मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म नेपालकै पञ्चतत्वले बनेको हुँ, अन्त्य पनि त्यहीँ हुन्छ -डा. रामचन्द्र बराल

म नेपालकै पञ्चतत्वले बनेको हुँ, अन्त्य पनि त्यहीँ हुन्छ -डा. रामचन्द्र बराल


(जीवन अचम्मको छ । साधारण लाग्छ हेर्दा । तर बुझ्दै जाँदा यो गहिरो र रहस्यमयी  लाग्छ । सामान्य लाग्ने मानिसका पनि जीवनमा अनेक असमान्य घटना घट्छन् । कुनैबेला कसैको जीवनका ती अनुभवहरू अरुकालागि उदाहरण र प्रेरणा श्रोत बन्न सक्छन् । मानिसको जीवन त एउटै हुन्छ तर त्यहाँ धेरै मोडहरू पार गर्नु पर्ने हुन्छ । जीवनभित्र संघर्षका कथाहरू हुन्छन् । खुशी र उन्मादका क्षणहरु आउँछन् । आफूले कल्पनै नगरेका सफलताका मोडहरू फेला पर्छन् । यिनै सेरोफेरोमा हामीले, प्रवासमा बसेर समयसँग कुस्ती खेल्दै जीवनको यात्रालाई डोर्याइरहेका नेपालीहरूको खुशी अनि कथा व्यथा प्रस्तुत गर्ने  यो  स्तम्भ प्रारम्भ गरेका हौ  – सम्पादक )
 
स्याङ्जाको फेदीखोला, थानचौरमा जन्मिएका रामचन्द्रले अमेरिकी विश्वविध्यालयको प्राध्यापक बनुँला भनेर शायदै सोचेका थिए । तर उनको पढाइप्रतिको लगन, निरन्तरता र हार नमान्ने दॢढ इच्छाशक्तिले एउटा गाउँले नेपालीलाई अमेरिकाको साउथ क्यारोलाइना, एल्जिनस्थित बेन्डिक्ट कलेजमा ल्याइपुर्यायो । सम्मानित पेशा हो प्राध्यापन अमेरिकामा । डा. रामचन्द्र बरालले यो सम्मानित पदमा आइपुग्न जीवनका अनेकौं मोडहरू पार गरे । उनीसंग अनगिन्ती सुख र दुखका अनुभव छन् , संघर्षका कथाहरु छन् अनि सफलताका घमाइला रमाइला पलहरु सम्झनामा छन् । उनका त्यही सुख दुख ,सफलता अनि संघर्षका कुरासंग आज हामी मितेरी गास्दैछौं । 
 
हिउँदे स्कुलदेखि अमेरिकी विश्वविध्यालयसम्म 
रामचन्द्रको प्ररम्भिक शिक्षा गाउँकै हिउँदे स्कुलमा भयो । सामान्य किसान परिवारमा जन्मेका हुनाले उनको पढाइ पनि गाईबाख्रा चराउँदै , घाँस काट्दै अनि खेती किसानी गर्दै अघाडि बढ्यो । घरबाट दुईघन्टा टाढा आमखर्क भन्ने ठाउँमा स्कुल थियो । तर टाढाको स्कुल र थकाइले उनको पढाइलाई तगारो हाल्न सकेन , रामचन्द्र पढ्नमा अब्बल रहे । हाइस्कुल पढ्न पोखरा पुगे । त्यहाँको बराही स्कुलमा आठ कक्षामा प्रमोसन भयो । हेडमास्टर ध्रुबबहादुर श्रेष्ठले रामचन्द्रको प्रतिभा देखेर अर्को राम्रो स्कुलमा पुर्याए । २०२५ सालमा उनले त्यहिंबाट एस एल सी गरे । 
 
उच्च शिक्षाकालागि राजधानी काठमाण्डु हानिए त्यसपछि । आर्थिक अभाव थियो , स्कुले विध्यार्थीलाई ट्युसन पठाउँदै कलेज खर्च पुर्याउथे । त्रिभुवन विश्वविध्यालयमा एमए पढ्दा किर्तिपुरका नेपाली नबोल्ने नेवारी विध्यार्थीलाई नेपाली र अँग्रेजी पढाए । 
 
एमए सकेर केही समय त्रिविमा अध्यापन गरे । अलिक खरो र चाकरी नगर्ने स्वभावका रामचन्द्रलाई त्रिवि प्रशासनले एकै ठाउँ टिक्न दिएन । आफूले रोजेको कलेज नपाइने , उनी कहिले पुर्वको इलाम पुगे , कहिले सुदूर पश्चिमको डोटी । सरुवा भएर कहिले राजबिराज त कहिले सिराहा , बिरगन्ज , बुटवल , नेपालगन्ज  त कहिले धनकुटा पुर्याइए । उनी विचलित भएनन् , बरु आफ्नो देशका विभिन्न स्थान बसेर नेपाल बुझे । 
 
