मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

मन्त्री कराइरहे पनि तलमाथि नहुने

मन्त्री कराइरहे पनि तलमाथि नहुने


 
ड्यालस (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समितिका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार/संरक्षक जीवा लामिछानेले भोट हाल्ने र राजनीतिमा सहभागी हुने बाहेकका सबै अधिकार विदेशमा रहेका नेपालीहरुले प्राप्त गने चरणमा पुगेको बताएका छन् ।
 
बुधबार टेक्ससको ड्यालसमा नेपाली समुदायसँग अन्तरकृयामा लामिछानेले नयाँ संबिधानमै तीनवर्षभित्र कानुन बनाएर विदेशमा रहेको नेपालीहरुलाई नागरिकता दिने भन्ने उल्लेख भएकोले त्यसमा अलिकति पनि तलमाथि नहुने उल्लेख गरे । ‘अमुक मन्त्रीले ताली खानका लागि के के कुरा भने भन्दैमा हामीले आपत्ति जनाउनुपर्ने, चिन्ता लिनुपर्ने अवस्था छँदैछैन,’ लामिछानेले भने–‘हामीले भोट हाल्ने र राजनीति गर्ने बाहेकका सबै अधिकारहरु संबिधान बमोजिम बन्ने कानुनबाट पाउँछौँ ।’
 
नेपालको संबिधान २०७२ मा गैर आवासीय नेपालीलाई नागरिकता दिइने भन्ने प्रावधान छ । तर पछिल्ला केही समययता सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विदेशमा रहेका नेपालीहरु प्रति व्यक्त धारणाले कतै त्यो अधिकार संकुचित हुन्छ कि भन्ने चिन्ता छ । त्यसमा पूर्ब अध्यक्ष लामिछानेले संबिधान अनुसार कानुनको ड्राफ्ट तयार भैरहेकोले नागरिकताको निरन्तरता वा प्राप्त गर्ने विषयमा ढुक्क हुन आग्रह गरे ।
 
एनआरएन अभियानमा अत्यन्तै प्रभावशाली मानिएका लामिछानेले अर्को सन्दर्भमा अहिलेसम्म नेपाल सरकार  एनआरएनप्रति निकैनै उदार भएर मागहरु पुरा गर्दै आएकोले अब लगानी पनि त्यही अनुसार गर्नुपर्ने अवस्था रहेकोमा जोड दिए । नेपाल लगानी र त्यसबाट प्राप्त हुने प्रतिफलको दृष्टिले निकै राम्रो मुलुकमा रहेको उल्लेख गर्दै लामिछानले आफूले युरोप, एसियाका अन्य केही मुलुकहरुमा समेत लगानी गरेको तर सबैभन्दा बढी प्रतिफल र सन्तुष्टी नेपालमै गरेको लगानीबाट प्राप्त भएको बताए ।
 
‘नेपाल सरकारले हामीलाई हाम्रो माग अनुसार धेरैनै दिइसकेको छ । अब पनि हामीले केही नगर्ने हो भने यो समूह खाली मागमात्र राख्ने समूह हो भन्ने भावना बढ्नेछ,’ लामिछानेले भने । नेपालमा लगानी बढाउने र एनआरएन संस्थालाई विदेशमा रहेका नेपालीहरुको साझा संस्थाका रुपमा चिनाउने योजना थियो चुनावको क्रममा त्यो अवस्था टुट्दै गएकोले त्यसतर्फ सचेत हुनुपर्ने आवश्यकतामा लामिछानेले जोड दिए ।
 
उनले नेपालीहरु रहेको मुलुकहरु र मातृभूमिका बीचमा दोहोरो कर हटाउने सम्झौता गराउनका लागि अब एनआरएनहरुले केन्द्रित गर्नुपर्नेमा पनि जोड दिए । 
 
कार्यक्रममा एनआरएनका उपाध्यक्ष कुमार पन्तले विदेशमा रहेका नेपालीहरुसँग धेरै शीपहरु रहेकोले त्यसलाई मातृभूमिको विकासमा लगाउनका लागि अब सोच्नुपर्ने अवस्था रहेकोमा औंल्याए । ‘कुन कुन ठाउँमा को को साथीहरुसँग के के विज्ञता छ भन्ने बारेमा जानकारी लिनका लागि आगामी अक्टोबरमा नेपालमा विज्ञ सम्मेलन हुँदैछ, त्यही क्रममा अहिले अमेरिकामा भरखरै विज्ञ सम्मेलन सम्पन्न भएको हो,’ पन्तले भने । उनले विज्ञ सम्मेलनका निष्कर्शहरुलाई कार्यान्वयन गर्दै जाने पनि प्रतिवद्धता व्यक्त गरे ।
एनआरएनले अघि बढाएको लाप्राक बस्ती, शंखमुल पार्क, एनआरएनको आफ्नै कार्यालय भवनका बारेमा पनि पन्तले जानकारी दिएका थिए । 
 
कार्यक्रममा सल्लाहकार हेमराज शर्माले दोहोरो नागरिकताका बारेमा अहिलेसम्म भएका प्रगतिका बारेमा जानकारी दिएका थिए । शर्माले विदेशमा रहेको नेपालीहरुले आर्थिक भन्दा पनि सिकेको शीप बहुमुल्य भएकोले त्यसलाई मातृभूमिको हितमा लगाउनुपर्ने अवस्था रहेको बताए ।
 
एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेलको सभापतित्व तथा महासचिव पदम ठकुराठीको सञ्चालनमा भएको अन्तरकृयामा कार्यक्रममा आइसिसीका प्रवक्ता भुषण घिमिरे, नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी, एनआरएन अमेरिकाका उपाध्यक्ष सुनिल साह लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 
कार्यक्रममा एनअारएन अमेरिकाजका क्षेत्रीय संयोजक गाैरीराज जोशी, सल्लाहकार हरिबाेल भण्डारी, एनअारएन अमेरिकाकाका वर्तमान तथा पूर्व पदाधिकारीहरू लगायत स्थानीय नेपाली संघसंस्थाका नेतृत्वकर्ताहरूको उल्लेख्य सहभागिता थियो ।  
 
कार्यक्रमको दोस्रो शत्रमा आयोजित अन्तरकृयामा सहभागीहरुले अतिथि तथा आयोजकहरु समक्ष दोहोरो नागरिकता, विधानमा देखिएको समस्या, आइसिसी र एनसिसीको सम्बन्ध, नेपालमा रहेको लगानीका बारेमा जिज्ञासा राखेका थिए । 
 
कार्यक्रमको अन्तिमसम्म बसेर सहभागीहरूले अतिथीहरूको धारणा अत्यन्तै चासाे लिएर सुनेका थिए ।