मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

त्यही घटना महावीर पुनको टर्निङ्ग प्वाइन्ट बन्यो

त्यही घटना महावीर पुनको टर्निङ्ग प्वाइन्ट बन्यो


नेपाली समाजमा चिरपरिचित नाम हो महावीर पुन । म्याग्दीमा जन्मनु भएका पुनले विकट जिल्लाहरुमा सूचना प्रविधि सहज र सुलभ बनाउन दिनुभएको योगदान अति नै प्रसंनिय छ । वाएरलेस इन्टरनेटर प्रविधिलाई नेपालको दुर्गम हिमाली भेकका गाउँघरमा पुर्याउनु साधारण कार्य होइन । उल्लेख्यनीय सामुदायीक नेतृत्वकोलागि उहाँले सन् २००७  मा अन्तराष्ट्रिय ख्याति प्राप्त  'रमोन म्याग्सेसे' पुरस्कार प्राप्त गर्नुभयो । हाल राष्ट्रिय आविष्कार केन्द्र निर्माणको महाअभियानमा लाग्नु भएका एक कर्मठ सामाजिक अभियन्ता महावीर पुनको जीवनको अविष्मरणीय घटना उहाँकै शब्दमा :
महावीर पुनसँगको कुराकानीका आधारित
 
'सन् १९८७ जनवरी तिरको कुरा हो । जतिबेला देशमा पंचायती शासन व्यवस्था कायम थियो । म्याग्दीबाट स्कुल पढाउन चितवन झरेको थिएँ म । 
 
त्यतिबेला स्कुलमा एसएलसी परिक्षा संचालन भैरहेको थियो । तत्कालीन सिडियो परिक्षाकेन्द्र निरीक्षण गर्न आए । हक्की स्वभावका ती सिडियोलाई प्राय मानिसहरू घमण्डी भन्दथे । 
 
जाँच चलिरहेको थियो । परिक्षणको क्रममा सिडियोले स्कुलका सबै शिक्षकहरूलाई तथानाम गाली गर्न थाले । विना कारण गाली गरेको देखेर झोँक चलिरहेको थियो मलाई । अहँ अरु शिक्षकहरु चूँ बोल्न सकेनन् । जे पायो त्यही मुख छोडेर गरेको गाली खपि नसक्नु भएपछि मैले पनि सिडियोलाई जवाफ फर्काएँ ।  
 
'हामीले आफ्नो काम गरिरहेका छौं । मुखमा जे आयो त्यही नबोल्नुस सिडियो साप,' – मैले ठूलो स्वरमा कराएँ । भोलिपल्ट पुलिसले सोधपुछ गर्न भन्दै मलाई पुलिस चौकी लग्यो । 
 
'के होला कसो होला भन्ठान्दै थिएँ, मलाई त एक्कासी खोरमा थुनी हाल्यो ।'
 
'बिना कुनै अपराध यसरी खोरमा थुनेपछि म भित्र भित्रै कुढिएँ । रिस जति नै उठेपनि सत्ता र शक्तिको अघाडि मेरो के लाग्थ्यो ?  एउटा सामान्य मान्छे म, निरीह भएको थिएँ । के कारण थुनेको हो भनि कति सोध्दा पनि पुलिस पटक्कै बोल्दै बोलेन । आठ दिनसम्म थुनेर नवौ दिनमा छोडीदियो । निस्किदा मैले फेरि सोधें –  'मलाई किन थुनेको ?' 'हामीलाई थाहा छैन । सिडियो सापलाई सोध्नु,'  पुलिसले ठाडो जवाफ दियो ।
 
सुनि रहेकी थिएँ म चाख मानेर पुनको जीवनको बिर्सिनसक्नुको त्यो घटना ।  उहाँ अगाडि भन्दै जानुभयो ।
 
