मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीले बालकको मृत्यु

अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीले बालकको मृत्यु


धनुषा । जनकपुर अञ्चल अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीका कारण बिहीबार एक बालकको मृत्यु भएको छ ।  
 
धनुषाको मिथिला विहारी गाउँपालिका–१० ठेराका कैलाश मण्डलका १३ वर्षीय छोरा राजा मण्डलको अस्पतालको लापर्बाहीले मृत्यु भएको आफन्तको आरोप छ । 
 
बालकलाई एक्कासि ज्वरो आएपछि बुधबार बिहान ९ बजे उक्त अस्पतालमा उपचारका लागि लगिएकामा चिकित्सकले जाँच गरे पनि भर्नाका लागि श्यया खाली नभएको भन्दै फर्काएका थिए तर बालकलाई च्याप्दै ल्याएपछि बेलुका ६ बजे फेरि सोही अस्पतालको अकास्मिक कक्षमा भर्ना गरेर उपचार गरिएको थियो । 
 
राति ९ बजे बालकको अवस्था नाजुक भएपछि नर्स नैनतारा साह र कविता चौधरीलाई बालकका बुबा कैलाशले पटकपटक छोरालाई हेरदिनुस् भनेर गुहार गर्दा उल्टै हप्काएर फर्काएको त्यहाँका प्रत्यक्षदर्शी अर्का बिरामी कुरुवा जुमेदा खातुनले बताए । उनका अनुसार नर्सहरु मोबाइल चलाएर बसेका थिए । त्यसबेला काममा रहेका डा वैद्यनाथ ठाकुर भने कोठामा आराम गरेको नर्सले बताएका थिए ।    
 
राति १२ बजे बालकको अवस्था चिन्ताजनक भएपछि नर्स नैनतारा साह आफैँले सुई लगाइदिएपछि बालकको अवस्था झनै चिन्ताजनक भएको बाबु कैलाशको आरोप छ तर नर्स साहले भने सम्बद्ध चिकित्सकलाई सोधेर नै आफूले सुई लगाएको बताए । 
 
बिहीबार बिहान ३ बजे राजाको मृत्यु भएपछि आक्रोशित कैलाशले नर्सलाई  लट्ठी प्रहार गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेर दुई घण्टापछि छोडेको थियो । अस्पताल प्रशासनले भने आफूहरुको लगातारको प्रयासका बाबजुद पनि बालकको मृत्यु भएको जनाएको छ । रासस