मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

क्यान्सरको चाँडै उपचार गरिए निको हुन्छ : मनिषा कोइराला

क्यान्सरको चाँडै उपचार गरिए निको हुन्छ : मनिषा कोइराला


चितवन– क्यान्सरलाई नै जितेर पुनर्जीवन पाएकी नेपाली चेली एवम् बलिउड अभिनेत्री मनिषा कोइरालाले क्यान्सर भए÷नभएको चाँडो पत्ता लगाएर उपचार चाँडै सुरू गरे क्यान्सर निको हुने बताएकी छन् । 
 
‘सार्क फेडेरेशन अफ अंकोलोजिष्ट नेपाल’ नामक क्यान्सर उपचारमा संलग्न चिकित्सकहरुको संस्थाले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि कोइरालाले आफू क्यान्सरमुक्त हुँदाको अनुभव सुनाएकी थिइन् । 
 
उनले भावुक हुँदै भनिन्– ‘क्यान्सर उपचारमा संलग्न तपाईं चिकित्सकहरु भगवान् नै हुनुहुन्छ, जसले मलाई दोस्रो जीवन दिनुभयो ।’ 
 
यस्तो उपचारको सुविधा पाउनेहरु नेपालजस्तो देशमा अत्यन्त कम हुने भएकोमा उनले चिन्ता प्रकट गर्दै यस्तो अवस्था कसरी हटाउने भन्ने विषयमा सबैले सोच विचार गर्न आग्रह गरिन् । 
 
आर्थिक समस्यामा भएकाहरुले क्यान्सरको उपचार गर्न नसक्ने विडम्बनापूर्ण अवस्था आउन नहुने उनको भनाइ थियो ।
 
सन् २००१ मा स्थापना भएको फेडेरेशनले यसअघि तीनवटा सम्मेलन काठमाडौँमा गरेको थियो । यो चौथो सम्मेलन पहिलोपटक उपत्यकाबाहिर भरतपुरमा आयोजना गरेको आयोजक समितिका संयोजक डा भोलाप्रसाद रौनियारले बताए । 
 
स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीले विशेषज्ञहरुले ल्याउने निचोडहरुबाट सरकारलाई नीति–नियम बनाउन सहयोग पुग्ने बताइन् ।
 
‘अहिले क्यान्सरजस्ता नसर्ने रोगको प्रकोप बढ्दो छ । यी रोगको तीव्र फैलावट कम गर्न विद्यालय तहमा नै शिक्षा दिन आवश्यक छ । सुर्तीसेवनजस्ता कुलतहरुलाई नियन्त्रण गर्न विद्यार्थीलाई सजग गराउनुपर्ने छ । सरकारको ध्याउन्न यसैमा छ’ सचिव रेग्मीले भनिन् । 
 
सीमित स्रोतसाधन भएका नेपालजस्तो देशमा क्यान्सरको प्रभावकारी उपचारका सम्बन्धमा के गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनमा छलफल भएको आयोजक समितिका सचिव डा उमेश नेपालले जानकारी दिए ।
 
सम्मेलनमा नेपालसहित छिमेकी देश भारत, चीन, बंगलादेश, श्रीलंकाका साथै सिंगापुर, क्यानडा, टर्की र अमेरिकाका तीन सयजना क्यान्सर विशेषज्ञहरु सहभागी थिए ।