मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकामा सन्ततीको भलो चाहनुहुन्छ भने ‘विल’ गर्नुस्

अमेरिकामा सन्ततीको भलो चाहनुहुन्छ भने ‘विल’ गर्नुस्


सानै देखी बुवा आमाले भन्ने गर्नुहुथ्यो,–‘तिमी पढ्यौ अथवा नयाँ कुरा केहि जान्यौ भने आफ्नो मात्र होइन समाजको हितका लागि पनि लगाउने प्रयास गर्नुपर्दछ ।’
 
बुवा, आमाको समाजसेवा प्रतिको लगाव देखेर मलाई पनि आफुले केहि नयाँ कुरा जान्यो भने समुदायको हितका लागि लगाउनुपर्दछ भन्ने भावना राखेर हिडिरहेकी हुन्थे । गतसाल मैले टेक्ससबाट अधिवक्ताको लाईसेन्स लिईसकेपछि समुदायका लागि के कसरी हित गर्न सकिन्छ र मैले जानेको कुराले मेरो समुदायलाई के सहयोग होला भन्ने कुरा सोचिरहेकी थिए ।
 
हाम्रो नेपाली समुदाय अमेरिकाको लागि नयाँ समुदाय हो । हामी यतिबेला पहिलो पुस्ताले नै संघर्ष गरिरहेको र दोश्रो पुस्ताले भर्खर मात्र पाईला चाल्दै गरेको अवस्थामा छौ । अमेरिकी समुदायका लागि सामान्य जस्तै लाग्ने कुराहरु हाम्रो जस्तो सानो र नयाँ समुदायका लागि उपयोगी हुने खालको लाग्ने जस्तो लागेर मैले पनि नेपाली समुदायका लागि केहि दैनिक जीवनका लागि अत्यन्तै महत्वपुर्ण कानुनी कुराहरु यहाँहरु समक्ष ल्याउने जमर्को गरेकी छु । 
 
आजको यस मेरो पहिलो लेख मार्फत मैले विलका बारेमा केहि जानकारी दिन खोजेकी छु । वास्तवमा सबैले आफुलाई केहि भई हाल्यो भने आफ्नो परिवार र सन्तानलाई बिना झन्झट आफ्नो सम्पती र हेरचाह आफुले चाहेको मान्छेलाई जान सकोस् भन्नका लागि विल अनिवार्य हो । 
 
के हो विल ?
विल अर्थात् ईच्छापत्र । ईच्छापत्र भन्नासाथ हामीले ईच्छा गरेको कुरा लेखिएको पत्र भन्ने अर्थ लाग्छ । कानुनी रुपमा हामी यहाँ जति पनि सम्पती कमाएका हुन्छौ त्यो तपाईको मात्र हुन्छ । तपाईले आफुले कमाएको सम्पती वा बैंकमा भएको पैसा र आफ्ना सानो उमेरका सन्ततीहरु पनि विल गरेर आफुलाई अपर्झट केहि भयो भने कस्ले हेरचाह गर्न सकोस् भन्ने कुरा उल्लेख गरिएको पत्र नै विल हो । 
 
विल समान्यता एकपटक तपाईले गर्नुभयो र सुरक्षित स्थानमा राख्नुभयो भने आफुलाई आकस्मीक रुपमा केहि भयो भने त्यहि विलमा उल्लेख गरेको ब्यक्तीले नै तपाईको सम्पती र सन्ततीको हेरचाह गर्न सक्नेछ । यदि तपाईको सम्पती छ र सन्तती ठुलो भइसकेको भए पनि विल नभएसम्म तपाईको सम्पती सहज रुपमा पाउन सक्दैनन् तपाईको सन्ततीले । सामान्य भाषामा भन्दा विल भनेको आफ्ना परिवार र सम्पतीको कस्लाई जाओस् भन्ने चाहना राख्नुहुन्छ त्यो सुरक्षित राख्ने पत्र नै विल हो । 
 
किन गर्ने विल ?
हामी अमेरिकामा छौँ । तर पनि हामी नेपालमा जस्तै सहज रुपमा आफुले कमाएको सम्पती मेरो र परिवारको हो भन्ने सोंचेका छौं भने त्यो गलत हुन जान्छ । यहाँ तपाईले कमाएको सम्पती तपाईको मात्र हुन्छ । 
 
यदि तपाईले आफ्नो सम्पती बिना दुख आफ्ना सन्तती वा परिवारका सदस्यलाई जाओस् भन्ने चाहना राख्नुहुन्छ भने विल अनिवार्य हो । विलमा तपाईले आफुसँग अहिले भएको सम्पतीका साथै आगामी दिनमा हुने सम्पती र साना सन्ततीको हेरचाह गर्न सक्ने आफन्तको नामसम्म राख्न सक्नुहुन्छ । यदि तपाईसँग विल नगरेको अवस्थामा सम्पती राज्यको हातमा जान्छ भने आफ्ना साना सन्तान पनि राज्यकै नियन्त्रणमा हेरचाहमा पुग्छन् जहाँबाट बाहिर ल्याउन धेरै पैसा र दुख गरेर मात्र सम्भव हुन सक्छ । 
 
सम्पतीको कुरा गर्दा थोरै सम्पती हुनेहरुका लागि कम महत्वपुर्ण छ की भन्ने पनि लाग्न सक्छ । तर विल सम्पती मात्र नभएर यदि कोहि गम्भिर बिरामी भयो तर उसको विल छैन भने पनि उसको स्वास्थ्यका बारेमा बिना विल परिवारका सदस्यले पनि निर्णय लिन पाउंदैनन् । विलमा मेरो स्वास्थ्य अवस्था बिग्रियर अचेत वा गम्भिर भए भने फलानो ब्यक्तीले गर्नेछ भनेर उल्लेख गर्न मिल्छ । यसरी हेर्दा धेरै सम्पती हुने वा कम सम्पती अथवा साना वा ठुला सन्तती सबैका लागि विल त्यती नै महत्वपुर्ण छ । विल नहुँदा वा आमा एउटै दुर्घटनामा गुमाउने तर आफ्ना नजिकका आफन्त हुंदा हुंदै पनि सन्तानहरुलाई हेरचाह गर्न नपाएको धेरै उदाहरण भेटिन्छन् । त्यसैले विलको महत्व धेरै छ भनेर बुझ्न सकिन्छ । 
 
कसरी गर्ने विल ?
विल गर्नका लागि तपाईले लाईसेन्स प्राप्त अधिवक्ताबाट गर्नसक्नुहुन्छ । आफ्नो ब्यक्तिगत बिवरण र सम्पती बिवरण सहित अधिवक्तासंग सम्पर्क गर्दा तपाईले विल गर्न सक्नुहुन्छ । तपाईको सम्पती जती भए पनि सामान्यतया विल गर्दा धेरै महंगो पर्दैन । सुरुमा विल गर्दा अधिवक्तासँग राम्रोसँग सल्लाह गरेर विल गर्नुभयो भने आफ्ना सन्तती र परिवारका लागि तपाई निश्चिन्त हुन सक्नुहुनेछ । 
 
मलाई थाहा छैन, मैले आफुले अधिवक्ताको काम गरिरहँदा धेरै ब्यक्तीको विल गरिरहेको पाउँदा हाम्रो नेपाली समुदायलाई पनि यो जानकारी हितकारी भन्ने उद्धेश्यका साथ तपाईहरु समक्ष राख्न प्रयास गरेकी हुं । तपाईहरुलाई मैले यस लेखबाट मात्र विलको जानकारी पुर्ण रुपमा दिन सकीन भने आगामी दिनमा पनि थप जानकारी दिदैं जाने प्रयासमा रहनेछु । तर छोटकरीमा मैले भन्ने उद्धेश्य भनेको विल गर्नुस् र सन्तानको र सम्पतीको बारेमा निश्चीन्त भएर बस्नुस् ।