मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    
अमेरिका समाचार   
जो चर्चामा रहे   

सन् २०१७ अमेरिकामा नेपाली, जो चर्चामा रहे

सन् २०१७ अमेरिकामा नेपाली, जो चर्चामा रहे

-हिमालयखबर टीम

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हिमालयखबर टीम
अमेरिका– सन् २०१७ मा अमेरिकामा बस्ने नेपाली समुदाय भित्र थुप्रै उतार–चढाव आए । राम्रा काम भए, विवादहरु पनि देखिए । एनआरएन अमेरिकाको निर्वाचनको विषयलाई लिएर तीब्र विवाद भयो । उम्मेदवार दिन पाउने नपाउने देखि निर्वाचित कार्यसमिति विरुध्द मुद्दा हाल्नेसम्मका धम्की छरपष्ट भयो । एनआरएन अमेरिका भित्रको समस्या नेपालसम्म पुग्यो ।  बर्षको अन्तिममा हामीले राम्रो काम गर्ने भनेर प्रशंसा गरेको नेपाली समाज टेक्ससमा पनि नयाँ नेतृत्व चयनका विषयमा भद्रगोलको अवस्था आयो । समाजिक संस्थामा यस्तो हुनुहुदैनथ्यो । संस्थाले मनमुटाव बढाउनु राम्रो होइन ।
अमेरिकामा नेपाली समुदायको जनसंख्या बृध्दिसँगै थुप्रै क्षेत्रमा राम्रा पहलहरु पनि भईरहेका छन् । सन् २०१७ मा नयाँ व्यवसाय सुरू गर्ने थुप्रै नेपाली हामीले भेट्यौ । अमेरिकामा मात्र होइन नेपालमा लगानी गर्ने नेपालीमुलका अमेरिकीहरू पनि बढ्दै छन् । पूर्बमा कनेक्टिकटदेखि पश्चिममा प्रशान्त महासागरीय टापु हवाइसम्म व्यबसाय गर्ने थुप्रै नेपालीहरू छन् । अमेरिकाको राजनीतिक सामाजिक लगायत विभिन्न तहमा नेपालीको पहुँच विस्तार भईरहेको छ ।
अप्ठेरोमा पर्दा सहयोग गर्ने हाम्रो समुदायको विशेषता हो । यसमा कमि आएको छैन, बढीरहेको छ । नाम र पदका लागि मात्र वनेका संस्था भन्दा समुदायमा मर्दा र पर्दा चाहिने संख्या नेपालीले खोजिरहेका छन् ।
हिमालयखवरले गत बर्षदेखि बर्ष भरिका चर्चामा रहेका नेपालीको सुची दिन सुरू गरेको हो । यो हाम्रो दोस्रो प्रयास हो । यो काम सजिलो भने होइन । कैयौं बर्ष देखि विश्वकै वर्ष व्यक्ति घोषणा गर्दै आएको टाइम म्यागेजिन समेत यस बर्ष व्यक्ति घोषणा गर्ने तयारी गर्दा विवादमा परेको थियो । उत्कृष्ट कामले चर्चा पाइन्छ तर, विवादले पनि मानिसलाई चर्चामा ल्याउँछ । हामीले एउटा समुह बनाएर केही दिन देखि अमेरिकामा सन् २०१७ मा को कसरी चर्चामा रह्यो भन्ने वारे आन्तरिक छलफल शुरु गरेका थियौं । कैयौं नामहरु आए, केही १० मा अटाएनन् । 
पासाङ लामा व्यवसायमा संभवत अमेरिकाकै सबैभन्दा सम्पन्न व्यक्ति हुन् । उनले लगातार व्यवसाय विस्तार गरिरहेका छन् । अमेरिकाको टेक्ससवाट सुरु भएको उनको व्यवसाय अन्य राज्य लगायत नेपालसम्म फैलिएको छ । उनी तेल अर्थात ग्याँसका डिलर पनि हुन् । उनको व्यवसायीक उचाई लिने क्रम काम छ । हामी उनको यो सम्पन्नतालाई अझ विस्तृत रुपमा आउने दिनमा दिने प्रयास गर्ने छौं ।
