मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

वन्यजन्तुको स्वास्थ्यबारे ‘सौराहा घोषणापत्र’ जारी

वन्यजन्तुको स्वास्थ्यबारे ‘सौराहा घोषणापत्र’ जारी


चितवन । माघ २२ गतेदेखि चितवनको सौराहामा १३ देशका विज्ञको सहभागितामा बाघ, एशियाली गैँडा र हात्तीको चिकित्सा विज्ञानबारे क्षेत्रीय कार्यशाला गोष्ठी बुधबार सम्पन्न भएको छ । कार्यशालाले ‘नौबुँदे सौराहा घोषणापत्र’ जारी गरेको छ ।
 
अन्तर्राष्ट्रिय कार्यशाला कृषि तथा वन विज्ञान विश्वविद्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा कृषि विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
 
सौराहा घोषणापत्रमा वन्यजन्तुको स्वास्थ्य व्यवस्थापनसम्बन्धी विषयलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरी जनशक्ति तयार पार्न पहल गर्ने, बिरामी वन्यजन्तुको हेरचाह, रोगको पहिचान र निदानका लागि चितवन निकुञ्जमा सुविधायुक्त वन्यजन्तु अस्पताल बनाउने, युवापुस्तालाई वन्यजन्तुको संरक्षण र स्वास्थ्यको व्यवस्थापनमा आकर्षित गराउन पहल गर्ने निष्कर्ष निकालेको कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायका डीन प्राध्यापक डा. शारदा थपलियाले बताइन् ।
 
यस्तै घोषणापत्रमा अन्तर्राष्ट्रिय क्षेत्रसँगको समन्वय तथा साझेदारी गरी वन्यजन्तुको विषयमा सञ्जाल निर्माण गर्ने, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायअन्तर्गत छुट्टै वन्यजन्तु स्वास्थ्य व्यवस्थापन विभाग गठन गर्ने र रोग निदान संरचना खडा गर्नेलगायतको निष्कर्ष निकालेको छ ।  
 
चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले गैँडा स्थानान्तरणका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै हात्तीसम्बन्धी कार्यपत्र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले प्रस्तुत गरेका थिए ।
 
कार्यशालामा नेपालसहित १३ देशका ८७ जना विज्ञहरूले सहभागिता जनाएका थिए । अष्ट्रेलिया, चीन, भारत, इन्डोनेसिया, मंगोलिया, म्यानमार, पाकिस्तान, रुस, थाइल्याण्ड, बेलायत, अमेरिका र भियतनामका पशु विज्ञहरु सहभागी रहेको कार्यशालामा वन्यजन्तुको स्वास्थ्य र वन्यजन्तुको जीव विज्ञानसम्बन्धी ३३ वटा कार्यपत्र र आठ वटा पोष्टरहरु प्रस्तुत गरिएको थियो ।