मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

व्याज कमाउनु छ नेपालमा लगानी गर्नुस्

व्याज कमाउनु छ नेपालमा लगानी गर्नुस्


केही साता नेपाल बसेर फर्किएका ड्यालसका एक स्थानीय नेपालीले बडो घतलाग्दो तथ्य सुनाए । ‘यहाँ (अमेरिकामा) लगानी गरेर जोखिम, अनिश्चितता बोक्नुभन्दा त नेपालको बैंकमा लगेर पैसा राख्यो भने बढी फाइदा हुने रहेछ,’ उनको भनाई थियो । 
 
उनका अनुसार नेपालका बैंकहरुले मुद्धती खातामा सजिलैसँग १२ प्रतिशत व्याज दिन थालेका छन् । अमेरिकाबाट एकलाख डलर नेपाल पठाउँदा एककरोड १० लाख रुपैयाँभन्दा बढी हुन्छ । त्यसलाई कुनै पनि बैंकको मुद्धती खातामा राख्दा वर्षको १३ लाख रुपैयाँ अर्थात महिनाको एकलाख १० हजार रुपैयाँ प्राप्त हुन्छ । तनाव पनि नहुने, जोखिम पनि नहुने कारणले गर्दा आफुले त्यतातिर सोचिरहेको उनले सुनाए ।
 
हुनत अमेरिकामा एकलाख डलर लगानी गर्ने हो भने नेपालको भन्दा बढी कमाउन सकिन्छ । तर तनाव  र उत्तिकै जोखिम हुने भएकोले नेपालमा बैंकमा राख्दा तनाव कम हुने, डुब्ला भन्ने तनाव पनि हुँदैन । तर लगानीकर्ताका अनुसार व्याजका लागि मात्र नभएर अन्य क्षेत्रमा पनि नेपाल लगानीयोग्य हुँदै गएको छ । 
 
दुई साता पहिले ड्यालसमै एनआरएनका पूर्ब अध्यक्ष जीवा लामिछाने भन्दैथिए–‘लगानीको सुरक्षा, प्रतिफलको हिसाबले नेपालजस्तो ठाउँ संसारमा अन्त कतैपनि मैले देखेको छैन ।’ उनले आफुले अहिलेसम्म विदेशमा गरेको लगानीमध्य सबैभन्दा बढी प्रतिफल र सन्तुष्टी नेपालकै लगानीबाट मिलेको अनुभव सुनाए ।
 
अघिल्लो पात्रले नेपालको बैंकमा पैसा राख्दा बढी प्रतिफल आउने तथ्यलाई सुनाउनु अनि लामो समयदेखि विदेशमा लगानी गरेर इज्जत प्रतिष्ठा र आम्दानी समेत आर्जन गर्न सफल लामिछानेले नेपालमा गरेको लगानीको प्रतिफल बढी रहेको अनुभव प्रस्तुत गर्नुले नेपालमा अहिले लगानीको लागि उपयुक्त वातावरण बन्दै गएको संकेत दिन्छ । 
 
लामो समयपछि स्थायी प्रकृतिको सरकार गठन भएको छ । २०५६ सालपछि यस पटकनै हो एउटै दलको बहुमत प्राप्त सरकार गठन भएको हो । बहुमत प्राप्त सरकार भएकोले यसले बनाउने नीति, नियमको स्थायीत्व रहने आशा सबैतिरबाट व्यक्त गरिएको छ । जसले गर्दा लगानीका लागि उपयुक्त वातावरण तयार हुने कुरामा आशावादी हुने ठाउँ धेरैनै छ । यद्यपी सरकारले जुन स्पिडले काम गर्नुपथ्र्यो त्यो नभएको कुरालाई स्विकार भने गर्नैपर्छ । 
 
अमेरिकामा म हिजोआज दुई थरिका नेपालीहरु देख्छु । पहिलो वर्गका नेपालीहरु, जो केही दशकदेखि यतै बसिरहेका छन् । व्यबसायमा संलग्न छन्, छोराछोरी यतै हुर्किएका छन् । जसको नेपालमा आफन्तहरुको संख्या पातलो हुँदै गएको छ । तिनीहरुले नेपालमा रहेको सम्पत्ति बेचबिखन गरेर यता व्यबसाय विस्तार गर्ने योजना बनाइरहेका छन् । 
 