अमेरिका आउँदा मेरिल्याण्डमा वस्ने ह्यारी भण्डारीको नाम हर्कबहादुर भण्डारी थियो । उनी अमेरिका आएपछि यहीको वातावरणमा प्रतिस्पर्धा गर्नु पर्छ भन्ने सोच राख्ने मात्र होइन अरुलाई पनि यही सल्लाह दिन्थे । उनको लगातार यो हुटहुटीले काम गरेको छ । उनी मेरिल्याण्ड विधान सभामा डेमोक्र्याट पार्टीवाट कांग्रेस सदस्यमा उम्मेदवारका लागि तयारी गरिरहेका छन् । राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टी उम्मेदवारलाई जिताउन लागि परेका ह्यारीमा कहीं कतै थकान देखिदैंन । उनको वेग नरोकियोस हामी यही सुझाव दिन्छौं ।
अमेरिकामा विभिन्न कारणले बसोवास गर्ने नेपालीको संख्या ३ लाख बढी छ भन्ने धेरैको अनुमान छ । अहिले अमेरिकाका ५० वटै राज्यमा कही कतै न कतै नेपाली भेटिन्छन् । नासामा वैज्ञानिक देखि हलिउडमा व्यवसाय गर्ने नेपाली छन् ।
हवाईको टापुमा पुग्दा पनि त्यहाँ तिर्थ लुईटेल भेटिए । हवाईका तीनवटा टापुमा उनका लुइँटेलका रेष्टुरेण्ट छन् । लसएञ्जल्समा व्यवसाय गर्ने रामबावु पाण्डे क्यालिफोर्निया च्याप्टरमा एक मतको अन्तरले विजयी भए । उनी त्यहाँको समाजिक क्षेत्रमा सकृय पनि छन् ।
पशुपति तथा बुध्द मन्दिरका ठुला पाँच चन्दादाता भित्र उनको नाम पर्छ । त्यहाँ उनले ७० हजार डलर भन्दा वढी दिने घोषणा गरेका छन् । यहाँको राजनीति भित्रपनि नेपाली प्रवेश गर्दैछन् । नेपाली समुदायको संख्या बृद्धिसँगै आफ्नो दैनिक काम र व्यवसायमा चर्चा बटुल्ने नेपालीपनि छन् ।
समय निकालेर समाजिक काममा लाग्ने नेपालीको संख्या पनि बढीरहेको छ । नेपालीको संख्या उल्लेख्य भएका अधिकांश शहरमा प्राय कुनै न कुनै संघसंस्था भेटिन्छन् । यस्ता संघ संस्थाले विभिन्न प्रकारले नेपालीलाई एकै ठाउँमा जमघटपनि गराउँदै आएका छन् । यस मध्ये केही नेपाली सन् २०१७ मा विशेष चर्चामा आए । हिमालयखबर टिममले यी नामहरु सुचिबध्द गरेर सन् २०१७ मा चर्चामा रहेका १० नेपालीको चयन गरेको हो ।
हामीले १० जना चर्चित व्यक्तित्व छान्दा शुध्द पेशागत काम भन्दापनि समाज जोडिएका र चर्चामा आएकालाई प्राथमिकतामा दियौं । १० नामहरु छनौट गर्दा छलफलमा फरक मत नआएको होइन । तर, पनि सन् २०१७ भर कसरी चर्चामा रहे त भन्ने आधार लिइयो ।
यसरी नाम छान्नु जोखिम पनि हो र सुचीमा परेका नाममात्र चर्चामा भएका हुन भन्ने दावी हामी गर्दैनौं । हामी यसमा विज्ञ पाठकको रचनात्मक सुझावका लागि पनि आग्रह गर्छौ । यी नामहरुले सन् २०१८ मा पनि केही न केही प्रभाव छाड्छन् भन्ने हाम्रो विश्वास छ ।
टाइम, फोर्ब्स पत्रिकाले नियमित रुपमा अमेरिका र विश्वमा प्रभाव पार्ने, शक्तिशाली नामहरु सार्वजनिक गर्छ । यसको मुख्य उद्देश्यले ती नामहरुले ठुलो जनसंख्यालाई पारेको प्रभाव देखाउनु हो । राम्रो काम गरेर अघि वढ्नेलाई यो उत्साह जगाउने पहल पनि हो । दश जनाको नाम भित्र गैर आवासिय नेपाली संघ (एनआरएनए) आवध्द धेरै परेका छन् । एनआरएन अमेरिका १० हजार भन्दा वढी सदस्य रहेको संगठन हो ।
