मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

बीपी क्यान्सर अस्पतालको सेवा सुधार हुँदै

बीपी क्यान्सर अस्पतालको सेवा सुधार हुँदै


चितवन । व्यवस्थापकीय कमजोरीका कारण अस्तव्यस्त बनेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ कार्यकारी निर्देशक चयनसँगै थालिएको सुधार अभियान प्रभावकारी बनेको छ । 
 
अस्पतालको प्याथोलोजिमा रिएजेन्ट नहुनु, एमआरआई मेसिन बिग्रनु, थोरै सङ्ख्यामा मात्र सिटिस्क्यान गरिनु, थोरै सङ्ख्यालाई मात्र रेडियो थेरापी सेवा दिनुजस्ता कारण यहाँ आएका बिरामी सेवा नपाएर बाहिर जान बाध्य थिए । 
 
वैशाख २४ गते नयाँ कार्यकारी निर्देशकमा डा विजयचन्द्र आचार्य नियुक्त भएसँगै उहाँलाई स्वास्थ्य मन्त्रालयले अस्पताल सुधार गर्न निर्देशन दिएको थियो । यससँगै सबै सेवा सुचारु गरी अतिरिक्त समयमा समेत काम गराएपछि अस्पताल आएका बिरामीलाई उपचारका लागि सहज भएको थियो । 
 
अस्पतालले वैशाख महिनामा नौ हजार एक सय पाँच जनालाई उपचार गरेकामा जेठ महिनामा यो सङ्ख्या ११ हजार ८४९ पुगेको छ । बिग्रिएर थन्किएको एमआरआई मर्मत गरी एक सय दुई जनाको परीक्षण गरिएको छ । अस्पतालले दिएको जानकारीअनुसार वैशाखमा तीन सय ९९ जनाको सिटिस्क्यान गरिएकामा जेठ महिनामा ७२५ जनाको सिटिस्क्यान गरिएको छ । 
 
वैशाखमा ७७ जनाको मेमोग्राफी गरिएकोमा जेठमा ११६ जनाको गरिएको छ भने गामा क्यामरा परीक्षण १५ जनाबाट ५५ जना पुगेको छ । वैशाख महिनामा ८७३ जनामा सेकाई गरिएकामा जेठ महिनामा एक हजार ८१२ जनाको सेकाइ गरिएको छ । यी सेवा निजीमा भन्दा क्यान्सर अस्पतालमा आधा सस्तो छ । सेवा बढेसँगै अस्पतालको आम्दानी समेत बढेको छ । 
 
अस्पतालको लेखा शाखाका अनुसार वैशाख महिनामा रु ९६ लाख ४७ हजार ९९३ आम्दानी भएकामा जेठ महिनामा रु एक करोड ४६ लाख पाँच हजार नौ सय एक रुपैयाँ आम्दानी भएको छ । अस्पतालको हालसम्मको यो मासिक आम्दानी सबै भन्दा बढी हो ।
 
यसअघि स्थानीय प्रशासनले बिचौलिया नियन्त्रण गरेसँगै गएकोे साउनमा रु एक करोड २१ लाख १४ हजार १३५ आम्दानी भएको थियो । अस्पतालको इन्धन बेथिति ढङ्गबाट खर्च भएको भन्ने गुनासो आइरहेकामा गत महिना यो खर्चसमेत निकै घटेको छ । वैशाख महिनामा रु एक लाख ४६ हजार ४३८ इन्धनमा खर्च भएकामा जेठ महिनामा रु एक लाख सात हजार ६९४ मात्र खर्च भएको अस्पतालले जनाएको छ । 
 
अनावश्यक खर्च घटाउँदै लैजाने र सेवा विस्तार गर्दै जाने जानकारी दिंदै कार्यकारी निर्देशक आचार्यले अस्पताल छिरेका बिरामीलाई बाहिर पठाउन नपरोस् भन्नका लागि सेवा चुस्तदुरुस्त बनाइएको र  बिहान र बेलुकाको समयमा चिकित्सक तथा प्राविधिकले अतिरिक्त सेवा दिएकाले केही खर्च बढे पनि बिरामीले सेवा पाएको र अस्पतालको  आम्दानीमा समेत वृद्धि भएको उनले बताए ।  
 
पछिल्लो समय अस्पतालको सेवा प्रभावकारी नबनाउने र बाहिर बिचौलियासँग मिलेमतो गरेर बिरामी पठाउन थालेपछि गएको साउनमा स्थानीय प्रशासनले हस्तक्षेप गरी बिचौलियालाई नियन्त्रणमा लिएको थियो । अस्पताल जुन उद्देश्यका साथ स्थापना गरिएको हो, सोही अनुरुप बिरामीलाई सेवा सुविधा दिने काममा जुटेको अस्पतालका अध्यक्ष डा प्रकाश न्यौपानेले बताए । उनले छिट्टै शय्या थप गरी बिरामीलाई सेवा दिने पनि बताए ।