मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चेपाङ दिदीबहिनीलाई चेपाङ केन्द्रको संरक्षण

चेपाङ दिदीबहिनीलाई चेपाङ केन्द्रको संरक्षण


चितवन । चितवनको साबिक कविलास–९ अर्थात् हाल भरतपुर महानगरको वडा नं २९ स्थित ढोडेनीका चेपाङ दिदीबहिनी हुन्– १६ वर्षीया बिर्सना र १४ वर्षीया सुनमाया । यी दिदीबहिनी पढाइमा अब्बल छन् । ढोडेनी गाउँमा आठ कक्षा उत्तीर्ण गर्ने यिनै दिदीबहिनीमात्र हुन् । 
 
ललितकुमार र बिमती चेपाङका ठाइँली र कान्छी छोरी हुन्– बिर्सना र सुनमाया । उनीहरु ढोडेनीकै आधारभूत विद्यालयमा पाँच कक्षामा प्रथम र द्वितीय भएर तीन घण्टाको दूरीमा पर्ने चौकीडाँडा आधारभूत विद्यालयमा भर्ना भएका थिए । सो विद्यालयमा आठ कक्षाको वार्षिक परीक्षामा पनि यिनै दिदीबहिनी प्रथम र द्वितीय भए । सुनमायाले ७१ प्रतिशत र बिर्सनाले ६९ प्रतिशत ल्याएका छन् । 
 
आठ कक्षामा २६ जना विद्यार्थीमध्ये उनीहरु दुईमात्रै चेपाङ समुदायका थिए । आठ कक्षामा प्रथम र द्वितीय भए पनि माध्यमिक तहको अध्ययन गर्न जुगेडी माविसम्म पुग्न पाँच घण्टाको उकालो–ओरालो र खोला तरेर विद्यालय जानुपर्ने भयो । विकल्पमा भाडामा कोठा लिएर बस्नुपर्ने भयो । तर, विपन्न चेपाङका यी दिदीबहिनीलाई दुवै कुरा सम्भव रहेन । 
 
माध्यमिक तहको अध्ययन गर्न असम्भव भएपछि उनीहरुले चौकीडाँडाकै विद्यालयमा कक्षा दोह¥याउने निर्णय गरे । जुन निर्णयले प्रधानाध्यापक सिलम पौडेल स्तब्ध भए । प्रअले रत्ननगरको चेपाङ संरक्षण केन्द्रमा आश्रय दिन अध्यक्ष केपी किरण शर्मासँग आग्रह गरे । शर्माले अभिभावकत्व प्रदान गर्ने भएपछि बुबा ललितकुमारले दुई छोरीलाई केन्द्रमा छाडेर फर्किए । 
 
गामबेँसी चेपाङ संरक्षण केन्द्र आफैँ अभावमा गुज्रिरहेको र दाताहरुको सहयोगमा सञ्चालित संस्था हो । उनीहरुको प्रवेशले केन्द्र त उज्यालो बनेको छ, सँगसँगै उनीहरुको व्यवस्थापन र थप व्ययभार पनि थपिएको छ । 
 
अध्यक्ष केपी किरण शर्मा भन्छन्, “चौकीडाँडा आधारभूत विद्यालय र भरतपुर २९ को वडा कार्यालयले नाजुक स्थिति भएका दुई बालिकालाई आश्रय दिनुप¥यो भनेर सिफारिस गरेपछि गाह्रो–साह्रो जे भए पनि केन्द्रका अन्य बालबालिकासरह आश्रय दिएको छु ।”
 
बिर्सना र सुनमाया बैरिया माविमा भर्ना भएका छन् । माध्यमिक तह पढ्न पाएकोमा दिदीबहिनी निकै खुसी छन् । उनीहरुको माविमा पढ्ने रहर पूरा भएको छ । 
 
उनीहरु भन्छन्, “हामीलाई केन्द्रमा संरक्षणको जिम्मा लिएर अध्यक्षले ठूलो गुन लगाउनु भएको छ । हामीले भविष्यमा राम्रो नतिजा ल्याएर केन्द्रको इज्जत राख्ने छौँ ।”
 
भरतपुर महानगरको २९ नं वडामा आठ कक्षा उत्तीर्ण भएपछि माध्यमिक तह नहुँदा छात्राहरुमा बीचैमा कक्षा छोड्ने, एउटै कक्षा दोह¥याउने वा कलिलै उमेरमा बिहे गर्ने समस्या छ । किशोरी अवस्थामै आमा बन्ने समस्या समाधान गर्न महानगरले माध्यमिक तह सञ्चालन गर्नुपर्ने शर्मा बताउँछन् ।
 
विद्यालय अत्यन्त टाढा हुँदा ललितकुमारका तीन छोरीको किशोरी उमेरमै बिहे भइसकेको छ । उनका एक छोरा पनि जेठी छोरीले शक्तिखोरस्थित घरमा राखेर पढाएकी छन् । उनका भाइ शक्तिखोर माविमा ६ कक्षामा पढ्दैछन् । 
 
केन्द्रका अध्यक्ष शर्मा भन्छन्, “सामान्य खेतपाती गरेर जीवन गुजारा गर्दै आएका ललितबहादुरलाई सन्तानलाई पढाउनुपर्छ भन्ने चेतनाले केन्द्रमा राख्ने निर्णय गरे । अरु चेपाङका हकमा विद्यालय टाढा हुँदा कलिलैमा बिहे गरिदिने अवस्था छ ।” 
 
अवसर पाए चेपाङ बालबालिकाले केही गर्न सक्छन् भन्ने उदाहरण यी दिदीबहिनीमात्रै होइनन्, केन्द्रमा आश्रित रहेर पढ्ने पञ्चतेज आधारभूत विद्यालय र बैरिया माविमा चेपाङ बालबालिका नै १ देखि ८ कक्षासम्म प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । पञ्चतेजमा ७५ जना र बैरिया माविमा ६ देखि ८ सम्म ३१ जना चेपाङ बालबालिका अध्ययन गर्छन् । यी दुई विद्यालयमा चेपाङ बालबालिकाले नै उत्कृष्ट नतिजा ल्याएको पञ्चतेजका प्रधानाध्यापक रामबहादुर मगर बताउँछन् । 
 
अध्यक्ष शर्मा भन्छन्, “केन्द्रमा खाने मुख थपिएको छ । खाद्यान्नको सधैं अभाव भइरहन्छ । विद्यार्थीको व्यवस्थापन गर्न त कुनै समस्या छैन । अहिले ३१ जना विद्यार्थीका लागि ड्रेस दिन सकेको छैन । यसका लागि पनि दाताकै पर्खाइमा छौँ ।”
 
केन्द्रमा हाल १२५ बालबालिकाले आवासीय सुविधासहित अध्ययन गरिरहेका छन् ।