‘छोराछोरी अब नेपाल गएर बस्ने होइनन्, उताको सम्पत्ति राखेर पो कस्ले सम्हालिदिने ? बरु बेचेर यतै केही गर्ने योजनामा पो छु त म,’ यसै साता भेटिएका एक नेपालीले सुनाए । नेपाल सरकारको नीतिले भन्दा पनि मन्त्रीहरुको बेलाबखतका अभिव्यक्तिले नेपाली समुदायका सदस्यहरु अलिकति सशंकित भएका छन् । जस्तो कि–सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले बेलाबखतमा हौसिएर विदेशमा रहेका नेपालीहरुलाई गाली गरेपछि नेपालीहरु अलिकति शंका गर्दैछन् । 
 
अर्कोथरि नेपालीहरु पनि छन् अमेरिकामा । जो आफ्नो लगानीलाई विविधिकरण गरिरहेका छन् । अमेरिकामा मात्र नभएर अब नेपालमा पनि लगानी गर्नुपर्छ भन्ने सोच र योजना बनाएर आधा समय यता र आधा समय नेपालमा बिताउनेहरु पनि धेरै छन् । 
 
नेपालको विकासको लागि अब सरकार जुन रुपमा अघि बढ्नुपर्छ विश्वभरि छरिएर रहेका गैर आवासीय नेपालीहरु पनि लाग्नुपर्ने आवश्यकता छ । भाषा, पहुँच, नेपाल सरकारले एनआरएनलाई दिएको महत्वले पनि नेपालमा जति सजिलो र प्रतिफलयुक्त लगानी शायद संसारमा अन्यत्र नहोला । 
 
खस्किएको नेपालको शेयर बजार अहिले एनआरएनका लागि सबैभन्दा प्रतिफलयुक्त क्षेत्र हुनसक्छ । किनकी यतिखेर एक अमेरिकी डलर नेपाल पठाउनु भनेको एकसय १० रुपैयाँ पठाउनु हो । एकातिर शेयरको भाउ निकै तल झरेको छ भने डलरको भाउ सबैभन्दा माथि पुगेको अवस्था छ । यो अवस्थामा नेपालको शेयर बजारमा लगानी गर्ने हो भने अमेरिकाका नेपालीहरुले सबैभन्दा बढी प्रतिफल निकाल्न सक्छन् । 
 
हुनतः अमेरिकामा ज्यादै थोरैमात्र नेपालीहरु छन्, जो नेपालमा लगानी गर्नसक्ने आर्थिक हैसियत राख्छन् । बाँकी सबै कुरा जोतेर बस्ने, सामाजीक सञ्जालमा नेपाल सरकारलाई गाली गर्ने, यतै एकले अर्काको खुट्टा तानेर बस्नेहरुको वाहुल्यता छ । जुन रुपमा युरोप, अष्ट्रेलिया, जापान, मध्यपूर्बका मुलुकमा रहेका नेपालीहरुले नेपालमा लगानी गरिरहेका छन् त्यसको दाँजोमा अमेरिकामा रहेका नेपालीहरुले नेपालमा लगानी कमै छ । कारण, माथिनै उल्लेख भए अनुसारनै हो । अमेरिकामा रहेका धेरै नेपालीहरु स्ट्याण्डर्ड जीवन बिताउने हैसियतमा त छन् । तर नेपालमा लगानीनै गर्नसक्ने हैसियत बनाइसकेका ज्यादै कम छन् । लगानी गर्नसक्ने हैसियतका पनि अधिकांशले नयाँ सरकारलाई ‘पर्ख र हेर’ को अवस्थामा छन् ।
 
नेपालको विकासका लागि सरकारले मात्र अब गर्नसक्ने अवस्था छैन । जतिसक्दो बढी लगानी देशमा भित्राएर रोजगारी बढाउने र आर्थिक कृयाकलापलाई चलायमान बनाउनेतिर यो सरकार लाग्नैपर्छ । नभए नत जनताले, नत दाताले र नत लगानीकर्तालेनै विश्वास गर्छन । सरकारले ढिलो नगरि लगानी सम्मेलन गर्नैपर्छ । स्थिरता दिनसक्ने हैसियतको सरकार भएकोले पनि यसलाई दातादेखि लिएर लगानीकर्ताले समेत पत्याउनेछन् ।
 
विदेशमा रहेका नेपालीहरुको सरकारप्रति सधैँभरि गुनासो सुनिन्छ । दोहोरो नागरिकताको व्यबस्था भएन, लगानीको लागि वातावरण भएन, सुरक्षा भएन, नेपालमा नीतिमा स्थायित्व भएन इत्यादी गुनासो सधैँभरि हुन्छ । 
 
