मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

पुनर्जीवन पाएका निस्वार्थ होली आउँदा झस्किन्छन्

पुनर्जीवन पाएका निस्वार्थ होली आउँदा झस्किन्छन्


 २०६५ सालको फागु पूर्णिमा (होली) अर्थात् आजकै दिन रत्ननगर-२, चितवनका निस्वार्थ श्रेष्ठको जीवनमा कहिल्यै नमेटिने चोट लाग्यो । हरेक वर्ष होली आउँदा उनी झस्किन्छन् । उनी भन्छन्, “हरेक वर्ष होली आउँदा दुर्घटना भएको दिन सम्झेर झस्किने गर्छु । कहीँ केही हुने हो कि भन्ने त्रासले मन पोल्छ । म फेरि त्यो दिन सम्झन चाहन्न ।” 
 
उच्च शिक्षाका लागि भाइ रोहितसँगै काठमाडौँ अनामनगरमा बसेका निस्वार्थ सीसीएमए कलेज, पुतली सडकमा चार्टर एकाउन्टेन्ट पढ्दै थिए । कलेजबाट फर्किएर कपडा सुकाउन छतमा गएका उनी साथीभाइको लोला प्रहारमा परे । रंगसहितको लोला छल्नेक्रममा उनी चारतले छत माथिबाट भुँइमा बजारिए । टाउकोमा असर नपरे पनि ढाडमा नराम्रोसँग दखल पुग्यो । परिणाम मेरुदण्डको पक्षघात भयो । 
 
होली सभ्य रुपमा मनाउन आग्रह गर्दै उनी भन्छन्, “होलीमा जथाभावी लोला हान्ने विकृतिको कारणले मेरो यस्तो अवस्था भयो । चाडपर्वमा विकृति भित्रियो भने त्यसले दुर्घटना निम्त्याउँछ । दुर्घटना कसरी र कहिले हुन्छ भन्ने केही थाहा हुँदैन । त्यसैले होली आपसी सद्भाव र प्रेम साटासाट गरेर मनाउनुपर्छ ।” 
 
नौ वर्षअघिको उक्त अकल्पनीय दुर्घटनाबाट आफूले पुनर्जीवन पाएकोमा उनी खुशी छन् । भन्छन्, “जे नहुनु थियो भइहाल्यो । मनमा पीडा बोकेर बस्दा झन कमजोर भइन्छ । आत्मबल बोकेर हौसलाका साथ अगाडि बढ्दा शारीरिक रुपमा कमजोर भए पनि केही गर्न सकिँदोरहेछ । अहिले मैले साधारण ढंगले नै जीवन अगाडि बढाइरहेको छु ।” 
 
दुर्घटनापछि शिक्षण अस्पताल, धुलिखेल अस्पताल र बनेपा अस्पतालमा गरी एक वर्षको निरन्तर उपचारपश्चात् चितवन फर्किएका निस्वार्थ आफूजस्तै अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायता गर्न सामाजिक कर्ममा लागेका छन् । 
 
उनले चितवन ह्वीलचियर खेलकुद संघ स्थापना गरी २५ जना अपाङ्गता भएकालाई ह्विलचियर दिलाएका छन् । उनी आफ्नो नामजस्तै काम पनि निस्वार्थ ढंगले गर्दै आएका छन् । 
 
घरभित्र बस्नुभन्दा आफूसँग भएको सीप र क्षमता प्रयोग गरेर अगाडि बढ्दा अपाङ्गता भएको महसुस नहुने उनी बताउँछन् । कुनै न कुनै काममा व्यस्त हुनसके आर्थिक रुपमा पनि सबल हुन सकिने उनको विश्वास छ । भन्छन्, “चेतनाको कमीले अझै अपाङ्गता भएकालाई हेर्ने दृष्टिकोण राम्रो छैन । परिवारको सहायता र हौसला छैन, उनीहरुलाई उत्प्रेरणा प्रदान गरेर सीपमूलक कार्यमा अग्रसर गराउनुपर्छ ।” 
 
केही गर्न सक्छु भन्ने आत्मविश्वास बोकेका उनी रत्ननगर बकुलहर अस्पतालमा एकाउण्टेन्टका रुपमा कार्यरत छन् । उनी जीवनदेखि कत्ति निराश छैनन् । आफू आत्मनिर्भर भए सबैको माया पाइने विश्वास उनको छ । भन्छन्, “आमाबुबा र भाइहरुको माया पाएको छु । आत्मनिर्भर भएर आत्मसम्मानले बाँचेको छु ।”