मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्यही मायाले त बेलाबेलामा नेपाल पुर्याउँछ

त्यही मायाले त बेलाबेलामा नेपाल पुर्याउँछ


(जीवन अचम्मको छ । साधारण लाग्छ हेर्दा । तर बुझ्दै जाँदा यो गहिरो र रहस्यमयी  लाग्छ । सामान्य लाग्ने मानिसका पनि जीवनमा अनेक असमान्य घटना घट्छन् । कुनैबेला कसैको जीवनका ती अनुभवहरू अरुकालागि उदाहरण र प्रेरणा श्रोत बन्न सक्छन् । मानिसको जीवन त एउटै हुन्छ तर त्यहाँ धेरै मोडहरू पार गर्नु पर्ने हुन्छ । जीवनभित्र संघर्षका कथाहरू हुन्छन् । खुशी र उन्मादका क्षणहरु आउँछन् । आफूले कल्पनै नगरेका सफलताका मोडहरू फेला पर्छन् । यिनै सेरोफेरोमा हामीले, प्रवासमा बसेर समयसँग कुस्ती खेल्दै जीवनको यात्रालाई डोर्याइरहेका नेपालीहरूको खुशी अनि कथा व्यथा प्रस्तुत गर्ने  यो नयाँ स्तम्भ प्रारम्भ गरेका छौँ – सम्पादक )  
 
विजय कट्टेल
फ्लोरिडा राज्यको वेस्ट पाम  विचसंगै जोडिएको स्यानो शहर वेलिङ्गटनको सनसेट प्वाइन्ट सर्कलको १२१९७ नम्बरको सुन्दर घर । बाहिरबाट  हेर्दा भन्दा भित्र पसेपछि त्यो घरको रौनक झनै खारिएको देखिन्छ । घरको पछाडि सुन्दर नीलो ताल  शान्त भएर सुस्ताए झैं लाग्छ । ताल  हामीले नेपालमा देखिरहेका मध्यम खाले ताल भन्दा स्यानो छैन । पानी हाँसहरु खेलिरहेको दॢश्य अरु रमाइलो लाग्छ । तालको डिलमा एउटा डुङ्गा बाँधिएको छ । वरिपरि ठडिएका ताडका रुखहरुले त्यहाँको सुन्दरतामा निखार दिएझैं लाग्छ । फुर्सदको बेला त्यो घरका दम्पत्ति मात्र हैन त्यहाँ आउने पाहुनाहरुले पनि डुङ्गा चडेर आनन्द लिने गर्छन् । 
 
घरै पछाडि लहलह मौलाएका पानका हरिया पातहरु मीठो सुगन्ध बाँड्छन् । फूल , विरुवा , पानी , रुख र पंक्षीको यति राम्रो वातावरणीय सम्मिश्रण भएको घरका मानिस पनि पक्कै प्रकॢति  र  बन्यजन्तु प्रेमी  इकोलोजिष्ट अथवा वातवरणविद नै हुनपर्छ । यथार्थ पनि यहि नै हो । नेपालमा मात्र हैन अमेरिका पनि राम्रो परिचय बनाएका निकुञ्ज र बन्यजन्तु संरक्षणविद विजय कट्टेल त्यहाँ बस्छन् । खाध्य विज्ञान तथा मानव पोषणमा विध्यावारिधि गरेकि उनकी पत्नी अर्चना कट्टेलको सहयात्राले विजयको त्यो घरलाई  मात्र हैन स्वयम् उसलाई पनि अझ सुन्दर बनाएको छ । सुन्दर घरभित्र असल दम्पत्ति – सामाजिक र व्यवसायीक क्षेत्रका सारथीहरु । 
 
नेपालदेखि नै बोकेर ल्याएको आफ्नो व्यवसायीक कौशलले विजयलाई फ्लोरिडा राज्यको पानी व्यवस्थापन मंडल ,माछा तथा बन्यजन्तु संरक्षणजस्ता क्षेत्रमा विशिष्टता हासील गर्ने अवसर प्राप्त भयो ।  सफल इकोलोजिष्ट एवम् वातवरण विज्ञ विजय कट्टेललाई यहाँसम्म आइपुग्न जीवनका अनेक मोडहरू पार गर्नु पर्यो । उनको परीश्रम, लगन र इच्छा शक्तिले अहिलेको सफलता हात लागेको हो । आज यीनै सफल प्रवाशी  नेपालीको जीवन यात्रालाई पर्गेल्ने प्रयाश गरेको छु । 
 
