मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

नमुना विद्यालयका नमुना प्रधानाध्यापक !

नमुना विद्यालयका नमुना प्रधानाध्यापक !


पूर्वी चितवनको रत्ननगर–११, मंगलपुरमा रहेको पञ्चतेज ज्योति आधारभूत विद्यालय नामजस्तै तेज छ । अधिकांश सुकुमबासी र चेपाङ विद्यार्थी अध्ययन गर्ने सो विद्यालयका विद्यार्थी पनि उस्तै तेजिला छन् । 
 
रत्ननगर स्रोत केन्द्रका ३२ आधारभूत विद्यालयमध्ये पञ्चतेज ‘नमुना’ विद्यालयका रुपमा परिचित छ । भौतिक पूर्वाधार, कम्प्युटर शिक्षा र शैक्षिक गुणस्तरका हिसाबले यो विद्यालय अब्बल छ । 
 
सो विद्यालयलाई नमुना बनाउने अभियन्ता हुन् स्थानीय रामबहादुर मगर । विद्यालयका संस्थापक प्रधानाध्यापक हुन् उनी । उनको चिन्ता र चिन्तन नै विद्यालयलाई कसरी अब्बल बनाउने भन्ने नै छ । २८ वर्षदेखि शिक्षण गर्दै आएका उनी आफू अस्थायी शिक्षक भए पनि विद्यालयलाई स्थायी रुपमा उत्कृष्ट बनाउने सपना बोकेर अगाडि बढिरहेका छन् । 
 
विद्यार्थी एकपछि अर्को गर्दै बोर्डिङ स्कुलमा स्थानान्तरण हुन थालेपछि उनलाई विद्यालय जोगाउने चुनौती थपियो । अहिले विद्यालयलाई कसरी अब्बल बनाउने भन्ने चिन्ता छ । उनी भन्छन्, ‘विद्यार्थी जोगाउनै गाह्रो भएपछि अंग्रेजी माध्यममा पढाउन सुरु गरेका हौँ । सुकुमबासी र चेपाङ बालबालिका पढ्ने भएकाले विद्यालयले नै बोर्डिङको पाठ्यपुस्तक खरिद गर्नुपर्ने बाध्यता छ । त्यसका लागि स्रोत कसरी जुटाउने भन्ने पिरलो छ ।’ 
 
सो विद्यालयमा स्थानीय सुकुमबासी बस्तीका ७० जना दलित तथा जनजाति र चेपाङ संरक्षण केन्द्रका ७० जना चेपाङ बालबालिका गरी १४० जना विपन्न विद्यार्थी अध्ययन गर्छन् । स्रोत जुटाउन अक्षयकोष सुरु गर्न लागेको प्रधानाध्यापक मगर बताउँछन् । 
 
उनी भन्छन्, ‘अंग्रेजी माध्यमका लागि पाठ्यपुस्तक र आवश्यक सामग्री खरिद गर्न २० लाख रुपैयाँको अक्षयकोष बनाउने सोच राखेका छौँ । अहिले कोषमा १ लाख २५ हजार रुपैयाँ संकलन भएको छ ।’ 
 
एक शैक्षिक शत्रमा ६० हजार रुपैयाँको पाठ्यपुस्तक आवश्यक पर्ने उनी बताउँछन् । भन्छन्, ‘गत वर्ष एउटा संस्थाले किताब किनिदिएको थियो । फेरि अर्को संस्थालाई गुहार गर्नुपर्ने बेला आएको छ । दाता भेटिए टाई जुत्ताको व्यवस्था गरेर विद्यार्थीलाई बोर्डिङ स्कुलकै रहर मेटाउने इच्छा छ ।’ 
 
उनी अहोरात्र विद्यालयकै शैक्षिक उन्नयनमा चिन्तित रहन्छन् । विद्यार्थीलाई कसरी पढाउने भन्ने विषयमा उनीसँग विलक्षण कला छ । उनी आफू कहिल्यै म जागिरे हुँ भन्ने महसुस गर्दैनन् । साना बालबालिकालाई रिझाउन निकै सिपालु छन् । कुनै विद्यार्थी विद्यालय आएनन् भने घरघरै पुगेर अनुगमन गर्छन् । 
 
भन्छन्, ‘शिक्षण पेसामै जीवन बिताउने रहर छ । विपन्न बस्तीका भए पनि यहाँका बालबालिकाले बोर्डिङ स्कुलसरह पढ्न पाऊन् भन्ने लक्ष्य लिएको छु । शैक्षिक अवकासपछि पनि यही विद्यालयमा कुनै न कुनै भूमिकामा रहेर सेवा गर्छु ।’
 
उनी हरेक दिन बिहानै विद्यालयमा उपस्थित हुन्छन् । सार्वजनिक बिदा र शनिबारको दिनले उनलाई केही फरक पार्दैन । पञ्चतेजको परस्परमा रहेको चेपाङ संरक्षण केन्द्रका पनि उनी भरोसाका पात्र हुन् । 
 
केन्द्रका अध्यक्ष केपीकिरण शर्मा भन्छन्, ‘शैक्षिक अनुशासन, विद्यार्थीको रेखदेख र अनुगमनमा खटिने रामबहादुर सरको व्यक्तिगत जीवन नै छैन । म चेपाङबस्ती उक्लिँदा पनि यहाँका बालबालिकाले खाए/नखाएको चिन्ता गर्ने उहाँ नै हो । यस केन्द्र सञ्चालनमा जिम्मेवारीको आधा हिस्सा उहाँले नै निभाउनु भएको छ ।’
 
सो विद्यालयमा दुई शिशु कोटा र पाँच दरबन्दीसहित सात शिक्षकले अध्यापन गर्दै आएका छन् । यहाँ उत्र्तीण भएर गएका विद्यार्थी बैरिया माविमा पनि उत्कृष्ट नतिजा हासिल गर्न सफल भएका छन् ।