मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अभिनन्दन ग्रहण गर्दै मोदीले भने– नेपालको समृद्धिमा सहयोग गर्न तयार छु

अभिनन्दन ग्रहण गर्दै मोदीले भने– नेपालको समृद्धिमा सहयोग गर्न तयार छु


काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको आर्थिक विकास र समृद्धिका लागि नेपालकै आवश्यकता र प्राथमिकता अनुसार जस्तोसुकै सहयोग गर्न भारत तयार रहेको बताएका छन् । 
 
काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा नागरिक अभिनन्दन ग्रहण गर्दै मोदीले नेपालले आफ्नो प्राथमिकता र आवश्यकताका आधारमा तय गर्ने कार्यक्रमलाई सहयोग उपलब्ध गराउन भारत तयार रहेको बताएका हुन् । 
 
प्रधानमन्त्री मोदीले भने, “नेपालको खुशी भारत खुशी हो । नेपालको सफलता र खुशीका लागि हरतरहको आवश्यकतामा भारतको साथ रहन्छ ।”
 
उनले विकास र समृद्धिको यात्रामा नेपालसँग काँधमा काँध मिलाएर अगाडि बढ्न आफू तयार रहेको उल्लेख गर्दै रेलमार्ग, सडकमार्ग, एकीकृत जाँच चौकी, प्रसारण लाइन, पेट्रोलियम पाइपलाइन जस्ता विषयहरू अगाडि बढिसकेको प्रष्ट पारे । 
 
उनले भने – “नेपालको समृद्धि र विकासका लागि पर्वतारोहीलाई शेर्पाले सहयोग पु¥याएजस्तै भारत शेर्पा भएर काम गर्न तयार छ ।” 
 
काठमाडौँलाई रेलमार्गबाट भारतसँग जोड्न विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) को काम शुरु भएको जानकारी दिदै उनले सो कार्य छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरे । 
 
एकै वर्षमा स्थानीय तह, प्रदेश र संघीय निर्वाचन गरी लोकतान्त्रिक सरकार गठन गरेकामा सो कार्यको सराहना गर्दै उनले अब लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै सुखी नेपाली र समृद्ध नेपाल बनाउने माहोल बनेको धारणा व्यक्त गरे । 
 
‘राजा जनकको शस्त्र तोड्ने र स्नेह जोड्ने’ भावना विश्वका लागि नै प्रेरणाको स्रोत बन्न पुगेको प्रधानमन्त्री मोदीको भनाइ थियो । 
 
आफू बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणका लागि उपयुक्त समयमा पुनः नेपाल आउने वचनबद्धता प्रकट गर्दै उनले आफूले भ्रमण गरेका जनकपुरधाम, पशुपतिनाथ र मुक्तिनाथ केवल महत्वपूर्ण तीर्थस्थल मात्र नभई नेपाल र भारतबीचको सम्बन्धको पर्वतमाला हुन् भने । 
 
नेपालको प्राकृतिक र सांस्कृतिक सम्बन्धका बारेमा काव्यात्मक शैलीमा प्रस्तुत भएका प्रधानमन्त्री मोदीले नागार्जुन र शिवपुरी जंगल, बागमती नदी, हजारौं मन्दिर, मञ्जुश्री गुफा, बौद्ध विहार, कला र संस्कृति रहेको काठमाडौँलाई विश्वको अनौठो शहरको रूपमा चित्रण गरे । 
 
उनले भने – “पश्चिमतिर धौलागिरि, अन्नपूर्ण र अर्कोतर्फ सगरमाथा र कञ्चनजंगा रहेका छन् । यस्तो दृश्य विश्वमा कही पनि सम्भव छैन । त्यो केवल काठमाडौँमा मात्रै रहेको छ ।” 
 
सबै स्वस्थ हुन्, सबैको कल्याण होस्, कसैलाई पनि दुःख नपरोस् भन्ने शास्त्रको भनाइ र मान्यता जस्तै उनले आफ्नो विदेश नीति सबैलाई साथमा लिएर अगाडि बढ्नेमा आधारित रहेको उल्लेख गरे । उनले खेलको माध्यमबाट पनि जनस्तरमा सम्बन्ध थप प्रगाढ भएको उल्लेख गर्दै हाल भारतमा जारी आइपिएल क्रिकेट प्रतियोगितामा नेपालमा खेलाडी सन्दिप लामिछानेको सहभागिता त्यसैको उदाहरण हो भने । 
 
नागरिक अभिनन्दन समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकासमा भारत सधैं सहयोगी रहेको बताउँदै मोदीको बहुआयामिक नेतृत्वमा भारतले गरिरहेको विकासप्रति खुशी व्यक्त गरे । 
 
उनले मोदीको स्वच्छ भारत अभियानबाट नेपालका शहरले विकासको काममा प्रेरणा लिन सक्ने उल्लेख गर्दै दुई देशबीचका उच्चस्तरीय भ्रमणबाट आपसी सम्बन्ध अरू गाढा र फराकिलो हुँदै जाने विश्वास व्यक्त गरे । 
 
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँलाई जीवन्त र समृद्ध शहरका रूपमा विकास गर्न योजनासहित आफूहरू लागिरहेको अवगत गराए । 
 
कलात्मक साँचो हस्तान्तरण
प्रमुख शाक्यले भारतीय प्रधानमन्त्री मोदीलाई काठमाडौँ महानगरपालिकाको कलात्मक साँचो हस्तान्तरण गरे । भारतका प्रधानमन्त्री मोदीका लागि काठमाडौँको ढोका सधैं खुला छ भन्ने सन्देश सो साँचोले बोकेको छ । प्रमुख शाक्यले उपहार स्वरूप प्रधानमन्त्री मोदीलाई बुद्धको ५० किलोग्रामको कलात्मक मूर्ति र मयूर झ्याल प्रदान गरे । 
 
समारोहमा संघीय सरकारका मन्त्रीहरू, प्रदेश नं ३ का मुख्यमन्त्री, यहाँस्थित कूटनीनिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो ।
 
मोदी स्वदेश फिर्ता
 
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट नयाँदिल्ली फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हार्दिक बिदाइ अभिवादन गरेका थिए ।  
 
प्रधानमन्त्री मोदी एअर इन्डियाको विमानबाट जनकपुर हुँदै शुक्रबार काठमाडौँ आएका थिए । नेपाल भ्रमणका क्रममा उनले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका थिए ।