जानी राखे राम्रो

भैरव अर्यालले ध्यार् ध्यार् कविता च्यातिदिए पछि ...

प्रकाशित |
(यो कथा होइन - दुःख बाँड्दा घट्छ । सुख बाँड्दा बढ्छ । हामी मानिस मन शान्तिकोलागि प्रयत्नरत छौँ । गुम्सिनु दुःख हो, पीडा हो ।  प्रस्फुटन प्राप्ति र आनन्द । कुनै त्यस्ता घटना छन् जुन तपाईँ भित्र उकुसमुकुस भएर बसेका छन् । तपाईँको स्मरणमा बारम्बार आउने गर्छन् । रूवाउँछन्, हसाउँछन्,  अचम्भित पार्दछन् । वा त्यस्तो घटना जसले तपाइको वा कसैको जीवन बदलेको छ । कसैको मन छुन सक्छ ।  कसैलाई मार्ग निर्देश गर्छ । हो यस्ता शतप्रतिशत सत्य घटनालाई हामीले ससम्मान प्रकाशित गर्ने जमर्को गरेका छौँ । आफ्ना मूल्यवान ती पलहरू बाँड्न तपाँईको अन्तरआत्मा सहमत हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् ) 
 
पछिल्लो पटक नेपाल जाँदा उहाँलाई भेट्ने अवसर जुरेको थियो ।  सामाजिक सञ्जाल  फेसबुक मार्फत व्यक्त गरेँ  फोटो सहित यो खुशी - " गजल सम्राट ज्ञानुवाकर दाईसँग । "  
 
तुरुन्तै मेसेंजरमा प्रतिक्रिया आयो - " बहिनी, कृपया  सम्राट भन्ने हटाईदिनु होला । "
 
उहाँ नै हो ज्ञानुवाकर पौडेल  सरल र सादगीका पूरक । जो नेपाली गजल आकाशमा सम्राट भनेर चिनिए पनि उहाँ आफूलाई भने गजलको माली मात्र भन्न रुचाउनु हुन्छ । 
ज्ञानुवाकर पौडेल 
 
मुटु रोगको उपचारबाट केही समय अस्पतालको बसाइपछि आफ्नो घरमा आराम गर्दै हुनुहुन्थ्यो उहाँ ।  गौशाला, काठमाण्डौमा श्रीमती मुक्तककार त्रिपुरा पौडेलसँग बस्दै आउनु भएका ज्ञानुवाकरका छोरा प्रतीक पौडेल र छोरी भने अस्ट्रेलियामा बस्नुहुँदो रहेछ । भेट्नेहरूको ओइरो थियो । मैले डराउँदै समय मागे, उहाँले सजिलै समय मिलाउनु भयो ।  
 
यति सरल मान्छेको जीवन कहानी भने उतार चढाव र बाङ्गोटिङ्गो रहेछ । बि सं २००४ साल काठमाण्डौमा जन्मिनु भए पनि उहाँको वाल्यकाल र किशोर अवस्था कैलालीमा बितेको थियो। नौ वर्षको उमेरमा मात्र बल्ल उहाँको बोली फुटेको थियो। " देरशे आए पर दुरुस्त आए ....."भन्ने हिन्दी उखान जस्तै आज उहाँको आवाजमा गजल सुन्न हामी जस्ता फ्यान लालायित छौँ । 
 
२३ वर्षको उमेर (२०२७ साल) मा स्कुल भर्ना भएर २०३१ सालमा एसएलसी पास गर्नुभयो ज्ञानुवाकरले । अनि २०३७ सालमा त्रिचन्द्र कलेजबाट ग्रेजुएशन । एसएलसी पास नहुदै सेनामा भर्ना हुनुभयो । भित्रैदेखि साहित्यको अनुराग उर्ली रहेको कवि ह्रदयलाई  सेनाको कडा अनुशासन,  नियम र कानुन के मन पर्थ्यो ! छोडेर सोल्टी होटलमा काम गर्न थाल्नु भयो ।
 
सोल्टी होटेलबाट श्रीपदि लिमिटेड ( नेपालकोलागि भारतीय टाटा कम्पनीले तोकेको एक मात्र आधिकारिक डिलर ) मा सरुवा हुनुभयो । श्रीपदि लिमिटेडको प्रतिनिधि भएर कलकत्तामा काम गर्दै गर्दा रेडियो नेपालको कार्यकारी निर्देशक जैनेन्द्र जीवनले उहाँलाई काठमाडौँ झिकाउनु भयो । त्यसपछि रेडियो नेपालमा हिन्दी समाचार सम्पादक र पछि  प्रमुख कार्यक्रम व्यबस्थापक भएर काम गर्न थाल्नुभयो ज्ञानुवाकर । वास्तवमा यो अवसर नै उहाँको साहित्यिक यात्राको कोशे ढुङ्गा हो भन्दा फरक नपर्ला । 
 