प्रस्तुत छ यस्तै आधारमा सन् २०१७ मा चर्चामा रहेका अमेरिकामा रहेका नेपालीहरूको सुची ।
१) पासाङ लामाः
पासाङ संभवत अमेरिका रहेका नेपालीहरुमध्य धनी नेपालीमा पर्छन । ग्याँस स्टेशन, रिटेल उनको मुख्य व्यवसाय हो । उनी ग्याँसका थोक विक्रेता समेत छन् ।
प्रत्येक बर्ष ५ वटा व्यवसाय थप गर्दै जाने उद्देश्य लिई अगाडी बढिरहेका पासाङ चार दर्जन भन्दा वढी ग्याँस स्टेशनका मालिक हुन् । केही व्यवसायमा साझेदारपनि छन् ।अमेरिका आउँदा शुरुका दिनमा पासाङको परदेश बसाईका कथा अरुको जस्तै समान छन् ।
टेक्ससमा शुरुका दिनमा एउटा ग्याँस स्टेशनमा लगातार २५ घण्टा काम समेत गरेको अनुभव उनीस ँगछ । उनले हामीसँग विगतका दिन सम्झदैं भनेका थिए–‘अहिले त मलाई यस्तो लाग्छ कुनै दिन सबै थोक गुमाएर सडकमा आएछु भनेपनि फेरी व्यवसाय गर्न सक्छु जस्तो लाग्छ ।’
उमेरका हिसाबले चार दशकको हिडिरहेको पासाङको लगानी ग्याँस स्टेशन बाहेक शिक्षा, रियल स्टेट लगायतमा उनको लगानी छ । उनीसँग कुरा गर्दा लाग्छ यो सम्पन्नता उनले कडा मेहनतको प्रतिफल हो । उनले अमेरिकामा मात्र होइन नेपालमा समेत लगानी गर्न थालिसकेका छन् ।
गैर आवासिय नेपाली संघ (एनआरएन)को निर्वाचनमा पासाङ सकृय थिए । उनले एनआरएनमा शेष घलेको समूहलाई सघाएका थिए । एनआरएनए निर्वाचनले पासाङलाई शेष घलेको नजिकमात्र बनाएन उनका विश्वास पात्र समेत बन्न सफल भए । यही कारण घले समुहको महत्वपुर्ण बैठकहरुमा उनी सहभागी भए । पासाङ बढी आफ्नो मात्र स्वार्थ हेर्छन भनेर आलोचना गर्ने पनि छन् । उनीसँग निकट हुनेको सबैको आफ्नो आफ्नो अनुभव हुन सक्छ । तर, पासाङको कद उनको फस्टाउँदो व्यवसायका कारण निरन्तर बढिरहेको छ । उनी अगाडी लम्किरहेका छन् ।
२) ह्यारी भण्डारी
अमेरिकामा आउँदा ह्यारी भण्डारी (एचबी भण्डारी) नामको नेपाली राहदानी लिएर उनी अमेरिका छिरेका थिए । नेपालको पर्बतमा जन्मिएका एचबी अमेरिका आएपछि अरु जस्तो नेपाल नेपाल भनेर बसेनन् । यहीको समाजमा कसरी भित्र पस्न सकिन्छ भन्ने उनलाई हुटहुटी थियो । नेपालमा रहँदा विद्यार्थी राजनीतिमा लागेका थिए । अमेरिकामा आएपछि उनी यहीको राजनीतिमा लागे ।
एचबीबाट ह्यारी तर्फको यात्रा सजिलो थिएन ।  तर, निरन्तर लागिपर्दा ह्यारी भण्डारी मेरिल्याण्डको विधान सभामा डेमोक्र्याट पार्टीवाट सांसद उठ्ने हैसियत बनाएका छन् । सन् २०१८ मा मेरिल्याण्ड राज्यमा हुन लागेको विधान सभा सदस्य निर्वाचनमा उनले आफ्नो उम्मेदवारी दावी गर्दै पार्टी भित्र संघर्षरत छन् । पार्टीको प्राइमरीमा जिते भने उनी राज्यको सांसद पनि बन्न सक्छन् । अमेरिकामा अहिलेसम्म कोही पनि नेपालीमुलका व्यक्ति उक्त पदमा पुग्न सकेका छैनन् ।