जन्मिए बन्दीपुर हुर्किए बिराटनगर 
कट्टेल परिवार
सन् १९५३ को नोभेम्बर महिनमा आमा इन्दिरा कट्टेलको कोखबाट तनहुँको बन्दीपुरमा जन्मिएका विजय त्यहाँ भने धेरै बस्न पाएनन । बुबा शिवराम कट्टेल शिक्षाप्रेमी हुनाले स्कुल खोल्ने काममा बन्दीपुर पुगेका थिए । मूल घर काठमाडौ भएपनि स्कुल खोल्नकालागि कट्टेल परिवार देशका विभिन्न भाग पुग्थे । त्यसबेला बन्दीपुरमा औलो महामारी बनेर आयो । बुबाआमा विजयलाई लिएर  फेरि काठमाडौं फर्किए ।  उनको स्कुल शिक्षा बिराटनगरको सरस्वति हाइस्कुलबाट एसएलसी पास गरेपछि पुरा भयो । त्यो हाइस्कुल विजयकै बुबाको सक्रियतामा स्थापना भएको थियो । बिराटनगरजस्तो  शैक्षिक एवम् राजनीतिक रुपमा नेपालको अग्रणी स्थान ओगटेको शहरको स्कुल , त्यसमा पनि आफ्नै बुबाले स्थापना गरेको , उनी गर्व गर्छन् त्यहाँ अध्ययन गर्न पाएकोमा । उनले त्यहाँ बिताएका स्मरणीय समय सम्झेर रोमान्चित हुन्छन् ।  
 
बुबा शिवराम कट्टेल राष्ट्रिय बाणिज्य बैकको अधिकॢत हुनाले विजयले पनि देशका विभिन्न भाग घुम्ने अवसर पाए । त्यसो त पछि आफ्नो जागीरको क्रममा उनले तराईका फाँटदेखि हिमालका अप्ठ्यारा ठाउँसम्म अध्ययन गरे । 
 
धेरै पढ्ने लहड 
काठमाडौंको त्यो बेलाको चर्चित कलेज अस्कलमा विजयले चार वर्ष विताए । हुनेखाने परिवारबाट थिए , खर्चको अप्ठ्यारो थिएन उनलाई । यो पंक्तिकार सहपाठी थियो त्यो बेला । बीएस्सी पास गरेपछि हामी दुबैको सम्पर्क भएन । अकस्मात विजयसंग फ्लोरिडाको वेस्ट पाम विचमा २०१३ मा जम्का भेट भयो । उनको घरमा पुगेर बिटु र मैले दिउँसोको भोजन गर्यौं । उनले आफ्नै हातले बनाएर पान खुवाए । सुन्दर घरपरिवार । मैले भने त्यो बेलामा  विजयको धेरै पढ्ने पागलपन सम्झें । 
 
उत्पात गरिसकेको रहेछ । ६० नाघेर पनि विजयमा अध्ययन अनुसन्धानमा भिडेर लाग्ने लालसा बाँकी नै रहेछ । बिएस्सी सकेर विजयले  भारतको देहरादुनस्थित बन अध्ययन संस्थानबाट फरेष्ट्रिमा एमएस्सी गरे । उनको भविष्यको मार्गचित्र त्यहिंबाट शुरु भयो । त्यसपछि उनले पछाडि फर्कनु परेन । उनको लगन र आफ्नो कामप्रतिको निष्ठाले अझै अघाडि बढायो ।  
उनले Wildlife Biology मा अमेरिकाको कोलोराडो स्टेट युनिभरसिटिबाट एम एस र पीएचडी पुरा गरे ।
 
जागिरे यात्रा 
विजयको सरकारी जागिरे जीवन नेपालका राष्ट्रिय निकुन्ज र बन्यजन्तु संरक्षण सम्बन्धी कामबाटै शुरु भयो । उनले सन् १९७६ देखि १९९७ सम्म बन्यजन्तु आरक्षण एवम् राष्ट्रिय निकुन्जमा बिताए । हाजीर मात्र गरेर जागीर पकाउने स्वभाव थिएन , जति काम गरे पूरापुर गरे । उनले गरेको कामकोलागि अहिले पनि त्यस क्षेत्रका विज्ञहरु विजयलाई सम्झिन्छन् । खप्तड र से फोक्सुण्डो राष्ट्रिय निकुन्जको Ecological survey  देखि तयारी अवस्थामा पुर्याउने काम उनकै नेतॢत्वमा भयो । 
 
राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण विभागको कामु महानिर्देशकको जिम्मेवारी पनि पुरा गरे । उनको कस्तुरी मॢग सम्बन्धी अध्ययन अनुसन्धान अहिलेसम्मको सबैभन्दा महत्वपुर्ण खोज मानिएको छ । विकट हिमाली भेगमा गरिएको त्यो अनुसन्धानले नेपालको बन्यजन्तु सम्बन्धी जानकारी विश्व सामु पुर्याएको छ । कस्तुरी मॢगका हरेक व्यवहार र क्रियाकलापलाई सुक्ष्म अनुसन्धान गरेर उनले विश्व सामु परिचित गराए । 
 
अमेरिकी मोह र निरन्तरता 
पंक्तिकारको साथमा बिजय 
सन् १९८२ मा कोलोराडो स्टेट यूनिभर्सिटिमा एमएस पढ्न आएपछि उनलाई अमेरिकाले आकर्षण गर्यो । १९८५ मा नेपाल फर्किए । तर आफूले एमएस गरेकै विश्वविध्यालयले पीएचडी गर्ने अवसर दियो । उनले आफ्नो अध्ययनलाई सम्पुर्ण न्याय दिए । अब उनको अध्ययनलाई कार्यरुप दिन विजयले अमेरिकै बस्ने निधो गरे । उनलाई Extra Ordinary ability अन्तर्गत  ग्रिनकार्ड दिइयो । 
 
पछाडि फर्केर हेर्ने कुरा थिएन । १९९७ देखि विजय अमेरिकामै छन् । उनलाई आफ्नो शैक्षिक योग्यता अनुसारको भरपर्दो काम मिलेको छ । विश्वकै पहिलो नम्बरमा गनिने Everglades Restoration Projects मा उनले १५ वर्ष बिताइसके । पाँच वर्ष उनले यहाँको बन्यजन्तु विभागमा काम गरे । उनले फ्लोरिडाको Fish and wildlife Conservation commission मा प्रशासक तथा  दक्षिणी फ्लोरिडाको Water Management District  मा Recreation Planner कोरुपमा काम गरिसकेका छन् । खासगरी दक्षिणी फ्लोरिडाको धाप क्षेत्र संरक्षणमा विजयको योगदान देखिएको छ । त्यसैगरी उनी मनोरञ्जनात्मक प्राकॢतिक पार्कहरु निर्माण र संरक्षणमा संलग्न छन् । अहिले विजय त्यहाँ Senior Planner कोरुपमा कार्यरत छन् । 
 
आफ्नो क्षमता र कामलाई इमान्दारीसाथ न्याय दिन्छन् त्यसैले विजयको अमेरिकी जीवन भोगाइमा निरन्तरता छ , ब्रेक अहिलेसम्म लागेको छैन । त्यही इमान्दारी र कामप्रतिको समर्पणले उनलाई बेलाबेलामा पुरस्कार र सम्मान प्राप्त हुन्छ। हालै मात्र उनलाई Florida Sportsmen’s Consevation Association ले Florida Sportsmen’s Conservation Association Agency Award प्रदान गर्ने घोषणा गरेको छ । 
 
सन् १९८९ मा विजय फुलब्राइट फेलोशिप , १९९२ मा हवाइ , होनोलुलुमा इस्ट वेस्ट सेन्टर फेलोशिप र १९९७ मा कोलोराडो स्टेट यूनिभरसिटीको प्रतिष्ठित पुरस्कार Professional Acheivement Award बाट सम्मनित भैसकेका छन् । 
 
प्रेम सजिलो बिबाह अप्ठ्यारो ! 
पत्नि अर्चनाको साथमा 
त्रिभुवन विश्वविध्यालयमा पढ्दै गर्दा अर्चनासंग विजयको प्रेम शुरु भयो । दुबै जवान थिए , शिक्षित थिए । मनले खाएपछि अरुको के लाग्छ ! उनीहरुको प्रेम सात वर्षसम्म चल्यो । तर विवाह त्यति सजिलो थिएन । विजय उपाध्याय ब्राम्हण, अर्चना नेवार । अन्तर्जातीय विवाहलाई त्यसबेला राम्रो मानिन्नथ्यो । तीन वर्षको अथक प्रयासपछि अभिभावक तयार भए , विवाह भयो । जीवन यात्रामा यस्ता अनेकौं अप्ठ्यारा मोडहरू आउँछन् । कसैलाई पार गर्न कठिन हुन्छ , यात्रा बीचैमा टुङ्गिन्छ । विजय  र अर्चनाले भने आफ्नो प्रेम यात्रालाई गन्तव्यमा पुर्याएरै छोडे । 
 
