मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

कविता पैसा तिरेर सुनिनुपर्छ, युट्युबमा लोकप्रिय हुनु मेरो दोष हैनः नवराज पराजुली (भिडियो सहित)

कविता पैसा तिरेर सुनिनुपर्छ, युट्युबमा लोकप्रिय हुनु मेरो दोष हैनः नवराज पराजुली (भिडियो सहित)


वर्षौं साधना गरेका र दर्जनौं कृति निकालेका कविहरु बजारमा छ्याप्छ्याप्ती छन् । तर, उनीहरुको खासै चर्चा हुँदैन । जम्मा एउटा कृति निकालेका नवराज पराजुली भने यतिबेला ‘स्टार कवि’ भएका छन् । जम्माजम्मी ३४ कविता लेखेका उनलाई साहित्य पढ्ने नेपालीले चिन्दिनँ भन्यो भने आश्चर्य हुन्छ ।

त्यसो त लोकपि्रय भए पनि पराजुलीका कविताका बारेमा समीक्षकहरुले उति राम्रो नम्बरिङ गरेका छैनन् । त्यतिमात्र होइन, चर्चित कविहरु पनि नवराज पराजुलीलाई ‘युट्युव कवि’ भनेर खिसीट्युरी गर्छन् । हजारौं फ्यान कमाएका नवराजलाई यसपटक अनलाइनखबरले उनका बारेमा लाग्ने गरेका यस्ता आरोपहरुको खोजी गरेको छ र उनीसँग त्यसको जवाफ माग्ने प्रयास गरेको छ ।

पहिलोपटक तीता प्रश्न सामना गरेका नवराज पराजुली भन्दै थिए, ‘मेरा बारेमा यति धरै नकारात्मक चर्चा छ भन्ने मलाई नै थाहा रहेनछ !’

प्रस्तुत छ अनलाइनखबरका लागि अश्विनी कोइरालाले कवि  नवराज पराजुलीसँग गरेको कुराकानी

तपाईंको कविताका प्रशंसा गर्नेहरु कति होलान् भन्ने ठान्नुहुन्छ ?

जहाँ जान्छु, ठूलो फ्यान फलोइङ् पाउँछु । यी कुरा मेरा थिए, तपाईंले लेखिदिनुभयो भन्नेहरु नै सयौं भेटेहुँला । हजारौंलाई प्रत्यक्ष र लाखौंलाई अप्रत्यक्ष रुपमा कविता सुनाएँ । तपाईंका कविता सुनेर रोएँ भन्नेहरु कति हुनुहुन्छ गनीसाध्यै छैन । धेरै साथीहरुले विदेशबाट तपाईंका कविता युट्युवमा नसुनी सुत्न सक्तिनँ । तपाईंको कविताले निद्राको औषधिको काम गरेको छ भन्नुहुन्छ । अहिलेसम्म कविता साहित्यप्रेमीसम्म पुगेको थियो । मेरा कविता साहित्य नपढेका र यो साहित्य हो भन्ने नुबुझ्नेसम्म पुग्यो भन्ने लाग्छ ।

तपाईंका कविता पढ्ने होइन, सुन्न मात्र योग्य छन् भन्छन् नि ?

सुरुमा पढिएको कवि होइन, म सुनिएको कवि हुँ । मैले आफ्नो कवितायात्रा दर्शकलाई सुनाएर सुरु गरेँ । दर्शकका आँखा हेरेर मेरो कविताको प्रभाव नाप्दै ऊ डुब्दैछ कि उत्रँदैछ भनेर हेर्दै मैले कविता यात्रा सुरु गरेको हुँ । कसैले म पढिनेभन्दा सुनिने कवि हुँ भन्छ भने त्यसलाई अस्वीकार गर्नुपर्ने कारण म देख्दिनँ ।

र, आरोप लगाउनेहरु भन्छन्, यसरी सुनिने कविता साहित्य विधाको कविताभित्र पर्दैन रे…

पहिले कविता लेखियो कि यो कविता हो भनेर निर्क्याैल गर्ने मान्छे जन्मिए ? पक्कै पनि कविता पहिले जन्मियो । अथवा यसो भनौं कुनै एउटा कला जन्मियो, जसलाई पछि गएर कविता भन्ने नाम दिइयो ।