अमेरिकाको राजनीतिमा प्रवेश गर्न चाहने नेपाली अरु पनि छन् । केही आए र हराए । तर, ह्यारीको यात्रा निरन्तर छ । एक बर्ष अघिको राष्ट्रपति निर्वाचनमा ह्यारी डेमाक्र्याट पार्टीका उम्मेदवार हिलारी क्लिण्टन लाई जिताउन सकृय थिए ।
उनी यस अघि आफुले प्रतिनिधित्व गर्ने ड्मोक्र्याटीक पार्टीको महाधिवेशनमा पनि सहभागी भएका थिए । ह्यारी अमेरिकाको राजनीतिलाई नजिकवाट बुझ्ने र अनुभव गर्ने युवा पनि हुन् । उनको यो निरन्तर सकृयताले पक्कै पनि राम्रो नतिजा आउने छ । उनलाई अहिले नेपाली समुदायको समेत सहयोगको खाँचो पनि छ ।
३) गौरीराज जोशीः
गौरी जोशी सन् २०१७ मा अत्याधिक चर्चा र विवादमा रहे । एनआरएन अमेरिकाको अध्यक्षमा उठ्ने घोषणा गरेर सन् २०१६ मै जोशी चर्चामा आएका थिए । हामीले एक बर्ष अघिपनि उनलाई चर्चामा रहेका नेपालीको सुचीमा राखेका थियौं । यसमा हामी गलत भएनौं सन् २०१७ मा त उनी सवार्धिक चर्चामा आए ।
नियम अनुसार एनआरएन अमेरिकाको उम्मेदवारी दिँदा पनि उम्मेदवारको सूचीमा उनको नाम नपरेपछि जोशी चर्चामा आए । समान्य शैली कारण जोशीलाई धेरेको समर्थन थियो ।
तर, उनी एनआरएन अमेरिकाको अध्यक्षमा उठ्न समेत पाएनन् । समाजिक संजालमा उनको पक्षमा धेरै प्रतिकृयाहरु आए । उनका कारण एनआरएनए केन्द्रिय पदाधिकारी समेत विवादमा आए । क्षेत्रिय संयोजक सोनामा लामा, महासचिव डा. बद्री केसी, तत्कालिन अध्यक्ष शेष घलेले उनको उम्मेदवारीका विषयमा एनआरएन अमेरिकाको निर्वाचन समितिलाई पत्र लेख्दै सुझाव वा अप्रत्यक्ष दवाव समेत दिए ।
उम्मेदवारी कायम नभएपछि जोशी अमेरिकी अदालतसम्म पुगे । तर, यसले एनआरएन अमेरिका झन् अन्यौलको अवस्थामा पुग्ने देखेपछि सहमतीमा मुद्दा फिर्ता लिए र अध्यक्षको उम्मेदवारीवाट पनि नाम फिर्ता लिए । एनआरएनएको विश्व सम्मेलनमा पुन उनले क्षेत्रिय संयोजकमा उम्मेदवारी दिए । त्यसबेला भने उनको उम्मेदवारी पनि कायम भयो र चुनाव पनि जिते । उम्मेदवारी हुने घोषणा देखि क्षेत्रिय संयोजक हुँदासम्म जोशी चर्चामै रहे । 
चिवतन जिल्लाबाट अमेरिका आएका जोशी टेक्ससका व्यवसायी हुन् । आईटी र रियलस्टेट उनको व्यवसाय हो । एनआरएनमा चर्चामा रहेपनि सन् २०१७ मा उनको व्यवसाय विस्तारको क्रम भने रोकिएन । वढिनैरह्यो ।
टेक्ससमा खुद्रा व्यापार र रेस्टुरेन्ट ‘देशीबजार स्टोर’ देखि सूचना प्रविधि कम्पनी अनि नेपालमा जीवन बीमा व्यवसायमा उनले सन् २०१७ मा लगानी विस्तार गरे । जोशी सन् २०१८ मा पनि व्यवसाय विस्तार जारी राख्ने तयारीमा छन् ।
४) हरिबोल भण्डारी
एनआरएन अमेरिका भित्र उम्मेदवारी विवाद पछि अदालतमा मुद्दा परेकाले अन्यौलको अवस्था सृजना भएको थियो । चुनाव रोकिएको थियो । विवाद कहिलेसम्म लम्बिने भन्ने टुंगो थिएन ।
