मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

चितवनमा ७५ जनामा स्क्रब टाइफसको संक्रमण

चितवनमा ७५ जनामा स्क्रब टाइफसको संक्रमण


चितवन । चितवनमा स्क्रब टाइफसबाट एक महिलाको ज्यान गएको छ । साउन लागेयता चितवनमा २३ दिनमा ७५ जनामा स्क्रब टाइफस देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका अनुसार नवलपरासी रजहर घर भएकी २४ वर्षीया एक महिलाको ज्यान गएको हो । 
 
नारायणी सामुदायिक अस्पतालमा उपचारको क्रममा ती महिलाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख विजयकुमार झाले बताए । भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार साउन २१ गते ज्वरो आयो भनेर अस्पताल भर्ना भएकी ती महिलाको आइतबार ११ बजे उपचारको क्रममा ज्यान गएको हो । 
 
‘साउनयता चितवनमा ७५ जनामा स्क्रब टाइफस देखिएको पुष्टि भएको छ’ जनस्वास्थ्य प्रमुख विजयकुमार झाले भने, ‘२६४ जनामा स्वास्थ्य परीक्षण गर्दा ७५ जनामा स्क्रब टाइफस भेटिएको थियो ।’ माइट नामको किर्नाले टोकेपछि स्क्रब टाइफस सर्छ । जंगलमा घाँस काट्न जाँदा यो किर्नाले टोक्ने गरेको छ । गत वर्ष १०९ जनामा स्क्रब टाइफस देखिएको थियो । गत वर्ष स्क्रब टाइफसकै कारणले चारजनाको ज्यान गएको हो । मृत्यु हुनेमा एक जना तनहुँ र ३ जना चितवनका थिए । 
 
चितवनमा स्क्रब टाइफस परीक्षण गर्न कीटको अभाव भएको छ । ‘हामीसँग पर्याप्त कीट छैन, एकदम सीमित मात्रामा छ’ जनस्वास्थ्य प्रमुख विजयकुमार झाले भने,‘म कीट लिन यतीबेला काठमाडौंमै छु, डेंगुको कीट पाइयो तर स्क्रब टाइफसको पाइएन ।’ चितवनमा डेंगु र स्क्रब टाइफसको बढी खतरा छ । सतर्क रहन सबैमा अपिल गरिएको छ । 
 
‘हामी ज्वरो आयो भनेर अस्पतालमा गएर सोझै एन्टिबायोटिक माग्छौँ र खान्छौँ । मागेको औषधिले सञ्चो गर्दैन । ज्वरो बढ्दै गएपछि बल्ल अस्पताल जान्छौँ । त्यतिन्जेलसम्म रोगले निक्कै च्यापेको हुन्छ’ जनस्वास्थ्य कार्यालय प्रमुख झाले भने, ‘ज्वरो आउनसाथ सम्बन्धित चिकित्सकसँग पुगेर जाँच गराइहाल्नुपर्छ ।’
 
चितवनलगायत यस आसपासका जिल्लामा साउनदेखि कार्तिकसम्म स्क्रब टाइफसको जोखिम रहने चिकित्सकहरुको भनाइ छ । यो चार महिनाको समयमा बढीमात्रामा खेतीपाती गर्ने र जंगल जाने काम हुने भएकाले स्क्रब टाइफसको जोखिम बढी हुने चिकित्सकहरुको भनाइ छ । 
 
‘साउनदेखि कार्तिकसम्म स्क्रब टाइफसको जोखिम अत्यन्तै बढी छ, यो चार महिना अत्यन्तै सतर्क हुन जरुरी छ’ जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरका प्रमुख विजयकुमार झाले भने, ‘साउनदेखि कार्तिकसम्म स्क्रब टाइफस रोग सार्ने किर्नाले आक्रमण गर्छ । यो समयमा पानी, तापक्रम र आद्र्धताको प्रभाव हुन्छ । त्यसैले यो समयमा बढी स्क्रब टाइफसको जोखिम बढेर जान्छ ।’
 
‘स्क्रब टाइफसको मात्र होइन, डेंगुको प्रकोप पनि यो समयमा बढी देखिन्छ । यो समय त रोगको सिजनल हो । यतिबेला विभिन्न रोगसँग सर्तक रहन जरुरी छ’ जनस्वास्थ्य प्रमुख झाले भने । ‘स्क्रब टाइफसको सिजन कार्तिकसम्म मानिन्छ, गत वर्ष पनि कार्तिकपछि देखिएन । त्यसैले बढी सुरक्षित हुन जरुरी छ’ केसीले भने । 
 
‘चितवन देशकै मध्येभागमा रहेको छ, सबै ठाउँका मान्छेको यस जिल्लामा आउजाउ हुन्छ, त्यसैले पनि यो जिल्लामा रोगको जोखिम बढ्दो छ’ जनस्वास्थ्य प्रमुख झाले भने, ‘सतर्क रहन आवश्यक छ ।’ 
 
कसरी हुने सुरक्षित
 
माइट नामको किर्नाले मानिसलाई टोकेपछि स्क्रब टाइफस लाग्छ । यो जुम्राजस्तै सूक्ष्म हुन्छ । नाङ्गो आँखाले यसलाई देख्न मुस्किल पर्छ । यो प्रायः मुसाको कानमा बस्छ । जंगलको अग्ला खरको घाँसमा यो किर्ना पाइन्छ ।
 
‘मानिसहरुलाई घाँस काट्न जाँदा यो किर्नाले टोकेर स्क्रब टाइफस लागेको पाइएको छ । घाँस काट्न जाँदा नाङ्गो खुट्टाले हिँड्न भएन । हातमा पातलो पञ्जा, खुट्टामा बुट लगाएर हिँडेमा यसबाट धेरै सुरक्षित हुन सकिन्छ’ जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले भने । 
 
टाउको दुख्ने, ज्यादा ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने स्क्रब टाइफसको प्रमुख लक्षण हुन् । यो रोग अघिल्लो वर्षदेखि देखिन थालेको हो । नेपालमा सबैभन्दा पहिला यो रोग चितवन जिल्लामै  देखिएको हो । स्क्रब टाइफस सामान्य रोग हो, ज्वरो आउनसाथ सम्बन्धित चिकित्सकसँग पुगेर जाँच गराए यसबाट सजिलै बच्न सकिन्छ ।