त्यो सिर्जना ठूलो कि यो कविता हो कि होइन भन्ने बहस ठूलो हो ? बसह एकातिर हुँदै जाला । तर सत्य के हो भने ब्रम्हाण्डको उर्जा र मेरो उर्जा मिसिएर जतिबेला यी कुराहरु लेखिए, त्यो बेला ती कविता बनेको मलाई लाग्यो । त्यति मात्र होइन, जव मञ्चमा उभिएर म त्यो उर्जाबाट निश्रति कला वाचन गर्छु, मलाई कविता बगेझैं लाग्छ ।

ती कविता होइनन्, कुनै निवन्ध, कुनै कथा वा बुढापाकाहरुका मीठा गफजस्तै लाग्छन् रे ?

मेरा लागि कविता ती हुन्, जो मेरा पीजातीलाई उहाँले हलो जोतेको कथा सुनाउँदा आफ्नै कथालाई गीत बनाएझैं लागोस् । मेरा लागि कविता ती हुन्, वर्षौं लोकसेवा आयोगको तयारी गरिरहेको विद्यार्थीले उसलाई सोधिने प्रश्नोत्तर पार गर्न नसक्दा मेरा कविताले उसलाई आफ्ना पीडा सर्लक्क उतारेझैं लागोस् । ती कुरा उनीहरुकै भाषामा सर्लक्क उतारौं, जहाँ उनीहरुका कुरा कविताजस्तै भएर मन छोओस् । यस्तो कुरा कसैलाई निबन्ध जस्तो लाग्छ वा कथा जस्तो लाग्छ भने म के गर्न सक्छु र ? मलाई ती कविता जस्तै लाग्छन् । धेरैलाई कविता जस्तै लागेका छन् ।

मेरा कविता सबैलाई कविता जस्तै लाग्नुपर्छ भन्ने आग्रह मैले पालेको छैन । र, यी कविताले देश र समाज परिवर्तन गर्नुपर्छ भन्ने कामना पनि गरेको छैन ।

थोरै कविता लेखेर पनि युट्युवका कारण नवराज चर्चित भएको हो, उसले कति नै कृति लेखेको छ र ? भन्नेहरु पनि छन्…

युट्युवले नेपालका कविहरुमध्ये नवराज पराजुली भन्ने केटालाई मात्रै कविता राख्ने सुविधा दिएको हो ? वा यसअघि अरुले पनि त्यो सुविधा सदुपयोग गरिसक्नुभएको छ ? अरुले यो सुविधा मसँगै सदुपयोग गरिरहनुभएको छ कि छैन ? थोरै कविता लेखेको छु, यो सत्य हो । तर, युट्युवमा लोकप्रिय हुनुमा मेरो कुनै योगदान छैन । र, यसमा म धेरै दुखी हुनु वा कोही दुःखी हुनुपर्ने कारण पनि देख्दिनँ ।

यीमाथिका आरोप तपाईंलाई सुन्नेहरु मध्येकै हुन् । यी आरोेपमा इर्ष्याजस्तो केही कुरा पाउनुहुन्छ ?

यदि यी आरोप श्रष्टाबाट आएका हुन् भने पक्कै पनि केही मात्रामा इर्ष्या हुन् भन्ने लाग्छ । मेरा पाठकबाट-श्रोताबाट, जसको कवितासँग ठूलो नाता छैन, उहाँहरुबाट आएको हो भने सुझाव, सल्लाह हुनसक्छ ।

तपाईंका कविता साह्रै सरल, सामान्य र हलुका शब्दबाट बनेका छन् भन्ने आरोप समीक्षकहरुको पनि छ । यसमा कति प्रतिशत सत्य देख्नुहुन्छ ?

