मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवनमा तीनपांग्रे व्यवसायीको आन्दोलनमा गोली चल्यो, आन्दोलन स्थगित

चितवनमा तीनपांग्रे व्यवसायीको आन्दोलनमा गोली चल्यो, आन्दोलन स्थगित


हिमालय खबर संवाददाता-
भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि बुधबार भरतपुर दिनभरि नै तनावग्रस्त बन्यो ।
 
जिल्ला प्रशासन कार्यालयनजिक प्रर्दशनमा उत्रिएका तीनपांग्रे चालक,व्यवसायी र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी महेन्द्र सुनार घाइते भएका छन् ।
 
प्रहरीले भीड नियन्त्रण गर्न सय सेल अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीको ढुंगा लागेर १८ प्रहरी घाइते र थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले २८ जना मजदुर पक्राउ गरेको जनाएको छ । घाइतेहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
 
प्रर्दशनमा उत्रिएका तीनपांग्रे चालक र व्यवसायीले मोटरसाइकल आगजनी गर्नुका साथै म्याजिक तोडफोड गरेका थिए । प्रहरीले सयवटा अश्रुग्यास प्रहार गरेको थियो । आन्दोलनकारीले प्रहरी चौकीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले फायरिङ गरेको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले बताए । 
 
उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी संचालनमा रोक लगाएपछि तीनपांग्रे चालक र व्यवसायी थप आन्दोलित भएका हुन् । तीनपांग्रे सवारीसाधनको विभिन्न समिति, उपसमिति, टूेड युनियनहरुले मंगलबारदेखि भरतपुरको केन्द्रीय बस टर्मीनल क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
 
भरतपुर महानगरपालिकाले गत साउन ५ गतेदेखि राजमार्ग क्षेत्रमा अटोरिक्सा र ट्याम्पो चलाउन रोक लगाउने निर्णय गरेको थियो । सो निर्णयको विरोधमा उच्च अदालत हेटौडामा मुद्दासमेत परेको थियो ।
 
अदालतले वैकल्पिक सडक भएका स्थानमा अटोरिक्सा राजमार्गमा चलाउन नदिन महानगरको पक्षमा फैसला गरेपछि व्यवसायी आन्दोलित भएका हुन् । महानगरले सहमति नदिएपछि महानगर र मजदुर एवम् अटो व्यवसायीबीच मंगलबार र बुधबार बिहान छलफल भए पनि सहमति हुन सकेन । महानगरले सवारी चाप अघिक भएको र दुर्घटना बढाएको भन्दै राजमार्गमा कुनै पनि हालतमा अटो ट्याम्पो गुड्न नदिने बताउँदै आएको छ ।
 
आन्दोलन स्थगित 
 
यसैबीच, चितवनमा प्रहरी प्रशासन कडारुपमा प्रस्तुत भएपछि तीनपाँग्रे सवारी साधनको आन्दोलन स्थगित भएको छ । बुधबार साँझ जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय छलफलपछि पाँचबुँदे सहमति गर्दै आन्दोलन स्थगित गरिएको हो ।
 
छलफलबाट महानगरले निर्धारण गरेको पुरानै रुटअनुसार तीनपाँग्रे सवारी साधन संचालन गर्ने, गोली लागी घाइते भएका महेन्द्र सुनारको उपचार प्रशासनको समन्वयमा गर्ने र तीन पाँग्रे सवारीलाई व्यवस्थित गर्न भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीको संयोजकत्वमा कार्यदल गठन भएको छ । 
 
प्रहरी दमनको राप्रपाद्धारा विरोध 
 
यसैबीच, राप्रपाले भरतपुर उपमहानगरपालिकामा प्रहरीले दमन गरेको भन्दै चिन्ता व्यक्त गरेको छ । राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै वर्नमान सरकार चरम दमन तथा जनहितविरोधी कार्यमा जुटिरहेको दाबी गरेका छन् ।
 
राजमार्गमा तीनपांग्रे सवारी चलाउन रोक लगाएको र आफ्नो रोजीरोटी खोसिएको विरोधमा भएको शान्तिपूर्ण प्रदशर्नमा उत्रिएका नागरिकमाथि प्रहरीले दमन गरेको राप्रपाले विरोध जनाएको हो । विज्ञप्तिमा प्रहरीको दमनबाट घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको व्यवस्था गर्न आग्रह गरिएको छ ।