मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

‘राज्जा रानी’ टिमले केक काटेर खुशी बाँडे

‘राज्जा रानी’ टिमले केक काटेर खुशी बाँडे


चितवन । चलचित्र ‘राज्जा रानी’ र बालविवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियान नेपालको टिमले शुक्रबार नारायणगढमा केक काटेर खुशी बाँडेका छन् । 
 
यही पुस २१ गतेदेखि देशभरका हलहरूबाट एकैसाथ प्रदर्शन हुन लागेकोे चलचित्रको प्रचारप्रसारमा आएका कलाकारद्वय केकी अधिकारी र नाजिर हुसैनलगायतको टिमलाई प्रशंसकहरुले केक काटेर स्वागत गरेका हुन् । 
 
केकी र नाजिरको साथमा दाइजो उन्मुलनका को–अडिनेटर राजकुमार महतो, गायक नरहरि प्रेमी, गायिकाहरू सुमिना लो, अञ्जु यादवलगायत चितवन आएका थिए । 
 
तराईको मधेसी समुदायमा जारी दाइजो (दहेज) प्रथाको विषयमा चलचित्र निर्माण भएकोले अभियानसँग मिलेर प्रचारप्रसारमा लागेको निर्माण पक्षले जनाएको छ । चलचित्रको टोलीसँग सहकार्य गरेर अभियान चलाउँदा बढी प्रभावकारी हुने भएकोले सँगै अभियानमा हिँडेको अभियानका को–अर्डिनेटर राजकुमार महतोले बताए । 
 
चलचित्र सामाजिक कथावस्तुमा बनेकोले दाइजो र बालविवाहविरूद्ध अभियानसँग सहकार्य गरी  प्रचारप्रसारमा जुट्न सजिलो भएको उनले बताए । 
 
शुक्रबार चितवनमा भेटिएकी नायिका केकीले चितवनलाई दोस्रो घरजस्तै लाग्ने बताउँदै राजधानी पछि चितवनबाट धेरै दर्शकहरूको माया पाउँदै आएको अनुभूति सुनाइन् । 
 
उनले भनिन्, “हामी चलचित्रकर्मीको लागि चितवन दोस्रो घर हो ।” बिराटनगरबाट चलचित्रको प्रचार गर्न निस्केको टोली, जनकपुर, सर्लाही, हेटौँडा हुँदै चितवन आइपुगेको हो । 
 
चलचित्र ‘राज्जा रानी’मा नाजिर हुसैन ‘राज्जा’ र केकी अधिकारी ‘रानी’ अर्थात् प्रेमजोडीको भूमिकामा देखिँदैछन् । केकीले अहिलेसम्मकै फरक भूमिकामा काम गरेको बताएकी छन् । 
 
“सुरूमा मलाई एकदमै डर लागेको थियो,” उनले भनिन्, “एकजना मैथिली समुदायको नारीको भूमिका निभाउनुपर्ने थियो । तर, सबै काम सकिएपछि आफैँलाई राम्रो लाग्यो । अब म ढुक्क छु दर्शकहरूले पक्कै पनि माया गरिदिनु हुनेछ ।” 
 
मिथिला क्षेत्रमा नारीले भोग्नुपरेको पीडालाई चलचित्रमा देखाइएको छ । “मैले भोगेको पीडा त केवल क्षणिक हुन् । त्यहाँका महिलाहरूको असह्य पीडालाई चलचित्रमा समेटिएको छ ।” 
 
नाजिर हुसैनले पनि ‘राज्जा रानी’मा काम गर्दा फरक अनुभव संगालेको बताए । चलचित्रको सुटिङमा पनि धेरै नै रमाइलो भएको अनुभव उनले बाँडे । चलचित्रले मनोरञ्जनको साथसाथै नेपाली समुदायको वास्तविक घटना बोकेको दाबी उनको थियो ।