मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

बर्दिवास क्षेत्रमा डेँगुको त्रास, चारसय जना प्रभावित

बर्दिवास क्षेत्रमा डेँगुको त्रास, चारसय जना प्रभावित


बर्दिवास– महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रमा डेँगुको त्रास फैलिएकोे छ ।
 
गत असोजको तेस्रो सातामा पाँच जनामा डेँगु देखिएयता दिनहुँ डेँगुका रोगी बढ्दै गएका छन् । बर्दिबासका शुभ स्वस्तिक हस्पिटल, जनसेवा हस्पिटल र बर्दिवास अस्पतालमा अहिले डेँगु संक्रमित उपचार लिन र डेँगुको शंका भएकाहरु रगत जाँच गराउन आएका छन् ।
 
अहिलेसम्म बर्दिबास क्षेत्रका ३८०, महोत्तरीकै गौशाला नगर क्षेत्रका दुई र बर्दिबासमा विभिन्न काम प्रयोजनले आएका धनुषा र सर्लाहीका १८ जनासहित ४०० जना डेँगु प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले पुष्टि गरेको छ ।    
दिनहुँ डेँगु रोगी बढ्दै गए पनि विषादी छरेर प्रकोप फैलाउने लामखुट्टे नियन्त्रणमा स्वास्थ्य संस्था र बर्दिवास नगरपालिकाले ध्यान नदिएको सर्वसाधारणको गुनासो छ । चिकित्सक र स्वास्थ्यकर्मीले भने डेँगु फैलाउने एडिस जातको लामखुट्टे विषादी छरेरभन्दा यसले फुल पार्ने ठाउँको खोजी गरी नष्ट गर्ने अभियान नै प्रभावकारी हुने बताउँदै आएका छन् । 
 
घर वरपर सरसफाइ र पानी जम्न नदिएमा लामखुट्टेले फुल पार्ने ठाउँ नपाएपछि डेँगु नियन्त्रण हुने बर्दिवास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारीको भनाइ छ ।  विषादीले वयष्क लामखुट्टे मरे पनि उसका फुल, लार्भा र पिपा नियन्त्रण गर्न ‘सर्च एण्ड डिष्ट्रोय’ (खोजी र नष्ट) अभियानलाई निरन्तरता दिनुपर्ने डा अधिकारीले बताए ।
 
पछिल्ला तीन दिनयता बर्दिवास अस्पताल, बर्दिवास नगरपालिका, इलाका प्रहरी कार्यालय बर्दिबास र सामाजिक संघसंस्थाले संयुक्त रुपमा ‘सर्च एण्ड डिष्ट्रोय’ अभियान सञ्चालन गरेका छन् । अभियानमा सडक पेटीमा थुपारेर राखिएका टायरमा लामखुट्टेका असंख्य लार्भा फेला परेको डा अधिकारीले जानकारी दिए । 
 
लार्भा नष्ट गरिएपछि वयष्क लामखुट्टेको आयु एक महिनाभन्दा बढी नहुने भएकाले डेँगु नियन्त्रण हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस