मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेकपामा गुट उपगुटको छूट छैन : दाहाल

नेकपामा गुट उपगुटको छूट छैन : दाहाल


कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई निकास दिन तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टीएकता गरिएको बताएका छन् । उनले अब एकतापछि पार्टीभत्र गुट र उपगुटको खेल तथा आफ्नो स्वार्थ पूरा गर्ने छूट कसैलाई नभएको स्पष्ट पारेका छन् ।
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्नपूर्ण गाउँपालिकाको आयोजनामा शनिबार दाहालको जन्मगाउँ ढिकुरपोखरीमा भएको भेटघाट तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
 
अध्यक्ष दाहालले संगठन हिसाबले मात्रै ठूलो पार्टी बनाउन पार्टी एकता नगरिएको स्पष्ट पार्दै एकतासँग नेपाली जनताको समृद्धिको स्वार्थ जोडिएको जनाए । उनले विगतमा भएका पार्टी एकताभन्दा यसपटकको एकता निकै पृथक रहेको चर्चा गर्दै अब देशले निकास पाउने दाबी पनि गरे ।
 
पार्टी एकताअघि तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र आफूले नेपालको विगतको विकासको विश्लेषण गरेको जानकारी दिँदै दाहालले एकतालाई, एकता हुनुपूर्व भएका प्रदेश र संघको चुनावी परिणामले अनुमोदन गरेको पनि बताए । उनले भने, ‘दुर्इ पार्टीमा एकतापछि अब पार्टीभत्र गुट र उपगुटको खेल तथा आफ्नो स्वार्थ पूरा गर्ने छूट कसैलाई छैन ।’
 
अब ढिकुरपोखरीमै मर्छु 
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले आफूलाई ढिकुरपोखरीले नै जन्माएको र ढिकुरपोखरीमै मर्ने बताएका छन् । 
 
उनले ढिकुरपोखरीसँग आफ्नो गहिरो सम्बन्ध भएको औैल्याउँदै सो उद्घोष गरेका हुन् । दाहालले भने, ‘अब मैले चाँडै नै ढिकुरपोखरीमा बस्नका लागि घर निर्माण गर्दैछु, त्यसको प्रक्रियासमेत सुरु भइसकेको छ ।’
 
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा दाहालले पटकपटक आफ्नो जन्मगाउँ भएकाले आफू भाषण गर्न ढिकुरपोखरी नआएको तर ढिकुरपोखरीले आफूलाई भावुक बनाउने गरेको सुनाए । यहाँका खोलानाला, वनपाखा सबैसँग आफ्नो साइनो रहेको बताउँदै दाहालले आफू अब ढिकुरपोखरीमै मर्ने उद्घोष गरेका छन् । 
 
‘अब ढिकुरपोखरीवासीसँग मेरो धेरै भेटघाट हुन्छ, सोही क्रममा सविस्तारमा युद्धकालदेखि शान्ति प्रक्रियाका सबै कुरा सुनाउने धोको छ’, उनले भने ।