मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

विश्व एड्स दिवस : एड्सबाट चितवनमा १३६ जनाको मृत्यु

विश्व एड्स दिवस : एड्सबाट चितवनमा १३६ जनाको मृत्यु


नारायणगढ– आज शुक्रबार अर्थात् १ डिसेम्बर २०१७, ३०औँ विश्व एड्स दिवस । नेपालसहित विश्वभर आजको दिन अर्थात् डिसेम्बर १ तारिखलाई विश्व एड्स् दिवसको रूपमा मनाइँदै आइरहेको छ । 
 
एचआईभीसँग जीवन बिताउनेहरूको लागि समर्थन देखाउने र एड्ससम्बन्धी रोगबाट मृत्यु भएकाहरूलाई स्मरण गर्ने उद्देश्यले सन् १९८८ देखि एड्स दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो । यो वर्षको विश्व एड्स दिवसको नारा भने ‘राइट टु हेल्थ, किप द प्रमिस’ कायम गरिएको छ ।
 
चितवनमा पनि विभिन्न कार्यक्रम आयोजना गरेर यो दिवस मनाइँदै छ । जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर अस्पताल एआरटी शाखाले संयुक्तरूपमा यो दिवस मनाउन लागेका हुन् । आउँदो सोमबारसम्म विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको भरतपुर अस्पताल एआरटी शाखा प्रमुख डा उन्नत श्रेष्ठले जानकारी दिए ।
 
 
विश्वमा बर्सेनि एचआईभी संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो समय मानिसहरू रोगबारे खुल्दै आएकोले पनि संक्रमितहरूको संख्या बढी देखिएको चिकित्सकहरूको भनाइ छ ।
 
सन् २००७ देखि २०१७ को नोभेम्बर महिनासम्मको तथ्यांक हेर्दा ३२ हजार ७३५ जना एचआईभी संक्रमित रहेको अनुमान गरिएको छ । हालसम्म १८ हजार १३० जनामा एचआईभी संक्रमण भएको पुष्टि भएको छ । संक्रमितहरू मध्ये १३ हजार ६९ जनाले मात्रै नियमित औषधि सेवन गरिरहेका छन् ।
 
दश वर्षमा १३६ जनाको मृत्यु 
 
चितवनमा भने भरतपुर अस्पताल एआरटी (एन्टी रेक्ट्रो भाइरल थेरापी) शाखाले दिएको जानकारी अनुसार सन् २००७ देखि २०१७ को नोभेम्बर महिनासम्ममा एक हजार चार सय ९१ जनाले सेवा लिएका छन् । जसमा ७८४ जना पुरूष, ५८४ महिला र १२३ जना बालबालिका रहेका छन् । सो अवधिमा १३६ जनाको भने मृत्यु भइसकेको भरतपुर अस्पताल एआरटी शाखाले जनाएको छ । 
 
सन् २०१७ को ९ महिनाको तथ्यांक हेर्दा भने भरतपुर अस्पतालको एआरटी शाखाबाट १४ हजार ३०० जनाले एचआईभी परीक्षण र एक हजार १५० जनाले समुदायमा आधारित एचआईभी परीक्षण गरी कूल १५ हजार ४५० जनाले एचआईभी परीक्षण गरेका छन् ।
 
यो ९ महिनाको परीक्षणको आधारमा भरतपुर अस्पतालमा ७३ र समुदायमा १० जना गरी कूल ८३ जनामा एचआईभीको संक्रमण पुष्टि भएको भरतपुर अस्पताल हेल्थ केयर फाउण्डेशन नेपाल (एएचएफ) चितवनका संयोजक कृष्ण सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार यो ९ महिनाको समायावधिमा ११ जनामा भने क्षयरोग र एचआईभी दुवैको संक्रमण भएको पाइएको छ । 
 
सन् २०१७ देखि २०१७ को नोभेम्बर महिनासम्मको तथ्यांकअनुसार ३३६ जना पुरूष, ३६३ जना महिला र ६५ जना बालबालिका गरी कूल ७६४ जनाले भने एआरभी औषधि सेवन गरिरहेको उनले बताए ।
 
सन् २०१७ को नोभेम्बरसम्म ९ महिनाको अवस्था हेर्ने हो भने ८ जना औषधि सेवन गर्नको लागि तयारी अवस्थामा रहेका, ४ जना सम्पर्कमै नरहेका, ११ पुरूष र ६ महिला गरी १७ जना मृत्यु भएका, ७६९ जनालाई भाइरल लोड जाँच गराएका र ५३९ जनाको सीडीफोर जाँच गराएका छन् ।