यसको प्रभाव केन्द्रमा जाने प्रतिनिधिसम्म पर्ने अवस्था सृजना भएको थियो । यो अन्यौलको गांठो फुकाउन संयोजनकारीको भुमिका खेलेका थिए हरिबोल भण्डारीले । एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेदवार बन्न नपाएका हुँदा अदालतमा मुद्दा दिएका गौरी जोशी र एनआरएन अमेरिकाका अध्यक्ष तथा पुन उम्मेदवार भएका डा. केशव पौडेलबीच सहमति गराउने हरिबोल सुत्रधार थिए ।
हरिबोलले सुटुक्क दुवैजनालाई सिकागो नजिकको एयरपोर्ट होटल पुर्याए । सहमतिमा पछि समस्या नआओस भनेर एनआरएनएका केन्द्रिय उपाध्यक्ष कुमार पन्तलाई पनि हरिबोलले त्यही बोलाए । नेपाल जान कतार पुगेका कुमार पन्त केही घण्टाका लागि हजारौ माइलको यात्रा तय गर्दै सिकागो आईपुगेका थिए । 
एउटै बसाईमा गौरी जोशीले मुद्दा फिर्ता लिने र चुनावमा डा. पौडेललाई सघाउने सहमती बन्यो । यही सहमतीपछि जोशीले मुद्दा फिर्ता भयो र एनआरएन अमेरिका भित्रको अन्यौल समाप्त भयो ।
नेपालको राजनीतिमा सकृय हरिबोल टेक्ससका व्यवसायी पनि हुन् । नेपाली कांग्रेसका नेतृत्वतहका पदाधिकारीसँग उनको राम्रो पकड छ ।
काठमाडौवाट कांग्रेस महासमिति सदस्य समेत रहेका भण्डारी केही साता अघि भएको निर्वाचनमा प्रतिनिधिसभा सदश्यका लागि काठमाडौ क्षेत्र नं ३ वाट सिफारिसमा परेका थिए । सिफारिसमा पहिलो नम्बरमा परेपनि सहमतीमा अग्रज अम्बिका बस्नेतलाई उनले सघाउने निर्णय गरेका थिए । नेपाली कांग्रेसमा केन्द्रिय सदस्यमा उम्मेदवार समेत बनेका भण्डारी स्थानीय र प्रदेश र केन्द्रको निर्वाचनमा नेपालमै सकृय थिए ।
५) कृष्ण धरावासी
नेपाली साहित्यमा कृष्ण धरावासी सुपरिचित नाम हो । लामो समय झापामा वसेर साहित्य सृजना गर्दै आएका कृष्ण जागिरे जीवनवाट अवकाश लिएपछि पुर्ण रुपमा साहित्यमा सकृय छन् ।
राधा उपन्यासका लागि नेपाली साहित्यको प्रतिष्ठित मदन पुरष्कार विजेता धरावासी केही बर्ष यता अमेरिकामा रहँदै आएका छन् । पत्नी अमेरिकामा रहेकाले उनी यहाँ रहँदै आएका पनि साहित्य सिर्जनाको गतिमा भने कुनै कमी आएको छैन ।
लेखनमा अहिलेपनि उत्तिकै सकृय धरावासीको राधा उपन्यास सन् २०१७ अन्तिम तिर अंग्रेजीमा अनुवाद भई प्रकाशित भएको छ । अंग्रेजीमा आएको राधाले विदेश पाठकलाई कति आकर्षित गर्छ यो भने हेर्न बाँकी छ ।
धरावासीको यसै बर्ष बिना भिसा मेक्सिको हुँदै अमेरिका आउनेको दुखमा आधारित ‘तल्लो बाटो’ उपन्यास प्रकाशित भएको छ । 
धरावासीले तल्लो बाटो किताबमा आफ्नो कुरामा लेख्छन्–‘२०७० वैशाखमा अमेरिकातिर लाग्दा त्यहाँ पुगेर यसो गरुँला भन्ने कुनै योजना थिएन । कुनै साहित्यिक यात्रा वा लेखनका लागि पनि हिंडेको थिइन । एक प्रकार निरुद्देश्य यात्रामा थिएँ म । मेरा पाइतालले अमेरिकी भूमि टेकिसक्ता पनि मलाइ आफ्नो यात्राको लक्ष्य थाहा थिएन । आफूलाई पूर्णकालिन लेखक बनाउन जागिर छाडेको दुई बर्षपछि तय भएको यात्राले ममा खासै उत्साह भरेन । अमेरिका पुग्न पाएकोमा भाग्यमानी ठान्नेहरुबीच म अन्योलको भुमरीमा थिएँ । दुई महिनाजति त सपनामा पुगेझै भयो । विस्तारै आफुलाई पहिलेकै अवस्थामा व्यवस्थित गर्दै गएपछि फेरि लेख्ने बिषयहरुको खोजीमा लागें ।’