त्यसपछि साझा प्रकाशन गरिमाको सम्पादक , कृषि विकास बैंकको साहित्यिक पाटो उहाँकै जिम्मामा हुँदा भ्याई नभ्याई भयो कामको । यसबाट उहाँको साहित्य यात्रा झन फराकिलो हुँदै गयो । त्यसपछि ज्ञानुवाकर पौडेलको काव्यिक यात्रा आजसम्म थामिएको छैन  ।  
 
अहिलेसम्म उहाँको कृतिहरुमा खण्डहर नयाँ नयाँ - गजल संग्रह, जिन्दगी छैन अचेल जिन्दगी जस्तो - गजल संग्रह,  अवतार विघटन - उपन्यास र निर्वासित - मुक्तक संग्रह छन् ।  गजलको समालोचना, मुक्तक संग्रह र निवन्ध संग्रह प्रकाशोन्मुख छन् । 
 
पुरस्कार र सम्मान :
भारतको इलाहाबाद स्थित हिन्दुस्तान एकेडेमीमा आयोजित सार्क स्तरीय गजल महोत्सवको उद्घाटन गर्दै - ज्ञानुवाकर पौडेल
 
प्रेस काउन्सील  पुरस्कार - २०५९
पर्यटनतथा  सँस्कृति मन्त्रालयबाट राष्ट्रिय  प्रतिभा  पुरस्कार - २०५८
नेपाल साँस्कृतिक संघबाट सम्मान - २०६८
साझा गरिमा सम्मान - २०५९ लगायत चार दर्जन भन्दा बढी मान सम्मान उहाँले प्राप्त गर्नु भएको छ ।
 
भारत, रुस र नेपालबाट विभिन्न सम्मान र पुरस्कारहरुबाट सम्मानित पौडेलको बैठक कोठाका भित्ता र सिसाका दराजहरु पुरै पुरस्कार र सम्मान -पत्रले भरिएको थियो । राखेर राखी नसक्नुका, त्यति धेरै !
 
"लेखनमा खुब संघर्ष गर्नु पर्‍यो, त्यो फल पाइराखेको छु ।"
गजल लेखेरै  बाँच्न, खान पुगेको सन्तोष व्यक्त गर्नुभयो उहाँले ।  मनमनै प्रशंसा गरेँ - " संतोषी सदा सुखी " 
 
उहाँको सरल तर गहिरो भावार्थ मुक्तक र गजलको म फ्यान हुँ । झन उहाँको मिलनसार व्यवहारले म जस्तो सामान्य लेखकलाई प्रभावित कसरी नपार्ला र ! 
 
साहित्यकार स्वर्गीय जगदीश घिमिरेले ज्ञानुवाकरलाई "विशिष्ट अन्दाजे - बयाँ " का गजलकार भन्नुभएको छ । 
 
घिमिरेले ज्ञानुवाकरको "जिन्दगी छैन अचेल जिन्दगी जस्तो " गजल संग्रहको भूमिकामा लेख्नुभएको छ - "ज्ञानुवाकरका गजल आफै बोल्छन् । छोटा मिठा र कथ्यमा जीवनको यथार्थता छ । उनको गजल वाचनमा आफ्नै आकर्षण छ । यी सबै गुणहरूले गर्दा लगभग लोप भएको नेपाली गजललाई उनले पुनर्जीवन मात्र दिएनन, नेपाली साहित्यको सर्वाधिक लोकप्रिय विधा बनाउन सफल भए ।"
 
नेपाली साहित्यिक आकाशका यी उज्ज्वल ताराको जीवनमा पनि एउटा त्यस्तो घटना रहेछ जुन उहाँ कहिल्यै  बिर्सन सक्नुहुन्न । उहाँकै शैलीमा जस्ताको त्यस्तै -
 
२०२५ सालमा मधुपर्कको पहिलो अंक प्रकाशित भएको थियो । अहिले जस्तो मिडिया छ्यापछ्यप्ति थिएन त्यो बखत ।  गोरखापत्रमा आफ्नो रचना छापियो भने चिट्ठा परे जत्तिकै हुन्थ्यो । त्यतिखेर मधुपर्कको सम्पादक भैरव अर्याल हुनुहुन्थ्यो । कति मिहेनत गरेर लेखेर दियो आफ्नै अगाडि ध्यार् ध्यार् च्यातिदिने ! क्रमश आठ, नौवटा कविता च्याति दिनुभयो । अति भएपछि सारै दुख लाग्यो ।
 