कुनै पनि शब्द सरल, सामान्य र हलुका हुँदैनन् भन्ने मेरो अभिमत छ । ती कुन रुपमा कसरी अभिव्यक्त भएर आएका छन्, त्यसले ती शब्दहरुको वजन मापन हुन्छ । हो, सरल शब्दभित्र मैले केही पोको पारेर मेरा मान्छेसम्म आफ्ना कुरा पुर्‍याउने प्रयास गरेको छु ।

एकजना कुनै साहित्यकारले भनेको सम्झन्छु, ‘सिमलको भुवा हलुको हुन्छ । प्रकृतिले त्यो भुवाभित्र सिमलको बिऊ लुकाएर राखेको हुन्छ । सिमलको भुवा परपरसम्म उडेर जान्छ । त्यसो नहुँदो हो त अग्लो सिमलको सेपमा त्यो बिऊ उम्रन सम्भव हुन्नथियो । प्रकृति अनौठो छ । पाकेको आँप सिधै रुख मुन्तिर र्झछ किनभने मानिसले त्यो फल खान्छ र पर कतै त्यसको कोया फ्याँक्छ । सिमलले आफैं त्यो काम गर्नुपर्छ । यही कारण उ आफैंले हलुका भुवाभित्र आफ्नो बिऊलाई राखेर परपरसम्म उड्नुपर्छ ।

यसको अर्थ हो, जति हलुका शब्द भयो, त्यति परपरसम्म छरिएर त्यसले उम्रने अवसर पाउँछ । सायद मेरा सरल शब्द त्यहि सिमलको भूवा नै हो कि जसभित्र पर परसम्म छरिएर रहनु भएका नेपालीको मन छुने बिऊ राखिएका छन् ।

युट्युवमा तपाईंका कविता राखिँदा त्यसले तपाईंको कवित्वलाई कस्तो प्रभाव पार्‍यो ? ती कविताहरुले आफ्नो धर्म निभाए ?

साहित्य जुन माध्यमबाट गए पनि आफ्नो धर्म निभाउँछ । युटुव र फेसबुक लाइभबाट करिब ५० लाख पटक ‘सगरमाथाको गहिराइ’ र ‘ह्याप्पी बड्डे छोरा’ कविता हेरिएको अनुमान गर्छु । एउटा कविताको लम्बाइ करिब १५ मिनेट राख्दा म हिसाव निकाल्छु करिब ७५ करोड मिनेट आमाको मायामा हामी रङ्गियौं । यो समयमा हामीले आफ्नो देश सम्झियौं । यसको अर्थ हो, १२ लाख ५० हजार घण्टा मनमा दुषित भावना आएन । कसैप्रति दुर्भावना पलाएन । म हिसाव निकाल्छु, ५२ हजार दिन बरावरको समय हामीले आमा र देशलाई सम्झियौं । योबीचमा ब्रम्हाण्डको सकारात्मक उर्जा हामीले ब्रम्हान्डमै फिर्ता पठायौं । यो कुरा गर्दा अलि ठूलो कुरा गरेजस्तो होला, तर सत्य हो ।

युट्युव र फेसबुक लाइभमा हेरिएका ५० लाख भ्युअरको कुल समय १ सय ४२ वर्ष हुन्छ । अर्थात ती कविताले १ सय ४२ वर्षको समय बाँचे । म यसलाई सानो प्रभाव मान्दिनँ ।

तपाईंमाथि अर्को आरोप पनि छ, भनाैं ?

ओहो, ममाथि यति धेरै आरोप छन् भन्ने कल्पना गरेको थिइनँ । तपाईंलाई धन्यवाद, कम्तिमा ममाथि पनि आरोप छन् र त्यसलाई स्पष्टीकरण दिने अवसर पनि जुराइदिनुभयो ।

आरोप के छ भने तपाईंले कवितालाई कुनैबेलाको पप गीतजस्तो सस्तो बनाउनुभयो ?