६) आनन्द विष्ट
करिव तीन बर्ष यता आनन्द विष्टको परिचय नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षका रुपमा छ । नेपालको सुदूर पश्चिमको डोटीमा जन्मेका बिष्ट सन् २०१७ मा नेपालको दोस्रो ठुलो र पुरानो प्रजातान्त्रिक विचारधारालाई अगाडी वढाएको राजनीतिक दल नेपाली कांग्रेसको बैकल्पिक केन्द्रिय सदस्यमा नियुक्त भएर आफ्नो कद वढाएका छन् ।
नेपाली कांग्रेसलाई समर्थन गर्ने विदेशमा बस्ने नेपालीको संस्था हो जनसम्पर्क समिति । कांग्रेस सस्थापक बीपी कोइरालाले भारतमा यसको स्थापना गरेका थिए । अहिले विश्वका विभिन्न देशमा जनसम्पर्क समिति खुलेका छन् । तर, भारत वाहेक अन्य देशवाट विदेशमा वसेर वैकल्पिक केन्द्रिय सदस्य नियुक्त हुनेमा विष्ट यस पटक भाग्यमानी सावित भएका छन् ।
नेपाली कांग्रेसलाई विदेशमा वसेर सघाउँदै आएको विष्ट यस पटकको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा मत माग्न नेपालमा सकृय थिए । गुटबन्दीले एनआरएन अमेरिकामा उनलाई टाढा राख्न खोजिएको भएपनि उनका विरोधीले गरेको यो प्रयासलाई पार्टी भित्र शक्तिशाली भई आफ्नो प्रभाव देखाउन विष्ट सफल भएका छन् ।
कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभामा हार व्यहोर्नु पर्यो वामपन्थीहरु हावी भएका छन् । यसले पनि संसारकै राजनधानी मानिने न्यूयोर्कमा बस्ने विष्टलाई नेपालमा उदारीकरण र प्रजातान्त्रिक व्यवस्थालाई तलमाथि हुन नदिन खवरदारी गरिरहने जिम्मेवारी अझ थपिएको छ ।
७) निक्की कार्की
क्यालिफोर्नियाकी २० बर्षिय नेपाली किशोरी निक्की कार्की मधुर स्वर भएकी किशोरी यूटुबर तथा गायिका हुन् । उनले पारिश्रमिक लिएर थुप्रै नेपाली कार्यक्रममा प्रस्तुती दिने गरेकी छिन् । युटुयुबमा उनलाई हेर्न सकिन्छ ।
विशेषगरी नेपाली युवा माझ उनी चर्चित छिन् । नर्थ क्यारिलोनामा आयोजना गरिएको नेपाली समुदायको एक कार्यक्रमा उनलाई प्रस्तुती दिन डाक्ने आयोजकले यौन र्दुव्यवहार गरेको सार्वजनिक गरेर निक्की सन् २०१७ मा अमेरिका भित्र चर्चामा आईन ।
आयोजक मध्ये एक जना नेपालीले यौन दुर्व्यबहार गरेको सार्वजनिक गरेर उनले समाजमा देखिने यस्ता प्रवृत्तिलाई चेतावनी पनि दिइन । सजग गराईन । आफुलाई कार्यक्रम आयोजक मध्येका एक सदस्यले कसरी यौन दुव्र्यवहार गरे भन्ने विस्तृत विवरण उनले यूटुयूवमा पनि राखेकी थिईन । कार्यक्रमकै क्रममा अति भएपछि उनले आफुमाथि भएको दुर्व्यबहार सार्वजनिक गरेकी थिईन । यो प्रकरण प्रहरीमा पनि पुगेको थियो । एउटी किशोरीले यसरी सार्वजनिक रुपमा यौन दुर्व्यबहार गरेको सार्वजनिक गर्नु आफैंमा सानो साहस होइन । यसले अन्यलाई पनि आत्मवल प्रदान गर्न मद्दत गर्छ ।
