मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नवलपरासीमा ऐतिहासिक अमरापुरी महोत्सव सुरू

नवलपरासीमा ऐतिहासिक अमरापुरी महोत्सव सुरू


–हिमालय खबर संवाददाता
गैँडाकोट – ‘युवाहरूको आह्वान् आगन्तुक पर्यटकलाई सम्मान’ भन्ने मुल नाराका साथ ऐतिहासिक अमरापुरी महोत्सव मंगलबारबाट सुरू भएको छ । 
 
असोज ३ गतेदेखि १२ गतेसम्म हुने महोत्सव लक्ष्मी उच्च माविको प्राङ्गढमा आयोजना गरिएको हो । अमरापुरी १६ नम्बर चोक शिवालय मन्दिरबाट बिहान १० बजे महोत्सवको शोभायात्रा निकालिएको थियो । 
 
सयभन्दा बढी संघसंस्थाको सहभागिता रहेको शोभायात्रामा हजारौँ स्थानीयको उपस्थिति रहेको थियो । स्थानीय रेन्बो युथ क्लबको आयोजनामा महोत्सव सुरू भएको हो । लक्ष्मी उच्च माविको प्राङ्गणमा सुरू भएको महोत्सवको सिंचाइमन्त्री सञ्जयकुमार गौतमले समुद्घाटन गरे । 
 
नेपालीहरुको महान चाड बडादशैँको पूर्वसन्ध्यामा आयोजना गरिएको अमरापुरी महोत्सवको एक लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । 
 
व्यावसायिक रूपमा राखिएका स्टल, टिकटबाट करिब ५ करोड आम्दानी गर्ने क्लबको उद्देश्य रहेको छ । समुद्घाटनको पहिलो दिन टिकट निःशुल्क गरिएके थियो । 
 
क्लबका उपाध्यक्ष जीवन पौडेलले सर्वसाधारणका लागि ५० रुपैयाँ, विद्यार्थीका लागि ३० रुपैयाँ, अपाङ्ग भएका र ज्येष्ठ नागरिकले परिचय पत्र देखाएमा निःशुल्क अवलोकन गर्न पाइने व्यवस्था मिलाइएको छ । समुद्घाटनका दिन स्थानीय कलाकारहरुको नृत्य तथा गायन प्रस्तुति रहेको थियो । 
 
महोत्सवमा व्यावसायिक प्रवद्र्धनका लागि एक सय स्टल, कृषि तथा अन्य प्रदर्शनीका लागि १५ स्टल रहेका छन् । महोत्सवको मुख्य आकर्षणका रुपमा प्रचार गरिएको ९ फिट अग्लो दुर्गाको मूर्ति घटस्थापनाको दिनदेखिमात्रै अवलोकन गर्न सकिने उपाध्यक्ष पौडेलको भनाइ छ ।
 
अमरापुरीको लक्ष्मी उच्च माविको खेल मैदानमा सुरू महोत्सवमा स्थानीय उत्पादनको जानकारी, उत्पादित वस्तुको प्रवद्र्धन, कला संस्कृतिको जगेर्नालाई प्रमुख जोड दिने महोत्सव मूल समारोह समितिका संयोजक विवेक न्यौपानेले बताए ।
 
महोत्सव अवधिभर राष्ट्रिय कलाकारहरुको विशेष सांगीतिक प्रस्तुति रहने छ । लोकदोहोरी क्षेत्रका गायक प्रजापति पराजुली, पशुपति शर्मा, शिव परियार, रमेशराज भट्टराई, इन्दिरा जोशी, आस्था राउत, कमल खत्री, सुनिल गिरी, दीपक खड्का, चिरञ्जीवी भण्डारी, ढाकाराम पौडेल, राजेन्द्र कँडेल, कर्णराज गिरी, रमेश श्रेष्ठ, पाँडे र जिग्री ब्रो, दिनेश काफ्ले, दिनेश थापा, उमा खनाल, एसएसएस ब्यान्ड, ज्योति मगरलगायत दुई दर्जनभन्दा बढी कलाकारहरुको बेजोड प्रस्तुति रहने बताइएको छ ।
 
यस्तै, चर्चित जादुगर बलराम सरकारको पनि उत्कृष्ट जादुगरी हेर्न पाइने छ । महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमका साथ पत्रकारहरुबीच पानी पिउने प्रतियोगिता, महिलाहरुबीच हुने दुनाटपरी गाँस्ने प्रतियोगिता, अन्तरस्कुल वक्तृत्वकला प्रतियोगिता, भजन प्रतियोगिता, अमरापुरी डान्स आइडललगायतका मनोरञ्जनात्मक प्रतियोगिता हुने संयोजक विवेक न्यौपानेले बताए ।