मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महिलाका हक अधिकारसम्बन्धी कानून कार्यान्वयनमा जोड

महिलाका हक अधिकारसम्बन्धी कानून कार्यान्वयनमा जोड


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र कानूनले व्यवस्था गरेका महिलाका हक अधिकारलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् । 
 
अन्तर पार्टी महिला सञ्जालले आयोजना गरेको ‘राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व’ विषयक अन्तरक्रियामा उनले विगतको तुलनामा अहिलेको संविधान र अन्य कानूनले महिला हकअधिकारका साथै समानुपातिक समावेशीताका सम्बन्धमा धैरे प्रावधानको व्यवस्था गरेको बताए । 
 
नेता श्रेष्ठले राजनीतिक दलका नेतृत्वमा रहेको पितृसत्तात्मक सोचको हाबीका कारण मुलुकको राजनीतिक क्षेत्रमा अपेक्षित रुपमा महिला समावेशीता बढ्न नसकेको धारणा व्यक्त गर्दै महिलालाई अधिकार दिने विषयमा प्रतिबद्धता गरेरमात्र नहुने भएकाले व्यवहारमा कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताए । 
कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका प्रवक्ता केशव झाले शासक र शासितबीच जहिले पनि दूरी हुने भएकाले सत्ता पक्षबाट महिला अधिकारका सम्बन्धमा पनि फरकफरक व्यवहार हुने गरेको बताए । 
 
महिलालाई अघि सारेर गरेका विकास निर्माणका काम तुलनात्मक रुपमा बढी प्रभावकारी हुने धारणा व्यक्त गर्दै उनले ग्रामीण क्षेत्रमा महिलाको अवस्था अहिले पनि दयनीय नै रहेकाले यसलाई हटाउन सबैले आ–आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने बताए । 
 
संघीय समाजवादी फोरम नेपालकी नेत्री एवं सांसद प्रमिला यादवले महिला र पुरुषबीचको सम्बन्ध नङ र मासुको जस्तो भएकाले राज्यले पनि सोही अनुसार नै व्यवहार गर्नुपर्ने बताए । महिलाको सम्मान र सशक्तीकरण नभएसम्म कुनै पनि मुलुक सम्पन्न र समृद्ध हुन नसक्ने उनको धारणा थियो । 
 
नेकपा (माले) का प्रवक्ता कुमार बेल्बासेले संविधानमा भएका महिलाका हक अधिकारसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न कानून निर्माण र कार्यान्वयनको खाँचो रहेको बताए । 
 
कार्यक्रममा नेकपाकी नेतृ एवं सञ्जालकी सदस्य शशी श्रेष्ठले राज्यका प्रमुख निकाय र प्रमुख राजनीतिक दलमा महिला सहभागितासम्बन्धी प्रावधान र कार्यान्वयनको दस्तावेज प्रस्तुत गरेका थिए । रासस