मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मोदीलाई चार घेराको कडा सुरक्षा, १० हजार बढी सुरक्षाकर्मी परिचालन

मोदीलाई चार घेराको कडा सुरक्षा, १० हजार बढी सुरक्षाकर्मी परिचालन


काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणको सुरक्षाका लागि काठमाडौंमा मात्रै १० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपालका चारवटै सुरक्षा निकायका उच्च अधिकारीसहित १० हजार बराबर सुरक्षाकर्मी परिचालन गरिन लागेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री मोदीको सुरक्षा चार घेरामा गरिने भएको छ ।
 
जसमा पहिलो घेरामा भारतीय विशेष कमान्डोको टोली रहनेछ भने दोस्रोमा नेपाली सेना र नेपाल प्रहरीको युनिट रहनेछ । तेस्रो घेरा नेपाल प्रहरी र सशस्त्र प्रहरीको रहनेछ भने चौथोमा  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका रहनेछन् ।
 
काठमाडौंमा प्रशस्तै सादा पोशाकमा प्रहरी परिचालन गरिएको छ । भारतीय प्रधानमन्त्रीको सुरक्षाका लागि प्रहरीले उनी रहने स्थानमा जामरको व्यवस्था पनि गरेको जनाएको छ । 
 
उच्च प्रहरी स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीमार्फत एसपीहरुको कमाण्डमा ६ हजार नेपाल प्रहरी परिचालन हुनेछन् भने सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको टोली पनि परिचालन हुनेछ । 
 
मोदीको सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका तालिमप्राप्त कुकुरको परिचालन पनि गरिनेछ । नेपाल प्रहरीका एकजना उच्च अधिकारीले भने, “प्रहरीले काठमाडौंमा मोदीको सुरक्षाका लागी सेनाको समन्वयमा काम गर्नेछ । यसका लागि प्रहरीले मोवाइल टोली र र सादा पोसाकमा काम गर्नेछ ।”
 
मोदीको नेपालमा रहँदासम्म ट्राफिक प्रहरीमा कसैलाई पनि बिदा दिइने छैन । ट्राफिकको जनशक्ति मागको अनुपातमा थोरै रहेकाले बिदामा नबस्न हेडक्वाटरबाट मौखिक निर्देशन दिइएको प्रहरी स्रोतले बतायो ।
 
प्रहरी अधिकारीका अनुसार काठमाडौं भित्रिने सबै नाकाहरुमा चेकजाँचमा कडाई पारिएको छ । यसका लागि मोटरसाइकलमा सवारदेखि सबै प्रकारका सबै सवारी साधनहरुको इन्ट्री र चेकजाँचमा कडाई गरिएको छ । नागढुङ्गा नाकामा जनशक्ति थप गरेर चेकजाँच कडा पारिएको छ । 
 
नाकाबन्दीका कारण सुरक्षा चुनौती
 
एक प्रहरी अधिकारीका अनुसार एउटै व्यक्तिको सुरक्षाका झण्डै १० हजार बराबरको जनशक्ति प्रयोग प्रायः कमै अवस्थामा मात्र हुन्छ ।
 
नेपालमा भूकम्पले जनजीवन अस्तव्यस्त भएको अवस्थामा नेपालले जारी गरेको संविधानप्रति असहमति जनाउँदै भारतले नाकाबन्दी लगाएपछि उनीप्रति नेपालीको दृष्टिकोण सकारात्मक नरहेको निष्कर्ष निकाल्दै बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी स्रोतले जानकारी दियो ।
 
ती सुरक्षा अधिकारीअनुसार पहिलोपटक मोदी काठमाडौं आउँदा उनको समर्थनमा नागरिक स्वतःफूर्त रुपमा नयाँ बानेश्वरका सडकमा निस्किएपनि अहिले भने त्यो सम्भावना देखिँदैन ।  यस्तै मोदीका कार्यक्रमहरु पनि बढी भएकाले सुरक्षाकर्मीको संख्या बढेको प्रहरी अधिकारीको भनाई छ । 
 
आफ्नै बुलेटप्रुफ गाडी प्रयोग 
 
दुईदिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा रहँदा नेपाली गाडीको प्रयोग गर्नेछैनन् । यसका लागि मंगलबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विमानबाट रेन्जरोभर र बिएमडब्लु ‘बुलेटप्रुफ’ गाडी ल्याइएको छ । 
 
दुईवटा गाडीमध्ये एउटा जनकपुर पठाइने र एउटा काठमाडौंमै रहने सुरक्षा स्रोतले बतायो । स्रोतका अनुसार ४१ जना भारतीय सुरक्षाकर्मीको विशेष टोली पनि मंगलाबार नेपाल आइपुगेको छ । ‘बुलेट प्रुफ’ गाडीसँग सञ्चार सामग्री पनि नयाँ दिल्लीबाट ल्याइएको छ ।