मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नारायणगढ–मुग्लिन सडक निर्माणसँगै दुर्घटना पनि बढ्यो

नारायणगढ–मुग्लिन सडक निर्माणसँगै दुर्घटना पनि बढ्यो


नारायणगढ–मुग्लिन सडकखण्ड सहज बन्दै जाँदा दुर्घटना पनि बढेर गएका छन् । विगतका केही वर्ष यात्रुले हैरानी व्यहोर्दै आएको सो सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौडा र त्यसउता मुग्लिनसम्म नौ मिटर चौडा  सडक अहिले बनेको छ । 
 
खाल्डाखुल्डी हुँदा सवारीको गति कम हुने भए पनि अहिले तीव्र गतिमा सवारी गुडेपछि दुर्घटना बढ्दै गएका हुन् । नारायणगढ–मुग्लिन सडकखण्डमा यस आर्थिक वर्षको साउन महिनामा एक सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो । भदौ महिनामा दुर्घटना भएको थिएन भने असोजमा एक दुर्घटनामा एकको मृत्यु भएको थियो ।
 
कात्तिक महिनामा ६ दुर्घटना हुँदा एकको मृत्यु र एक जना घाइते भएका थिए । मंसिरमा दुई दुर्घटनामा परी एकको मृत्यु र एक जना घाइते भएका थिए । पुसमा दुई दुर्घटनामा एकको मृत्यु र एक घाइते भएका थिए । 
 
पछिल्ला समय सडक सहज बनेसँगै दुर्घटनाको संख्या र मृत्यु हुनेको संख्या बढ्दै गएको छ । माघ महिनामा सो सडक खण्डमा चारवटा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । फागुन महिनामा ६ वटा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए । चैत महिनामा आठवटा दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । 
 
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तका अनुसार जब सडकयात्रा सहज हुँदै गयो तब दुर्घटना बढेको देखिन्छ । सो सडकखण्डमा कालोपत्रे गर्ने काम माघ महिनाबाट तीव्र गतिमा अगाडि बढेको थियो । त्यही महिनाबाट सवारी दुर्घटनाको संख्या बढ्दै गएको छ । 
 
सडक निर्माणको क्रममा सडकमा संकेत कम भएको र सवारी चालकले तीव्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढेको ट्राफिक प्रमुख पन्तले बताए । ‘सडक र सडककिनारामा हुनुपर्ने ट्राफिक संकेत नहुँदा जथाभावी सवारी चलाउँदा पनि दुर्घटना बढेको पाइन्छ’, उनले भने । 
 
बाटो सहज बन्दै जाँदा दुर्घटना बढेको देखिन्छ, नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले भने, “बाटो सहज छ भन्दैमा हतारमा सवारी चलाइदिने गर्नाले दुर्घटना बढेको हो ।” 
 
पछिल्ला दुई महिनामा सडक दुर्घटना बढेपछि आयोजनाले जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर सचेतनाको कार्यक्रम सञ्चालन गर्न लागेको खनालले जानकारी दिए ।
 
“पहिला सडकमा खाल्डाखुल्डी हुँदा कम दुर्घटना भएको थियो, अहिले ३३.२ किलोमिटरमध्ये ३० किलोमिटर कालोपत्रे भएकाले सडकमा सवारी चालकले अनियन्त्रित रुपमा सवारी चलाइदिँदा दुर्घटना बढ्को छ ”, खनालले भने । आयोजनाले नियन्त्रित रुपमा र लाइनमा सवारी चलाउन सचेतना कार्यक्रम चलाउन सुरू गरेको उनले बताए । सडक बने पनि पुल नबन्दा सवारी जाम हुने र दुर्घटना बढ्ने समस्या देखिएको छ ।