मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ओलीको ‘लम्पसारवाद’ चरित्र फेरि फर्कियो : रवीन्द्र मिश्र

ओलीको ‘लम्पसारवाद’ चरित्र फेरि फर्कियो : रवीन्द्र मिश्र


विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफ्नो पार्टीले शान्तिपूर्ण रूपमा कार्यालयभित्रै गरेको विरोध प्रदर्शनसमेत बिथोलेर प्रधानमन्त्री केपी ओलीले भारतकाप्रति पुरानै लम्पसारवाद चरित्र देखाएको बताएका छन्।
 
‘उनको विगत सबैका अघिल्तिर प्रष्ट हुँदाहुँदै पनि नाकाबन्दीको बेला जनमत बटुल्न र चुनावमा जित्नका निम्ति राष्ट्रवादको डंका पिटेका थिए,’ मिश्रले भने, ‘अब चाहिँ सत्ता टिकाउनका निम्ति फेरि पुरानै लम्पसारवाद चरित्र देखाउन थालेका हुन्।’
 
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आएको समय पारेर आफ्नो पार्टीले शुक्रबार भद्र विरोध जनाउँदै पार्टी कार्यालयभित्रै ब्यानर राखेको मिश्रले बताए। बखुण्डोलस्थित पार्टी भवनमा झुण्ड्याइएको ब्यानरमा केबल ‘मोदीजी स्वागत छ । तर, नाकाबन्दी बिर्सेका छैनौं ।’ लेखिएको थियो ।
 
मिश्रका अनुसार पार्टीको अभियान विभागले त्यस्तो ब्यानर तयार पारेर झुण्ड्याउने काम गरेको थियो । उक्त विभागको कामै यस्ता गतिविधिको नेतृत्व गर्दै भद्र तवरबाट आफ्ना कुरा राख्नु हो। विभागले सार्वजनिक महत्त्वका विषयमा यसरी नै निरन्तर अभियान चलाउँदै आएको थियो ।
 
‘तर, शुक्रबार भने अचानक राज्यले हाम्रो यो कार्यलाई गलत देख्दै ब्यानर थुत्ने काम गरेको छ,’ मिश्र भन्छन्, ‘यो असंवैधानिक कदम हो ।’
 
मिश्रका अनुसार दिउँसो साढे दुई बजे डिएसपीको नेतृत्वमा आएको प्रहरी टोलीले ‘सिडिओ र माथिको आदेश’ भन्दै ब्यानर झिकेर लैजानुपर्ने बताए । त्यतिबेला पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेकै थियो ।
 
‘हामीले कतै केही नबिथोलिने गरी आफ्नै कार्यालयमा आफ्नो अभिब्यक्ति व्यक्त गरेको उल्लेख गर्‍यौं,’ मिश्रले भने, ‘प्रहरीहरू मानेनन् र ब्यानर झिकेर लगे ।’
 
प्रहरीको यस कदमपछि केन्द्रीय समिति बैठकमा सरिक नेताहरूसहितको टोली विरोध जनाउनका लागि ललितपुर जिल्ला प्रशासन कार्यालय पुगेको थियो। मिश्रका अनुसार टोलीलाई कार्यालयभित्र पस्नै रोकियो। एक घन्टा कुराएपछि चाहिँ सहायक प्रमुख जिल्ला अधिकारी भेट्न तयार भए ।
 
‘यो हाम्रो संवैधानिक अधिकारविरुद्धको काम भयो भन्दै ब्यानर फिर्ता माग्यौं,’ मिश्र भन्छन्, ‘सहायक प्रजिअले यस कुरालाई प्रमुख जिल्ला अधिकारीसमक्ष राख्ने मात्र जवाफ दिए ।’
 
टोली त्यसपछि पार्टी कार्यालय फर्किएको थियो । फर्कँदा कार्यालयमा प्रहरी तैनाथ थिए । जिल्ला प्रशासन कार्यालयमा विरोध जनाएर आएको टोलीले फेरि पनि ब्यानर राख्न खोज्दा जतिपटक प्रयास गरियो उति नै पटक प्रहरीले निकालिदिएका थिए ।
 
‘पछिल्लोपटक चाहिँ कताबाट के आदेश पाए थाहा छैन,’ मिश्र भन्छन्, ‘हामीले भर्खर त्यहाँ झुण्ड्याएको ब्यानरचाहिँ निकालेका छैनन् र बाहिरचाहिँ कार्यालयलाई प्रहरीले घेराबन्दी गरिरहेको स्थिति छ ।’ यसैबीच उक्त घटनाबारे थाहा पाएपछि पार्टीका शुभेच्छुकहरू कार्यालयमा जम्मा भएर नाराबाजी पनि गरेका छन्।
 
‘केपी ओली कस्ता मानिसहरूसँग भेट्थे र भारतसँग कुन स्तरले सम्बन्ध गाँसेर बसेका थिए भन्ने कुरा थुप्रै पुस्तक, पत्रिका र दस्ताबेजहरूमा जगजाहेर भएकै कुरा हो,’ मिश्रले भने, ‘तर, चुनावको मुखमा नेपाली जनतालाई झुक्याउन सफल भएका उनको राष्ट्रवादको खोक्रोपना अहिले उजागर भएको छ।’ तस्बिर : मानवी पौडेल  (सेतोपाटीबाट)