पप गीतलाई किन सस्तो भनियो, यसमा म आश्चर्यचकित हुन्छु । संसारमा जुन गीत लोकप्रिय हुन्छन्, ती गीतलाई पप गीत भनिन्छ । जति धेरैको मनमा बस्न सक्यो, गीत त्यति नै लोकप्रिय हुन्छ ।

नेपालमा पप गीत भन्नाले युवा पुस्ताले गाउने गीतलाई भन्ने गरिएको छ र त्यसलाई केही संगीत मर्मज्ञहरुले अस्वीकार गर्नुहुन्छ ।

मेरो कविता यदि पप गीत जस्तो लोकपि्रय अर्थमा भनिएको हो भने यो आरोप होइन, प्रशंशा हो । होइन, गलत अर्थमा युवा पुस्ताले मात्रै मनपराउने अर्थमा कसैले भन्नुभएको हो भने पनि म खुसी नै हुन्छु, किनभने युवा पुस्तामा पनि साहित्य छिर्‍यो ।

अहिले साहित्यमा जसरी युवा पुस्ताका लागि लेखिएका पुस्तक चर्चामा छन् । जसरी युट्युवमा कविता चर्चामा छन्, त्यसले के जनाउँछ भने अब साहित्य केही सीमित व्यक्तिमा मात्रै निहीत रहेन । यो सिमलको भुवाले बिऊ बोकेजस्तै पर परसम्म पुग्न थाल्यो ।

केही दिनअघि म नेपालगञ्जमा गएको थिएँ । त्यहाँ कहिल्यै कविता नसुन्ने युवा विद्यार्थीहरु डेढ घण्टासम्म मेरा कविता सुनिरहनुभएको थियो । अब अन्तिम कविता भन्छु भन्दा अर्को कविता वाचन गर्ने आग्रह आउँथ्यो ।

तर, मेरा कविता हजुरआमाले पनि सुन्नुभएको छ । बुवाहरुले मनपराउनु भएको छ । युवाहरुमा मात्रै यो सीमित रहेन । यस अर्थमा यसलाई पप कविता भन्दा खुसी नै लाग्छ ।

तपाईंले एउटा कविता वाचन गरेको १० हजारसम्म लिने गर्नुभएको छ । एउटै कविता हरेक दुई दिनमा ठाउँ-ठाउँ पुगेर ती कविताको दोहन गरिरहनुभएको छ । यस्तो आरोप लगाउने लाई के भन्नुुहुन्छ ?

के कवि भन्ने प्राणी निरीह हो ? आफ्नो भाडा पिटाएर, आफ्नो गोजीको पैसाले खाजा खाँदै एउटा कवि कुनै साहित्य सम्मेलन वा कवि गोष्ठीमा पुगोस्, त्यहाँ पुगेर उसले दश काम बिताएर पनि लेखेको कविता वाचन गरेर ताली पाओस् । अनि परिवारलाई पैसाको अभावमा समस्यामा पारेको भनेर घर आउनेवित्तिकै गाली खाओस् भन्ने चाहान्छ, यो समाज ?

हामीले देखेका छौं, राम्रा राम्रा लेखक-कवि-कलाकार जीवनभरि दुःख गरेर काम गर्छन् । तर उनीहरु आफू बिरामी हुँदा उपचारसम्म गर्न नसक्ने भएर मर्छन् । यस्तो बेलामा कुनै सहयोगी दाताले चन्दा उठाएर उसको नाममा चर्चा कमाउँछ र भिख मागेझैं कवि-लेखक-कलाकारलाई पैसा दिन्छ । कवि-कलाकार भनेको यस्तै दुःखी प्राणी हो र यसले सधैं यसैमा गर्व गर्नुपर्ने हो ?