अमेरिकामा केही महिना यता लगातार यौन दुव्यवर्हार भएका घटना सार्वजनिक भईरहेका छन् । राजनीतिज्ञ, पत्रकार, कलाकार माथि आरोप लाग्ने क्रम वढ्दो छ । यस बर्षको टाइम म्यागेजिनले पनि यसरी यौन दुव्यवर्हारका वारेमा खुलेर आउने महिलालाई बर्ष व्यक्ति चयन गरेको थियो । आफु माथि भएको दुव्र्यवहारको खुलेर विरोध गरेकी निक्की प्रतिनिधि पात्र हुन । उनको यो व्यवहारले समाज सुधार्न मद्दत पुग्ने हाम्रो विश्वास छ ।
८) मोहन ज्ञवाली
नेपालको अर्घाखाँची जिल्लामा जन्मेका मोहन ज्ञवाली व्यवसायी हुन । तर उनको परिचय यतिमा मात्र सिमित छैन । सन् १९९६ देखि न्यूयोर्कमा बस्दै आएका मोहन रिजउड नेपाली समाज र अमेरिका नेपाल चेम्बर अफ कमर्शका संस्थापक अध्यक्ष पनि हुन् । उनी नेपालीहरुले अगाडी बढाएको एभरेष्ट फेडेरल क्रेडिट युनियनमा पनि संलग्न छन् । उनी रियलस्टेटदेखि लिएर सैलुनमा समेत संलग्न छन् ।
तर, सन् २०१७ मा संसारकै राजधानी मानिने न्यूयोर्क शहरको क्वीन्स बोरो कम्युनिटी बोर्डमा नियुक्त भएर उनले नयाँ परिचय पनि थप गरे ।
गत अप्रिलमा दुई बर्षका लागि उनी उक्त कम्युनिटी बोर्ड ५ मा नियुक्त भएका हुन् । यो नियुक्तसँगै ज्ञवाली स्थानिय समाजिक कार्यमा सकृय छन् । नेपालीले पाएको टीपीएसको समय थप गर्न हालै मात्र उनको अगुवाईमा लविगं पनि भएको थियो ।
स्थानीयतहका राजनीतिमा पहिचान वढाउँदै गरेको ज्ञवाली नेपाली समुदायले गर्दै आएका विभिन्न कार्यमा पनि सकृय हुँदै आएका छन् । उक्त पदमा नियुक्ती भए लगत्तै ज्ञवालीले नेपालीहरुको बसाई रहेको यस क्षेत्रमा आफुले सक्दो रुपमा सबैलाइ हित हुने कार्यमा आफुलाई तल्लिन बनाउने बताएका थिए । उनको सकृयताले नेपाली समुदायलाई आउने दिनमा पनि अझ लाभ मिल्ने छ भन्नेमा आशावादी हुन सकिन्छ ।
९) बन्दिता दाहाल
पेशाले बन्दिता दाहाल कानुन व्यवसायी (वकिल) हुन । उनी आफ्नो पेशा भन्दा पनि एनआरएन अमेरिकाको निर्वाचन समिति संयोजक भएका कारण सन् २०१७ मा चर्चामा रहिन । सक्कली र नक्कली सदस्यता, उम्मेदवार हुन पाउने योग्यता जस्ता विषयमा एनआरएन अमेरिका गत निर्वाचनमा निकै विवादित र विभाजित थियो । यस्तो अवस्थामा सवैलाई स्विकार्य हुने निर्वाचन गराउनु सजिलो थिएन ।
एनआरएन अमेरिकाको यस अघिको निर्वाचन पनि विवादमा परेको थियो । अध्यक्षमा हार्ने पक्ष निर्वाचनको नतिजा विरुद्ध अदालत गएको थियो । यो मुद्दा अहिलेसम्म पनि फैसला भएको छैन । यस्तो अवस्थामा एनआरएन अमेरिकाको अनलाइन भोटिंग प्रणालीवाट मतदान गराउनु सजिलो काम थिएन । यस माथि निर्वाचनमा अध्यक्षमा को उम्मेदवार वन्न पाउने नपाउने वारे केन्द्रिय अध्यक्ष शेष घले, महासचिव डा बद्री केसी, तत्कालिन क्षेत्रिय संयोजक सोनामा लामाको पत्रले उनलाई निर्णय गर्न कठिन बनाएको थियो । उनले केन्द्रिय अध्यक्ष शेष घलेलाई समेत सम्वोधन गर्दै पत्राचार गर्नु पर्ने अवस्था आयो ।
