मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

सुत्केरीको मृत्युपछि तनावग्रस्त बन्यो भरतपुर अस्पताल

सुत्केरीको मृत्युपछि तनावग्रस्त बन्यो भरतपुर अस्पताल


चितवन । चितवनको एकमात्र सरकारी अस्पताल भरतपुर अस्पतालमा शनिबार सुत्केरीको मृत्यु भएपछि आइतबार दिनभर तनावग्रस्त बनेको छ । जेठ ६ गते साँझ सुत्केरी गराउनका लागि अस्पताल ल्याइएकी भरतपुर–४ लंकुकी ३३ वर्षीया कोपिला ज्ञवालीको उपचारकै क्रममा शनिबार बिहान अस्पतालमा मृत्यु भएपछि पीडित पक्ष अस्पतालविरूद्ध उत्रिएको हो । 
 
चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । शनिबार बिहान मृत्यु भएपछि सोही दिन अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल हुँदा केही मौखिक सहमति भएको थियो । मौखिक सहमतिमा मृतकका श्रीमान्लाई योग्यताको आधारमा रोजगार दिलाउनका लागि प्रयास गर्ने र बालबच्चाको हकमा स्वास्थ्य कार्ड बनाइदिने सहमति भएको मृतकका दाजु चन्द्रमणि पौडेलले बताए ।
 
तर, घटनामा अस्पतालका चिकित्सक दोषी रहेको भन्दै पीडित पक्षले शव बुझ्न मानेनन् र आइतबार पनि दिनभर यही विषयमा अस्पतालमा दिनभरजस्तै तनाव सिर्जना भयो ।  
 
सामान्य अवस्थामा अस्पताल आएको मान्छे मृत्यु हुनुमा चिकित्सक नै दोषी भएको भन्दै पीडित पक्षले घटनाको विषयमा छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने, उपचारमा खर्च भएको सम्पूर्ण रकम फिर्ता हुनुपर्ने, बालबच्चाको शिक्षाको ग्यारेण्टी गर्नुपर्ने, दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने र तत्कालका लागि किरिया खर्चसमेत व्यहोर्नुपर्ने माग गर्दै आएका थिए । तर, अस्पतालले भने हरसंभव प्रयास गर्दा पनि उपचार सफल नभएको दाबी गरेको छ । 
 
‘अस्पतालले भरसक प्रयास गरेकै हो । सबैजना उहाँको उपचारका लागि गम्भीर भएर लागेकै हो । तै पनि उहाँलाई बचाउन सकेनौँ,’ अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रूद्रप्रसाद मरासिनीले भने, ‘इन्फेक्सनका कारण उहाँको मृत्यु भएको हो । यसमा कोही पनि दोषी छैन ।’ 
 
कोपिलाका दाजु जीवलाल पौडेलका अनुसार जेठ ६ गते राति सुत्केरी व्यथा लागेपछि तत्काल अस्पताल ल्याइएको थियो । ७ गते अप्रेशन गरेर बच्चा जन्मिए पनि आमाको अवस्था गम्भीर भएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरेर उपचार गराउने क्रममा शनिबार बिहान मृत्यु भएको हो । 
 
‘बीचमा केही सुधार भएजस्तो देखिए पनि बहिनीको मृत्यु भयो,’ पौडेलले भावुक हुँदै भने, ‘हामीले सकुशल ल्याएको मान्छे फकिँदा लास लिएर फर्किनुप¥यो ।’