मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

अज्ञात समूहद्वारा तीन हजार केरा बगान फँडानी

अज्ञात समूहद्वारा तीन हजार केरा बगान फँडानी


चितवन । कालिका नगरपालिका वडा नं ६ मा अज्ञात समूहले सोमबारराति केरा बगान फँडानी गरेको छ । कालिका नगरपालिकाको वडा नं ६ गुरौचौरमा स्थानीय १२ किसानले लगाएका तयारी अवस्थामा रहेको तीन हजार ९४ केराका बोट रातको समयमा फाँडिएको थियो ।  
 
केरा व्यवसायी समितिका जिल्लाअध्यक्ष विष्णुहरि पन्तले रातको १० बजेपछि रातभर केरा फँडानी गरिएको हुनसक्ने बताए । उनका अनुसार फाँडिएका केराको मूल्य १५ लाखभन्दा बढी छ । फँडानी गरिएका केरा अधिकांश पसाएको अवस्थाका थिए । 
 
कोपिला दाहालको एक हजार २०० बोट, शोभा भट्टको ६०० बोट, झलक सुवेदीको ३०० बोट, शंकर अम्गाईको २५० बोट, गोपी लामिछानेको २०० बोट, नरराज धितालको १५० बोट, लीला पंगेनीको १५० बोट, देवीप्रसाद गोतामेको ५० बोट, धु्व आचार्यको ३५ बोट, गोविन्द दाहालको ५० बोट, पूर्णबहादुर खड्काको ९७ बोट र भूमिनन्द दवाडीको १२ बोट केरा नष्ट भएको संघका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदी ‘लक्ष्मण’ ले जानकारी दिए । 
 
स्थानीय पीडित किसान गोपी लामिछानेले दुई कट्ठा १० धुरमा रहेका सबै ३०० बोट केरा फँडानी भएको छ भन्दै सबैभन्दा बढी स्थानीय कोपिला दाहालको झण्डै १५ कट्ठा क्षेत्रफलमा लगाइएको केरा फाँडिएको बताए ।
 
उनले भने, “यस क्षेत्रका १२ कृषकको केरा फाँडिएको देखिएको छ । अरुको के छ हेर्न बाँकी छ ।” वर्षभरको मेहनत खेर गएको लामिछानेले  चिन्ता व्यक्त गरे । सो क्षेत्रमा बस्ती केही पर केरा बगान रहेको छ ।  
 
केही दिनअघिमात्रै सो क्षेत्रबाट लागुपदार्थ सेवन गरिरहेका युवालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुको समूहबाट नै केरा फँडानी गरेको स्थानीयवासीले आशंका गरेका छन् । कालिका नगरपालिकाको पदमपुर क्षेत्र केराको पकेट क्षेत्रका रुपमा परिचित छ । पदमपुरका प्रायः घरमा केरा खेती गरिँदै आएका छन् । 
 
बजार लैजाने अवस्थामा रहेको केरा एकाएक फँडानी भएपछि किसान चिन्तित बनेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले घटना रिसइबीकै कारण भएको देखिएकाले अनुसन्धान तीव्र पारिएको बताए । उनले आफूले केरा फाँडिएको क्षेत्र हेरेको भन्दै जसरी पनि दोषी पत्ता लगाएरै छाड्ने बताए ।
 
जिल्लामा दुई हजार ६५० बिगाहमा व्यावसायिक केरा खेती हुँदै आएको छ । छ सय ३० जना किसान यो व्यवसायमा आबद्ध छन् । 
 
दलहरुको ध्यानाकर्षण 
 
केराखेती नष्टप्रति नेकपा एमाले र नेपाली कांग्रेस चितवनले ध्यानाकर्षण भएको जनाएका छन् । एमाले चितवनका कार्यवाहक अध्यक्ष तेजेन्द्रबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा किसानले लगाएको केरा खेतीमा पु¥याएको क्षतिप्रति दुःख प्रकट गर्दै दोषी उपर कार्बाही गर्न माग गरिएको छ । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा यथासक्य छिटो दोषी पत्ता लगाई कानुनी कारबाही गर्न माग गरिएको छ ।
 
निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले केराखेती फँडानीको निन्दा गर्दै दोषीलाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गरेका छन् । यसैगरी फलफूल तथा तरकारी व्यवसायी संघ नारायणगढका अध्यक्ष थिरप्रसाद धिताल‘कृष्ण’ ले पनि विज्ञप्ति जारी गरी केरा फँडानी गरिएको घटनाको विरोध गरेका छन् ।