भारतमा एकजना कवि छन्, कुमार विश्वास । उनी आज होइन, दसौं वर्षअघि नै एउटा मञ्चबाट एउटा कविता भनेको एक लाख रुपैंया लिन्थे । उनी राजनीतिमा आए । तर, पनि उनले कविता भनेको पैसा लिन छाडेनन् । राजनीतिमा आएको मान्छे, पैसा माग्दा मेरा भोटर घट्लान् भन्ने चिन्ता उनले गरेनन् । राजनीति गर्दागर्दै पनि उनले कविता कन्सर्ट गरिरहे, अहिले पनि गर्छन् । किनभने कविता उनको करियर हो । राजनीति उनका लागि समाजसेवा ।

जबसम्म कवि-कलाकारले आफ्नो कर्मलाई करियर बनाउँदैन, ऊ माथि भनिएझैं भिख मागेर आफ्नो उपचार गर्न बाध्य हुन्छ । म कवितालाई करियर बनाउन चाहन्छु । र, अबको साहित्य र साहित्यकारको परिचय परिवर्तन भएको हेर्न चाहन्छु ।

कविता भनेर पैसा लिनु जायज हो ?

कविता लेख्नका लागि पैसा माग्नु जायज होइन । तर, लेखिएको कविता सुनाउन पैसा लिनु जायज हो । मैले पैसा पाउँछु भनेर कविता लेखेको होइन, तर लेखिएका कविताले तपाईंको मनको भोक मार्छ भने, तपाईंको केही समय सकारात्मक उर्जाले भरिन्छ भने त्यसको कुनै न कुनै मूल्य हुन्छ र त्यो तपाईंले तिर्नुपर्छ । पुस्तक बिक्री हुनुपर्छ, सिनेमा हेरिनुपर्छ र कविता पनि पैसा तिरेर सुनिनुपर्छ ।

तपाईं स्कुल पनि पढाउनु हुन्छ क्यारे । देश-विदेश घुमिरहनु भएको हुन्छ, कुन बेला जागिर खानुहुन्छ ?

यो देशमा कवि-कलाकारलाई चिन्ने मानिसहरु प्रशस्त छन् । भोलि कुनै बेला काठमाडौंको बबरमहलमा रहेको ओलम्पिया स्कुल नरहन पनि सक्छ । भोलि निश्चित छ, यो नवराज पराजुली पनि हुँदैन । तर, ओलम्पियाका सहृदयी लगानीकर्ता र शिक्षकहरुले एकजना शिक्षक, जो कवि पनि हो, उसलाई सजिलै गरी काम गर्ने वातावरण दिए र केही सुन्दर कविता सिर्जना गर्ने वातावरण बनाइदिए । र, ती कविता लामो समय बाँच्नेछन् । यो कुरा उहाँहरुले बुझ्नुभएको छ । जबसम्म यो देशमा यस्ता संस्था र यस्ता मान्छे हुन्छन्, ‘ह्याप्पी बर्थ डे छोरा’ जस्ता सिर्जना जन्मिरहनेछन् ।

मेरा आरोप सकिए, तपाईंलाई केही भन्नुछ ?

मेरो विद्यालय र तपाईंका बारेमा एउटा कुरा भन्नुछ, लेख्नु हुन्छ, हुन्न थाहा छैन । तर, तपाईंले नै अन्तरवार्ता लिँदा मैले यो कुरा भन्नैपर्छ ।

त्यो के भने, गएको वर्ष रसियन कल्चर सेन्टरमा एउटा महत्वपूर्ण पुस्तकको विमोचन हुँदै थियो । त्यो विमोचनमा मलाई आउन मन थियो । तर, विद्यालय लागेको थियो । मलाई विद्यालयले म जुनबेला जहाँ पनि जान छुट नदिएको भए त्यो दिन एउटा महत्वपूर्ण कुरा गुमाउने थिएँ ।

तपाईंले बिर्सनुभयो होला, तर मलाई त्यो ताजा छ । त्यो दिन तपाईंले भन्नुभएको थियो- ‘मैले राम्रा कुरा पाउँछु भनेर सधैं ठूला मान्छेको संगत गरेँ । आज पत्रकारिता गरेको बर्षौंपछि भन्न सक्छु, ‘ठूला मानिसहरु’ले ठूलो हुञ्जेलसम्म सबै राम्रा कुराहरु गुमाइसक्दा रहेछन् । राम्रा कुराहरु त हामीले साना भनेका मानिसहरुसँग पो हुँदोरहेछ !’ 

हेर्नुस् कवि पराजुलीको कविता- खोया