मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

स्वदेशमै रोजगारको संभावना औंल्याउँदै सगरमाथा आरोहणको तयारी

स्वदेशमै रोजगारको संभावना औंल्याउँदै सगरमाथा आरोहणको तयारी


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालका महिलालाई स्वदेशमा नै रोजगारको सम्भावना रहेको सन्देश फैलाउने उद्देश्यका साथ सर्वोच्च शिखर सगरमाथा चढ्न लागेकी कान्छीमाया तामाङलाई नेपाली झण्डा हस्तान्तरण गरेका छन् ।  
 
ललितपुरस्थित मन्त्री निवासमा आयोजित कार्यक्रममा मन्त्री विष्टले सिन्धुपाञ्चोक भोताङ–३ का तामाङलाई झण्डा हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा मन्त्री विष्टले तामाङले जुन अभियानका साथ सगरमाथा चढ्न लागेकी छन् त्यसले श्रमप्रतिको सम्मान बढाउने बताए । 
 
तामाङको यस अभियानले वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमा नै रोजगार गर्नुपर्दछ भन्ने सकारात्मक सन्देश दिनेसमेत उनले बताए । तामाङ इजिप्टमा छ वर्ष वैदेशिक रोजगारमा बसेर गत वर्ष स्वदेश फर्किएकी हुन् । 
 
“नेपालमा काम गर्न अप्ठ्यारो मानेर धेरै युवा विदेश जाने गरेका छन्”, उनले भने, “तर तामाङ सगरमाथाको शिरमा पुगेर दिने सन्देशले नेपाली युवालाई स्वदेशमा नै रोजगार दिलाउने प्रेरणा प्रदान गर्नेछ ।” 
 
सोही अवसरमा मन्त्री विष्टले मन्त्रालयले चलाएको ‘श्रमको सम्मान हाम्रो अभियान’भन्ने अभियानको नारासमेत हस्तान्तरण गरे । 
 
कार्यक्रममा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले तामाङको अभियान वैदेशिक रोजगारमा नभई स्वदेशमा नै रोजगार गर्नु पर्दछ भन्ने सन्देश दिने बताए । 
 
कार्यक्रममा आरोही तामाङले वैदेशिक रोजगारमा महिला जानुभन्दा स्वदेशमा नै राम्रो रोजगार पाउनसक्ने सम्भावना रहेको जनचेतना जगाउन सगरमाथा चढ्न थालेको बताइन् । 
 
“वैदेशिक रोजगारमा महिलाले धेरै नै दुःख पाएको मैले देखेँ”, उनले भनिन्, “त्यो दुःखभन्दा हाम्रो देशमा पर्यटन, कृषिका क्षेत्रमा महिलालाई रोजगार गराउने प्रशस्त सम्भावना रहेको छ । त्यसैले नेपालमा नै महिलालाई रोजगारीको अवसर छ भन्ने सन्देश दिन सगरमाथा चढ्न थालेको हुँ ।” तामाङ आइतबार सगरमाथा चढ्दै छिन् । 
 
शान्ति, समृद्धि र महिला सशक्तीकरणको नारासहित लुक्मी स्याङदानले पनि सगरमाथाको आरोहण गर्दैछिन् । उनले सगरमाथाको शिखरमा हिमालय खबरको व्यानरसमेत फहर्याउने छिन् ।