मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मोदीको राजकीय भ्रमणमा विगतको सम्झौता कार्यान्वयनमा जोड दिइने

मोदीको राजकीय भ्रमणमा विगतको सम्झौता कार्यान्वयनमा जोड दिइने


काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको राजकीय भ्रमणको कार्यक्रम सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । 
 
भारतीय प्रधानमन्त्री मोदी यही वैशाख २८ र २९ गते नेपालको राजकीय भ्रमण गर्दैछन् । मोदीको आसन्न नेपाल भ्रमणमा नेपालले विगतका सहमति–सम्झौता कार्यान्वयनमा जोड दिने तयारी गरेको छ। 
 
प्रधानमन्त्री केपी ओलीको हालैको भारत भ्रमणमा मोदीसँग भएका वार्ताका बुँदामा केन्द्रित रहेर वार्ता गर्ने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।
 
स्रोतका अनुसार ‘दुई देशबीच सम्बन्ध विस्तार, डुबान समस्या, विराटनगरको चेकपोस्ट, पेन्सन वितरण कार्यालय र विगतका सहमति–समझदारी कार्यान्वयन गर्ने सम्बन्धमा भारतीय पक्षसँग कुराकानी हुनेछ ।’
 
प्रधानमन्त्री कार्यालयले मोदी भ्रमणमा नेपालले उठाउनै पर्ने एजेन्डाहरूबारे तयारी गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशनसमेत दिइसकेको छ। विगतका सहमति सम्झौताका आधारमा एजेन्डा तय गर्नसमेत परराष्ट्रलाई भनिएको छ ।
 
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमणमा नेपालका एजेन्डाबारे विस्तृत विवरण नदिए पनि अघिल्ला सम्झौताहरूको कार्यान्वयन नेपालको प्राथमिकतामा रहेको संकेत भने गरेका छन् । 
 
२८ वैशाखमा बिहारको पटनाबाट मोदी सीधै जनकपुर उत्रने कार्यक्रम छ। परराष्ट्रमन्त्री ज्ञवालीले सोमबार जनकपुर पुगेर मोदी भ्रमणको कार्यतालिका र दुई देशका प्रतिनिधिमण्डलबीच हुने छलफलका केही एजेन्डा सार्वजनिक गरेका थिए ।
 
‘दुई देशका प्रतिनिधिमण्डलबीच छलफलमा नेपालले विगतका सहमतिको प्रभावकारी कार्यान्वयन र प्रधानमन्त्री ओलीको भारत भ्रमणमा भएका घोषणालाई समझदारी र सम्झौतामा रूपान्तरित गरिने गरी छलफल हुनेछन्’, परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘जलमार्ग, रेलमार्गदेखि कृषिमा साझेदारी सम्मका सबै विषयमा छलफल हुन्छ ।’ 
 
दुई देशबीच विगतका समझदारी मात्रै होइन, आपसी सम्बन्ध सुधारले पनि छलफलमा उच्च प्राथमिकता पाउने छ। संविधान निर्माणपछि भारतले नेपालमाथि लगाएको नाकाबन्दीले पनि दुई देशको सम्बन्धमा ठूलै उतारचढाव आएको थियो।
 
चार वर्षअघि भ्रमणमा आउँदाको जस्तो ‘उत्साह’ मोदीको यसपटकको भ्रमणमा नेपालीले नदेखाउने संकेत पाएको भारतले भने यो भ्रमणमा सम्बन्ध सुधारलाई नै प्राथमिकतामा पार्ने सम्भावना छ । जनकपुरस्थित रामजानकी मन्दिरमा नै प्रधानमन्त्री ओली र मोदीको पहिलो भेट हुने भए पनि एक्लाएक्लै भेट भने सोही दिन काठमाडौं आएपछि मात्रै हुनेछ । 
 
प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग गर्ने भेटमा गत २३ चैतमा दिल्लीमा भएको एक्लाएक्लै वार्ताका एजेन्डामा कुराकानी हुने परराष्ट्र स्रोतको भनाइ छ ।
 
मोदीलाई जनकपुरमा रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाहले स्वागत गर्ने भएकछन् । 
 
जानकी मन्दिरमा पुजाआजा गरी मोदीले प्रधानमन्त्री केपी ओलीसँग मन्दिर परिसरमै भेट गर्नेछन् । मोदी भ्रमणको तयारीबारे जानकारी लिन जनकपुर आएका परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्रीको भ्रमणबाट जनकपुर र मिथिला सभ्यताको पहिचान विश्वव्यापी बनाउन मद्दत पुग्ने बताए । 
 
मोदीलाई जनकपुर उपमहानगरपालिकाले बाह्रबिघामा अभिनन्दन गर्ने पनि मन्त्री ज्ञवालीले बताए । बाह्रबिघामा उपमहानगरको अभिनन्दनपछि मोदीले त्यहाँ सम्बोधन गर्नेछन् । त्यसलगत्तै मोदी हेलिकोप्टरबाट काठमाडौं जाने कार्यक्रम छ । 
 
भ्रमणलाई ऐतिहासिक र सफल बनाउन तथा दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन केही ठोस समझदारीमा हस्ताक्षर गराउने गृहकार्य भइरहेको छ ।