किर्तिपुर क्याम्पसमा पढाउँदै गर्दा सिंगापुर , दक्षिण कोरिया र युरोपका केही मुलुकमा तालिम लिन भ्याए । पढाइ उनको "प्यासन " थियो । शायद त्यसैले उनलाई  अमेरिकाको एरिजोना पुर्यायो । रामचन्द्रले सन् १९८९ मा एरिजोना विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरे । खर्च धान्न स्थानीय प्राथमिक , निम्नमाध्यमिक र माध्यमिक स्कुलहरुमा पढाए । उनको शैक्षिक यात्रा त्यतिमै थामिएन । त्यहि विश्वविध्यालयबाट सन् १९९३ मा शैक्षिक मनोबिज्ञानमा  एमए गरे । सन् १९९४ मा रामचन्द्रले अर्को फड्को मार्दै विशेष शिक्षामा फेरि एमए सिध्याए । 
 
शैक्षिक मनोबिज्ञान उनको  मनपर्ने विषय थियो , त्यहि अन्तर्गत Special education and Rehabilitiation मा  सन् १९९५ मा पीएचडी गरेपछि उनी डा. रामचन्द्र बराल भए । त्यो शैक्षिक उपाधि भिरेर उनी नेपाल फर्के । तर उनले सोचेजस्तो भएन ।  अध्यापन गर्ने अवसर खोजे , स्थान पाएनन् । उनलाई औडाहा भयो । शायद उनको भाग्यरेखाले अमेरिका नै तोकेको थियो , सन् १९९६ जनवरीमा Missisippi Valley State University को निम्तोमा त्यहाँ पुगे । त्यहाँ डा. बरालले Assistant Professor of special Education and Educational psychology को रुपमा सन् १९९९ सम्म सेवा पुर्याए । 
 
उनको पदोन्नति भयो सन् १९९९ मा , रामचन्द्र Associate professor भएर टेनिसीको Bethel University पुगे । त्यहाँ उनले अगस्त २००१ सम्म पढाए । उनको प्राध्यापनप्रतिको लगन र इमान्दारीले डा. रामचन्द्र बराललाई अमेरिकी विश्वविध्यालयको प्राध्यापक बनायो सन् २००१ अगस्तमा । उनी प्राध्यापक बनेर कोलम्बिया , साउथ क्यारोलाइनाको Bendict College पुगे , आजसम्म त्यहि कलेजमा डा. बराल स्थायी प्राध्यापक छन् । त्यहाँ उनी मनोबिज्ञान पढाउँछन् ,अध्ययन अनुसन्धान गर्छन् । 
उनले २०१२ र २०१७ मा कलेजका अध्यक्षबाट दशवर्षे र पन्ध्रवर्षे प्राध्यापन पुरस्कार पाएका छन् । डा. बरालले पाएका पुरस्कार र सम्मानको फेहरिस्त निक्कै लामो छ । 
 
रामचन्द्रले आफ्नो विधामा धेरै पुस्तक प्रकाशन गरेका छन् । उनका सयौं रचनाहरु शैक्षिक जर्नलहरुमा प्रकाशित भएका छन् । उनी जसरी पढाएर , लेखेर थाक्दैनन् त्यसरी नै धाराप्रवाह बोलिरन्छन् । हाम्रो सम्बादको क्रममा कतिपटक यो पंक्तिकारले बिचैमा उनलाई रोक्नु पर्थ्यो । 
 
उनको स्पष्ट धारणा छ- अध्यापन र अनुसन्धान संगसंगै लैजानु पर्छ । यसो भन्दै गर्दा रामचन्द्रले अमेरिकी भनाई उल्लेख गर्न पनि छुटाएनन् " Publish or Perish “.
 
समुदायमा सक्रियता 
एरिजोनामा हुँदै नेपालीहरुलाई आबध्द बनाउन साथीहरुसंग मिलेर संस्था खोलेको डा. बराल स्मरण गर्छन् । साउथ क्यारोलाइना बस्न थालेपछि उनको सामुदायिक सक्रियता बढ्न थाल्यो । अमेरिकी नेपालीहरुको प्रतिष्ठित संस्था मानिने Nepalese Association of South East America(Nasea) मा उनी निर्विरोध अध्यक्ष भए । रामचन्द्रको निस्वार्थ भाव र क्रियाशीलता देखेपछि साथीभाईले निर्विरोध बनाइदिए । आफ्नो कार्यकालमा स्व.अम्बर गुरुङ्ग , अनुराधा कोइराला र स्व. दीना बाङ्ग्देलजस्ता हस्तीहरुको टक प्रोग्राम चलाए ।Sangrila नामक पत्रिका प्रकाशन गरे । 
 
उनी संस्थामा राजनीतिक गन्ध पस्नु हुदैन भन्ने मान्यता राख्छन् । NASEA भित्र नेपालको फोहोरी राजनीति चल्दैन भन्नेमा डा. बराल ढुक्क छन् । 
 