उनीहरुको बैबाहिक जीवनमा दुई राम्रा छोराहरु पुरस्कारस्वरुप प्राप्त भए , अवि र अजय । तर नियति अर्कै थियो । ११ वर्ष अघि जेठो छोरो अविको निधन भयो । त्यो वेदनाले विजय र अर्चनालाई निक्कै समय घोचिरह्यो । उनीहरु धेरै समय एकान्त बस्न रुचाउने भए । तर जीवन त्यसरी पनि त चल्दैनथ्यो । यथार्थमा फर्किनै पर्छ । विजय पनि फर्के , छोरो अवि कट्टेलको स्मॢतिमा Abi Kattel Memorial Foundation  खोलेर घाउमा मल्हम लगाउने प्रयत्न गरे ।  अहिले विजयको परिवार त्यहि संस्था मार्फत सामाजिक अभियानमा जुटेका छन् । शैक्षिक क्षेत्रमा सहयोग पुर्याउछन् । अर्को छोरा अजय अहिले वकिल छन्, क्यालिफोर्नियाको सिलीकन भ्यालीमा कार्यरत छन् ।  
 
समाज र समुदाय 
विजयलाई एक्लै हुने मन कहिल्यै भएन । आफ्नो समाज र समुदायप्रति दायित्व हुन्छ भन्ने मान्यताले उनलाई फ्लोरिडाको नेपाली समुदायले आकर्षित गर्छ । उनी २००२ देखि २००४ सम्म फ्लोरिडा नेपाली संघको अध्यक्ष रहेर काम गरे । अहिले पनि त्यो संस्थामा सल्लाहकार छन् । स्थानीय समुदायमा सक्रिय छन् , २००२ देखि २००५ सम्म Home Owners Association को अध्यक्ष भएर  सक्रिय रहे ।  Blood Donors Association of America को उपाध्यक्ष  रहे  २०१३-२०१६ सम्म । त्यसबाहेक आफ्नो व्यवसायिक काम मार्फत उनको ठूलो जनसंपर्क स्थापित हुनेगरेको छ । जनतासंग सम्बधित हुनाले कार्य क्षेत्रमा विजयले धेरै जनासंग संपर्क गर्नु पर्ने हुन्छ । त्यसले उनको सामुदायिक सक्रियतालाई अरु मलजल गरेको छ । 
 
आकर्षण नेपालको 
विजय अहिले पनि नेपालमा आफुले काम गर्दा पाएको अनुभवबाट गौरव गर्छन् । त्यहाँको प्राकॢतिक सुन्दरता र विविधता विश्वकैलागि नमुना रहेको उनको धारणा छ ।तर तत्कालै यहाँको सक्रियतालाई विश्राम दिएर नेपाल फर्कन सक्दैनन् । भन्छन् – नेपालमा भए अहिले मेरो जागिरे जीवनबाट अवकास भैसक्थ्यो । त्यहाँ गएर पनि यहाँजस्तै सक्रिय रहेर स्वदेशकोलागि केहि गर्न सके मात्र फर्केको औचित्य प्रमाणित हुन्छ । अन्यथा अवकास जीवन बिताउन मात्रै जाने हो भने के अर्थ भयो र ! 
तर नेपालमा राम्रो वातावरणमा काम गर्न पाए यहाँभन्दा बढी योगदान दिन सकिन्थ्यो भन्ने विश्वास विजयलाई छ । आफुलाई बनाएको नेपालले नै हो – उनी स्वीकार गर्छन् । " पेशागतरुपमा नेपालमा नभएकोमा पश्चताप किन पनि छैन भने त्यहाँ भएनि यस्तै काम गर्ने हो । " 
 
आफ्नो जन्मभुमी हो , माया लाग्छ । त्यही मायाले बेलाबेला नेपाल पुर्याउँछ – उनले स्वदेश प्रेम यसरी पोखे ।