चितवन । चितवनका चर्चित लोक तथा दोहोरी गायक मिलन लामा केही महिनाअघिदेखि सामाजिक अभियन्ताका रुपमा प्राकृतिक प्रकोपबाट पीडितको सहयोगमा जुटिरहेका छन् ।
देश विदेशका कार्यक्रममा व्यस्त गायक लामाको कार्यक्रमबाट विभिन्न आयोजकहरुले गरिब तथा प्राकृतिक प्रकोपबाट पीडितका लागि सहयोग जुटाइरहेका छन् । गायक लामा आफैंले राहत तथा विभिन्न सहयोग जुटाउने कार्यमा लागिपरेका छन् ।
विपन्न चेपाङ तथा भूकम्पपीडित र बाढीपीडितको राहत वितरणमा उनले सक्रिय भूमिका खेलेका थिए । ०७४ साउन २८ र २९ गते चितवनमा आएको बाढीका कारण घरबारबिहीन भएका समुदायका लागि घर बनाउने अभियानमा पनि उनले योगदान गरे ।
सामाजिक सञ्जालमा ‘मिलन होम’ नामक अभियानअन्तर्गत उनले बाढीबाट घरबारबिहीन भएका बछौलीका ५ परिवारलाई पुनःस्थापना गर्न सफल भए ।
अहिले उनी पुनः सामाजिक कार्य गर्न नौलो प्रयोगमा जुटेका छन् । सामाजिक सेवाका लागि विवाहमा गीत गाउने अभियान । यही अभियानअन्तर्गत उनी यही माघ २६ गते चितवनको शान्तिचोकमा अनमोल गिरी र सज्जनी लामिछानेको विवाहमा गीत गाउने भएका छन् ।
उनी भन्छन् “समाजसेवाको लागि बिहेमा गीत गाउँदै छु । अबको नौलो अभियान हो मेरो । सधैँ अरुसँग मागेरमात्रै समाजसेवा हुँदैन रहेछ । त्यसैले माघ २६ गते शान्तिचोकमा विवाह पार्टीमा खुब रमाइलो गराउने तयारीमा जुटेको छु ।”
प्रतिक्रिया