सामाजिक क्रान्ति / अन्तर्जातीय बिबाह /लामो प्रेमपत्र
पाँचजना छोराछोरीका पिता डा. रामचन्द्र बराल सानैदेखि सामाजिक क्रान्तिको पक्षपाति थिए । सामजिक भेदभाव विरुध्द बोल्न उनी अग्रसर हुन्थे । त्यही सोच र अग्रसरतामा हिड्दै गर्दा धरानकि कुशुम थापासंग उनको माया बस्यो । मायामा बल्झेपछि रामचन्द्र कवि बन्न थाले । त्यतिबेला सेलफोन थिएन , कम्प्यूटरको जमाना पनि हैन । त्यसैले इमेल र फेसबुक हुने कुरै भएन । दुईतिन पेज लामो प्रेमपत्र लेख्ने गर्थे उनी । बिस्तारै कवितात्मक हुनथाल्यो प्रेमपत्र । कवितामा लेख्न थाले , कुशुमको जवाफ भने शायरीमा आउँथ्यो । अन्तरजातीय सम्बन्ध हुनाले बिबाह निक्कै कठिन थियो । बुबाआमाले निक्कै समय आनाकनी गरिरहे । दाजुभाईहरुले मिलाउने सबैखाले प्रयास गरे । रामचन्द्रले पनि बलियो अडान लिए । अन्तत: प्रेम बिबाहमा रुपान्तरण भएरै छोड्यो । 
 
बिबाह भएको ४२ वर्ष पुग्दा पनि दाम्पत्य जीवन अविराम चलेको छ । उनी भन्छन् – हामी संगै बसेको ४० वर्ष नाघ्यो भन्दा अमेरिकी साथीहरु अचम्म मान्छन् । अझै हामी बुढाबुढीको बैंकमा संयुक्त खाता छ भन्दा तीनछक्क पर्छन् । 
 
खुशी र दुखको जीवन 
मानव जीवन एउटा यात्रा हो जहाँ अनन्त मोडहरू आउँछन । कुनै खुशी दिएर जान्छन् कुनै भने दुख छोडेर टाढिन्छन् । रामचन्द्रको जीवनले पनि त्यस्तै घामछाँयाका मोडहरू पारगरेको छ । 
सन् २००५, अप्रिल २६मा नेपालबाट आमाको निधन भएको खबर आउँदा आँखाबाट बग्रेल्ती आँशु झरेको नमिठो सम्झना उनीसंग छ । मिसिसिपीमा हुँदा अमेरिकामै जन्मेको आफ्नो पाँच वर्षको छोरो स्विमिङ पुलमा डुबेको घटनाले उनलाई पोलिरहन्छ । सन् १९९८ , मे ३ को त्यो दुखद क्षण आलो घाउ झैँ बिझाउँछ बराल दम्पतिलाई । 
 
अर्कोतिर सन् १९९५ मा पीएचडीको सफलतामा एरिजोना विश्वविध्यालयका अध्यक्षको हातबाट स्वर्ण पदक पाएको दिनलाई  डा रामचन्द्र जीवनको सबैभन्दा खुसी ठान्छन् । 
 
उनको बुझाइमा त्यो एउटा गाउँले नेपालीले पाएको ठूलो उपलब्धी थियो , नेपालीहरुले गौरब गर्ने विषय थियो । 
 
नेपालकै पञ्चतत्व 
नेपालले आफूलाई धेरै दिएको र अब आफूले त्यसको ॠण तिर्नुपर्ने बेला आएको ठान्छन् रामचन्द्र आजभोली । कहिलेकाहिं त अमेरिका आएर किन यत्रो लामो समय खर्च गरेँ किन नेपालमा चैं गरिन भनेर आफैंसंग सोध्छु भनिरहंदा उनको मातॢभुमीप्रतिको माया झल्किन्थ्यो । उनलाई परिवारले बाँधेको छ । भन्छन्- एक्कैचोटी चटक्क छोडेर हिड्न पनि त गारै हुंदोरैछ । 
 
तर रिटायर्ड जीवन नेपालमै बिताउने आफ्नो इच्छा बताउन भने उनी बिर्सदैनन । भन्छन् – म नेपालकै पञ्चतत्वले बनेको हुँ , मेरो अन्त्य नेपालमै हुनुपर्दछ । 
 
त्यति सजिलो छ र नेपाल फर्किने कुरा ? यो पंक्तिकारको जिज्ञासामा रामचन्द्रको सजिलो जवाफ थियो- आर्थिकरुपले कमजोर र पारिवारिक बन्धन हुनेलाई अप्ठ्यारो होला , मेरो त आर्थिक अवस्था बलियै छ, अब पारिवारिक वाध्यता हट्ने बित्तिकै सजिलै नेपाल फर्कन्छु । 
 
(हेरौं डा. बरालसंगको थप भिडियो वार्ता)