समयमा नत निर्वाचन तालिका आयो र पहिले तोकिएको समयमै निर्वाचन हुन सक्यो । निर्वाचन समितिको काममा पनि धेरै त्रुटीहरु देखिएका थिए । कतिको उम्मेदवारी सुचीवाटै नाम छुटेको थियो । बन्दिता लगायत निर्वाचन समितिलाई सवैभन्दा ठुलो झट्का निर्वाचन सकिए लगत्तै असवाधानीवश नतिजा वाहिर आउनुले लाग्यो । अनलाइन भोटिंगमा समान्यकुराको हेक्का नराख्दा निर्वाचन समिति विवादको विषय वन्यो । तर, पनि निर्वाचन भयो उनले जित्नेलाई प्रमाणपत्र दिईन । धाँधली भएको आरोप लागेपनि  दुइ बर्ष अघि जस्तो यो निर्वाचन नतिजालाई चुनौती दिदैं कोही पनि अदालत भने गएनन् ।
१०) भक्त थापा
झण्डै एक दशक अघि अमेरिकाको लसएञ्जलसमा हिन्दु मन्दिर श्रीपशुपतिनाथ मन्दिर बनाउन केही नेपाली समुदायले सकृयता देखाएका थिए । एउटा कार्यक्रमबाट बाँकी रहेको केही सय डलर के गर्ने भन्ने प्रश्न उठेपछि लसएन्जल्समा पशुपतिनाथ तथा बौध्द मन्दिर बनाउने योजना शुरु भएको थियो । सन् २००९ को डिसेम्बरमा यो योजनालाई अगाडी बढाउन  संस्थापक अध्यक्ष भक्त थापाको अध्यक्षतामा कार्यसमिति गठन भयो । 
भक्त थापा संखुवासभामा जन्मेर, हुर्केर प्रवासमा यो सामाजिक संरचनामा आउनु सामान्य कुरा हैन । फ़ाउन्डेशनमा अहिलेसम्म निरन्तर रुपमा उनि नै अध्यक्ष रहेका  छन् ।
केही सय डलरबाट थालनी भएको यो पशुपति र बुध्द मन्दिर बनाउने अभियानमा अहिलेसम्म झण्डै १४ लाख अमेरिकी डलर संकलन भएको छ । ६६५ दाताले यो अभियानलाई १४ लाख ५४  हजार डलर सहयोग दिने घोषणा गरेका थिए । यस मध्ये ११ लाख ३७ हजार उठिसकेको र क्रमिक रुपमा उठ्ने क्रम जारी छ ।
अहिले संस्थाले आफ्नै जग्गा र भवनमा नेपालीपन झल्काउने मन्दिर बनाई मुर्ति समेत प्रतिस्थापन गरिसकेको छ । केही दिनमा औपचारिक रुपमा यसको भव्य रुपमा उद्घाटन हुने कार्यक्रम छ ।
सन् २०१८ सम्म आउँदा यो अभियानले एउटा चक्र पुरा गरेको देखिन्छ । यसको श्रेय अध्यक्षका रुपमा थापालाई पनि जान्छ । उक्त अभियानमा सहयोग गर्ने थुप्रै  सामाजिक अभियान्तहरु छन् । एनआरएन केन्द्रिय अध्यक्ष भवन भट्ट, पुर्व अध्यक्षहरु लगायत धेरै नेपालीले यो अभियानलाई सहयोग पुर्याए र विशेषगरि लसएन्जल्स अवस्थित नेपालीहरुले यो अभियानमा ठुलो योगदान दिएका छन् ।
परदेशमा रहँदा पनि नेपाली संस्कार र परम्परालार्ई लिएर हिड्ने यो एउटा अभियान थियो । जुन सफल पनि भयो । श्री पशुपति फाउण्डेसन बाहेक थापा नेपालीको वसोवास रहेको आर्टिसिया नगरको योजना विभागमा विगत दुई बर्ष देखी प्लानिंग कमिश्नर को रुपमा कार्यरत छन् ।