'म सरासर सिडियोकोमा गएर सोधें ।' 'किन , के कारणले  मलाई  थुनेको ?' केहि नभए जस्तोगरि सिडियोले आदेश गरे – 'जा गएर स्कुलमा पढा । सोधि खोजी गर्ने तेरो काम होइन ।' त्यति भनि नसक्दै उनि सरासर भित्र गए ।  हेरेको हेर्यें भएँ म । रिस र घृणाको अन्तरद्वन्द चलिरहेको थियो म भित्र । उनको यो हेपाहा प्रवित्ति र अन्यायले झन कुण्ठित भएँ । साथै दिक्दारीले नराम्रो झण्डा गाड्यो मन भित्र । स्कुलमा पढाउन त के मलाई त्यो ठाउँमा समेत बस्न मन लागेन ।
 
अर्को दिन सबै शिक्षक साथीहरुसँग अब म पढाउन नसक्ने भएँ भनि बिदाबारी भएर काठमाण्डौ आएँ । आउन त आएँ काठमाण्डौं तर गर्ने के ? जटिल थियो महंगो काठमाण्डौं ! अहिले जस्तो कमाउन अरब, यूरोप जाने लहर पनि थिएन त्यतिबेला । फाट्टफुट्ट मात्रै मानिसहरू विदेश जान्थे पढ्नलाई । अमेरिका जान पनि त्यति सजिलो थिएन । सारै मुश्किल थियो । केहि गर्छु, केहि बन्छु भन्ने आँट झन दरिलो भयो त्यो घटनाले । खुव संघर्ष गरें।  साथीहरुको सहयोग र सुझावमा अनेक गरी मिलाएर म अमेरिका पढ्न आएँ ।  अमेरिका आएपछि मेरो जीवनले अर्कै मोड लियो । चितवनको त्यो घटनाले  जीवनमा एउटा ठूलो बदलाव ल्याईदियो । मेरो जीवनको टर्निंग प्वाइन्ट भन्छु म त्यो घटनालाई ।
 
'त्यो सिडियोसँग अझै पनि रिस उठ्छ त ?'  यो पंक्तिकारको जिज्ञासामा पुनले हाँस्दै उत्तर दिनुभयो – 'हैन, अहिले त मनमनै धेरै धन्यवाद दिन्छु म उहाँलाई ।'
 
सफलताको त्यो हाँसो प्रत्यक्ष हेर्न नपाएकोमा विस्मात लागिरह्यो । टेलीफोन मार्फत सुनिरहेकी थिएँ उहाँलाई ।
 
हो, अमेरिकाको नेब्रास्का युनिभर्सिटीबाट मास्टर्स गरेर उहाँ नेपाल फर्कनु भयो आफ्नै गाउँ म्याग्दिमा । त्यसपछि महावीर पुनले फर्केर पछाडि हेर्नु परेन । आज जे हुनुहुन्छ उहाँ हाम्रा सामु हुनुहुन्छ ।  
फोटो साभार – पुनको फेसबुक
(यो कथा होइन – दुःख बाँड्दा घट्छ । सुख बाँड्दा बढ्छ । हामी मानिस मन शान्तिकोलागि प्रयत्नरत छौँ । गुम्सिनु दुःख हो, पीडा हो ।  प्रस्फुटन प्राप्ति र आनन्द । कुनै त्यस्ता घटना छन् जुन तपाईँ भित्र उकुसमुकुस भएर बसेका छन् । तपाईँको स्मरणमा बारम्बार आउने गर्छन् । रूवाउँछन् , हसाउँछन् ,  अचम्भित पार्दछन् । वा त्यस्तो घटना जसले तपाइको वा कसैको जीवन बदलेको छ । कसैको मन छुन सक्छ ।  कसैलाई मार्ग निर्देश गर्छ । हो यस्ता शतप्रतिशत सत्य घटनालाई हामीले ससम्मान प्रकाशित गर्ने जमर्को गरेका छौँ । आफ्ना मूल्यवान ती पलहरू बाँड्न तपाँईको अन्तरआत्मा सहमत हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् ।  www. Himalyakhabar.com / [email protected] )