले गर्नेछ ।
सिरियलको निर्देशन बाल्मिकी पोखरेलले गर्नेछन् । पोखरेलले नेपालमा सहायक निर्देशकका रूपमा बिभिन्न सिरियलमा भूमिका निर्वाह गरिसकेका छन् । उनी हाल युनिभर्सिटी अफ टेक्सस अार्लिङटनम अध्ययनरत छन् ।
सिरियलका लागि चारजना मुख्य पात्रहरू र थप डेढ दर्जन सहायक कलाकारको खोजी भैरहेको छ । सिरियलमा खेल्न इच्छुकलाइ सम्पर्क राख्न अाव्हान गरिएको छ ।
‘नेपालमा पनि टिभीमा प्रशारणका लागि कुराकानी गरिरहेका छैाँ,‘ बास्तोलाले भने । एचडी क्वालिटीमा उपलव्ध हुने भएकोले अमेरिकामा युटुब मार्फत हेर्न सकिने जनाइएको छ । अहिलेलाइ कम्तिमा ३० भागको लक्ष्य राखेर उत्पादन गर्ने तयारी गरिएको छ ।
यसको निर्माणमा संलग्न पक्षहरूका अनुसार टेलिसिरियल भन्दा पनि ‘वेव सिरियल‘ का रूपमा यसलाइ उत्पादन र प्रशारण गरिनेछ । यसमा अभिनयका लागि हाल अमेरिकामा रहेका स्थापित नेपाली कलाकारहरूलाइ समेत अाग्रह गरिएको छ ।
सुरूमा ड्यालसको सेरोफेरोमा केन्द्रित रहेपनि अमेरिकाका अन्य शहरहरूमा रहेका नेपाली माझ पुगेर उनीहरूका जीवन र कथाहरूलाइ सिरियलमा ल्याइनेछ ।
प्रतिक्रिया