मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बेल्जियमलाई १ गोलले हराउँदै फ्रान्स विश्वकप फाइनलमा

बेल्जियमलाई १ गोलले हराउँदै फ्रान्स विश्वकप फाइनलमा


एजेन्सी । रसियामा जारी विश्वकप फुटबलको सेमिफाइनल खेलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै फ्रान्स फाइनलमा प्रवेश गरेको छ ।
 
फ्रान्स १२ वर्षपछि फाइनलमा पुगेको हो । फ्रान्सको जितमा सामुएल उमटिटीले उत्कृष्ट खेल प्रदर्शन गर्दै नायक बनेका छन्। उनकै निर्णायक गोलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले पराजित गर्न सफल भएको हो । अत्यन्त रोमान्चक खेलमा दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । 
 
खेलको ५१औं मिनेटमा उमटिटीले हेडर गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफमा फ्रान्सले गोल फर्काउँदा बेल्जियमले भने बराबरी गोल फर्काउन चुक्यो । दोस्रो हाफमा बेल्जियमले गोल गर्ने थुप्रै अवसर पाए पनि गोलमा परिणत गर्न सकेन । एकपछि अर्को प्रहार गरेको बेल्जियमले गोल गर्न नसकेपछि प्रान्स फाइनलमा प्रवेशको ढोका खुल्यो । 
 
यसअघि पहिलो हाफसम्म दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । रसियाको सेन्ट पिटर्सबर्गमा दुवै टिमले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पहिलो हाफमा अग्रता बनाउन चुकेका थिए ।
 
खेलको १९ औं मिनेटमा बेल्जियमका कप्तान इडन हजार्डले प्रहार गरेको बल फ्रान्सका डिफेन्डरले उत्कृष्ट बचाउ गरेका थिए । एकपछि अर्को आक्रमक खेल खेलेको बेल्जियमले खेलको २२ औं मिनेटमा टोबी एल्डेरवेरेल्डले प्रहार गरेको बल फ्रान्सका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।
 
खेलको ३४औं मिनेटमा फ्रान्सले गोल गर्ने राम्रो अवसर खेर फालेको थियो । किलियन एमबाप्पेले दिएको पासलाई ओलिभियर जिरौडले गोल गर्न सकेनन् । खेलको ४० औं मिनेटमा फ्रान्सका बेन्जिामिन पाभार्डले प्रहार गरेको बल बेल्जिमका गोलरक्षकले बचाएका थिए । 
 
फ्रान्सको यो तेस्रो फाइनल प्रवेश हो । यसअघि सन् १९९८ मा भएको विश्वकप फुटबलको उपाधि फ्रान्सले पहिलो पटक उचालेको थियो । त्यस्तै, सन् २००६ मा फ्रान्स फाइनलमा पुग्दै उपविजेता बनेको थियो ।
 
विश्वकपको फाइनलमा प्रवेश गरेसँगै फ्रान्स अब उपाधि उचाल्नबाट एक कदम पछि मात्रै छ । फ्रान्सले अब क्रोएसिया र इंग्ल्यान्डबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
 
फ्रान्ससँग पराजित भएसँगै बेल्जियमले पहिलोपटक फाइनलमा पुग्ने अवसर गुमाएको छ । फ्रान्सलाई पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको भए बेल्जियमले आफ्नो फुटबल इतिहासमा नयाँ अध्याय कोर्ने थियो ।
 
सन् १९८६ मा भएको विश्वकपको सेमिफाइनलमा बेल्जियम अर्जेन्टिनासँग २–० गोलले पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो । तस्बिर : फेई मौउहा / सिन्हवा