मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

विहारमा रक्सी बन्द भएपछि सीमाक्षेत्रमा भीड

विहारमा रक्सी बन्द भएपछि सीमाक्षेत्रमा भीड


पथरी (मोरङ) । नेपाली बेरोजगारहरू रोजीरोटीका लागि पैसा कमाउन भारत वा अन्य मुलुक जानुपर्ने बाध्यता थियो कि थिएन ?
 
यतिखेर भारतको विहार सरकारले सो राज्यमा मदिरा बिक्री वितरण र सेवनमा बन्देज लगाएपछि विहारका नागरिक मदिरा सेवन गर्न नेपाल आउने भीड बढे पछि यो प्रश्न उब्जिएको छ । 
 
यतिखेर नेपाल–भारत सीमा क्षेत्र आसपासका नेपाली बस्तीमा साना होटल प्रसस्तै खुलेका छन् । विराटनगर–१८ स्थित भेडियारीमा अहिले ५० भन्दा बढी होटल खुलिसकेका छन् ।
 
भारतबाट आउने ग्राहकले नै पसल चलेको होटल सञ्चालक बताउँछन्, सीमानजिकै आफ्नै घरमा होटल चलाएका प्रमोद मण्डल भन्छन् “यसरी नेपाली बजारमा आएर रक्सी सेवन गर्नेको विभिन्न झुण्ड छ । 
 
उनका अनुसार पैसावाल कारसहित नेपाल आएर यतै बस्ने अनी भेडेटारसम्म पुग्ने र रातै काट्ने गरी आउँछन् भने आर्थिक अवस्था कमजोर भएका र लतमा फसेका सीमापार गरेर नेपाल आई साना होटलमा मदिरा सेवन गरेर फर्किन्छन् । 
 
यही भेडियारी हो जहाँ केही समयअघि एउटा पसल भेट्न पनि मुस्किल पथ्र्यो, तर अहिले यहाँ बजारैभरि साना छापे्र होटल ५० वटा जति बनिसकेका छन् । स्थानीय प्रकाश यादव भन्छन्– भारतबाट रक्सी सेवन गर्न आउने बढेपछि होटल पनि बढे । भारतको विहार राज्यमा मदिरा प्रयोग र बिक्री वितरणमा रोक लगाएपछि भारतीय ग्राहक नेपाली बजारसम्म आइपुगेका हुन् । 
 
विहारमा मदिरा बिक्री बन्द गरिएसँगै नेपाल आएर मदिरा सेवन गर्ने विहारीको संख्या अत्यधिक देखिन्छ । विहारमा मदिरासम्बन्धी कडा कानून आएपछि नेपाल उनीहरूको मदिरापान स्थल बनेको हो । स्थानीय कमल किशोर यादव विहारमा रक्सी बन्द भएपछि भारतीय नागरिक रक्सीकै लागि नेपालमा आउने र असुरक्षित महसुस हुने गरेको सुनाउँछन् । 
 
नेपालको झापादेखि नवलपरासीसम्मको सीमासँग जोडिएका विहार राज्यका मधुवनी, सीतामढी, पूर्वी चम्पारण, सुपौल, किसनगन्ज, अररियालगायतका १३ जिल्लाका ४० हजार भारतीय नागरिक दैनिक मदिरा पिउन सीमा क्षेत्र पार गरी नेपालमा विभिन्न सवारीमा आउने गरेको बताइन्छ । 
 
सीमा क्षेत्रका स्थानीय बासिन्दा श्याम मण्डल भन्छन्– भारतबाट रक्सी सेवन गर्न आउने भारतीय नागरिक पैदलदेखि साइकल र कारसम्म लिएर आउने गरेका छन् ।
 
यसरी नेपालमा रक्सी सेवन गर्न आउने भारतीय सीमा क्षेत्रका एसएसबीको आँखा छलेर आउने गर्छन् । फर्किने बेलामा एसएसबीले फेला पारिहाले एसएसबीलाई पनि केही रकम दिएपछि उनीहरू छुट्ने गर्छन् । नेपालमा आएर भारतीयले रक्सी सेवन गर्ने प्रवृत्तिले एकातिर व्यापार त बढेको छ तर अर्कोतर्फ नेपालीहरूले असुरक्षित महसुस पनि गरेका छन् । रासस