एनआरएनहरुले सधैँभरि सरकार प्रति गुनासोमात्र राखिरहने, तर आपूmले गर्नुपर्ने ठाउँमा सिन्को पनि नभाँच्ने प्रवृत्ति बढ्दै गएमा अविश्वास बढ्दै जाने निश्चित छ । सरकारका मन्त्रीहरु, सचिवहरु, सहसचिवहरुले मुख खोलेर भन्न सक्दैनन् । तर अनौपचारिक रुपमा भन्ने गरेको यो टिप्पणीकारले पनि धेरैपटक सुनेको छ–‘एनआरएनहरु दुई वर्षमा एक पटक दशैं तिहार मनाउन आउँछन् । हल्लाखल्ला गर्छन, जान्छन् । तर मुलुकको आर्थिक विकासका लागि खासै भिजिबल काम गर्दैनन् । अझै सिन्को पनि भाँच्दैनन् भन्दा पनि हुन्छ ।’
 
अब यस्तो हुनुहुँदैन । कामै नभएको पनि होइन । तर जुन रुपमा हल्लाखल्ला हुन्छ, जति एनआरएनको ग्लोबल सम्मेलनमा सहभागी हुन्छन् त्यसको एक प्रतिशतले पनि नेपालमा लगानी गर्दैनन् । सरकारसँगको सहकार्यमा एनआरएनले केही उल्लेख्य कामहरु गरेका छन् । लाप्राक बस्तीदेखि लिएर शंखमुल पार्क, किरियापुत्री भवन, देबघाट बृद्धाश्रम, बुद्धको प्रतिमा, नेपाल हाउस लगायतका धेरै सामाजीक काममा पनि एनआरएनले ठूलो लगानी गरेका छन् । 
 
व्यक्तिगत रुपमा व्यबसायमा लगानी पनि भएको छ । होटल, स्वास्थक्षेत्र, हाइड्रोपावर, बैंक, रियलस्टेटको क्षेत्रमा ठूलो लगानी गएको छ एनआरएनको । 
 
नेपाल सरकारले एनआरएनलाई असाध्यै महत्व दिएको देखिन्छ । विश्वास पनि गरेको छ । दुई साता अघि एनआरएन अमेरिकाजले आयोजना गरेको विज्ञ सम्मेलनमा सहभागी हुन सानफ्रान्सिस्को आएका एनआरएनका अध्यक्ष भवन भट्ट कार्यक्रम सकेर हतार हतारमै फर्किए । उनी फर्कनुको कारण थियो प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण टोलीमा भट्टको नाम समावेश हुनु । यो भवन भट्टलाई सरकारले व्यक्तिगत रुपमा दिएको सम्मान थिएन । संस्थागत रुपमा एनआरएनलाई दिएको महत्व र सम्मान हो । सरकारले उच्चस्तरीय विदेश भ्रमणमा एनआरएन नेतृत्वलाई छुटाउने गरेको छैन । 
 
सरकारले एनआरएनलाई इज्जत, सम्मान दिएपछि त्यसलाई कायम राख्न त्यही अनुसारको सल्लाह, सुझाव र लगानी पनि गर्नुपर्छ । नभए कुनैपनि दिन सरकारले वास्तै नगर्ने वातावरण तयार हुनसक्छ । 
 
एनआरएनका पूर्ब अध्यक्ष तथा वर्तमान संरक्षक जीवा लामिछानेले केही दिन अघि भनेकै भनाई यहाँ उल्लेख गर्नु बढी सान्दर्भिक हुनेछ । लामिछानेको भनाई थियो–‘अब हामीले मातृभूमिका लागि लगानी गर्नैपर्छ । नभए हामीलाई सबैले कुरामात्र गर्ने, हल्लाखल्ला गर्ने, तर देशका लागि एक पैसा लगानी नगर्ने वर्गका रुपमा लिनेछन् ।’ 
 
अब आर्थिक रुपमा सक्ने एनआरएनले आर्थिक लगानी, बौद्धिक एनआरएनहरुले बौद्धिक लगानी र केही दिन नसक्ने एनआरएनले सरकारलाई उँडाउने, खिसीटिउरी नगरि रचनात्मक रुपमा सहयोग गर्न जरुरी छ । नभए हाम्रो पुस्ताले त उसैपनि ‘नेपालबाट आएको’ भन्दा ‘कहाँ पर्छ नेपाल भन्ने ठाउँ ?’ भन्ने प्रश्नको जवाफ दिइरहेका छौँ । हाम्रा आगामी पुस्ताले पनि त्यही प्रश्नको सामना गरिरहनुपर्नेछ ।