साहित्यकार हुन अपमानको जहर पिउनु पर्ने रहेछ ! यो कुराको ईख मनमा गहिरोसँग बस्यो । उहाँपछि नारायण बहादुर  सिंह सम्पादक हुनुभयो । मैले त्यसैगरी नारायण बहादुर सिंहलाई पनि मुक्तक र गजलहरु लगेर दिएँ। त्यसपछि लगातार गोरखापत्र र मधुपर्कमा मेरो गजल र मुक्तकहरु छापियो । पछि कवि गोष्ठीमा भैरव अर्यालसँग भेट भएको थियो । "  राम्रो छ " -भन्नुहुन्थ्यो मेरो कविता। २०३३ सालमा गोकर्णको बाँधबाट हाम फालेर जीवन समाप्त गर्नुभयो उहाँले । 
 
एशियामै साहित्यकारकोरुपमा सम्मानजनक छवि बनाउन सक्षम पौडेल गजलकारहरूको सार्क महत्सवमा प्रमुख अतिथि हुनुहुन्थ्यो । 
 
धिरेन्द्र शुक्ल, यत्राम इस्लाम, फर्मूद इलाहवादी, सौरव पाण्डेय र आलोक भट्ट  उहाँका समकक्षी गजलकार हुन् ।
 
पुरस्कार, मान, सम्मान धेरै पाएकोमा उहाँ सगौरव भन्नुहुन्छ - "जहाँ जाउँ सबै खुशी हुन्छन् । मलाई कोहीसँग केही गुनासो छैन, न भाग्यसँग नै छ । म आफूलाई भाग्यमानी समझन्छु।"
 
ज्ञानुवाकर दाइले यति भनी रहदा अचम्म लाग्यो ।  केही दुख पिर नहुने पनि मान्छे पनि हुने रहेछन् त !  कि साहित्यकारहरु यस्तै हुन्छन् ? आश्चर्य मान्दै फेरि जिज्ञासा राखे -
 
"जिन्दगीमा त्यस्तो कुनै दुःख पिर कहिल्यै परेन त ?" 
 
"म छ वर्षको हुँदा आमा बित्नु भयो । सानै उमेरमा मातृ वात्सल्य गुमाएँ । अर्को म बसेको यो घर दाइले बनाउनु भएको हो । दुई रोपनी, नौ आना जग्गा सरकारले बाटोकोलागि अतिक्रमण गर्‍यो तर मुअब्जा केही दिएन । यो पनि एउटा पीडा बनेको छ ।" 
 
यो संसारमा पीडा विहीन मानिस साँच्चै नभेटिने रहेछ, संतोषी मानिने ज्ञानुवाकरको पीडा सुनेपछि मलाई यस्तै लाग्यो । 
 
अझै उहाँका नयाँ नयाँ सिर्जनाहरुले नेपाली साहित्य  सुसज्जित रहोस, शुभकामना ।
 
अन्त्यमा, आउनुहोस् नेपाली गजल विधाका उत्कृष्ट कवि ज्ञानुवाकर पौडेलको यो गजल पढेर आफ्ना दुख पीडा केही कम गरौँ - 
 
गाउँजस्तो कहिल्यै शहर हुन्न
जिन्दगीको यहाँ अहँ भर हुन्न
 
के खोज्दैछौ आँखामा त्यस्तरी ?
कलूषित के मेरो नजर हुन्न
 
काम लाग्दैन तब औषधी कुनै
साथ तिम्रो यदि हर प्रहर हुन्न
 
रोक त्यो आँशु बग्न नदेउ 
जिन्दगी बन्न दिनु बगर हुन्न
 
अजम्बरी को छ र यहाँ भन ,
हताहत यहाँ कसको नजर हुन्न !!
गजल संग्रह
 
bitubaral@yahoo.com / himalayankhabar@gmail.com
 
हिमालयखबर डट कमको विश्वसनीय समाचार, तथ्यपूर्ण विश्लेषण, सन्तुलित विचार अनि व्यवसायीक पत्रकारिता लागि अफिसियल फेसबुक , यूटुब र ट्वीटर मार्फत जोडिनुहोस् ।
 
हिमालयखबर

हिमालयखबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया