मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

काठमाण्डौं महानगरपालिकाको चुनाव कसले जित्ला ?

काठमाण्डौं महानगरपालिकाको चुनाव कसले जित्ला ?


दुई दशक पछि हुन लागेको स्थानीय निकायको निर्वाचन अब ५ दिन मात्रै बाँकी छ । सबैको चासो काठमाण्डौको मेयर को होला भन्नेमा छ । यो चुनावमा एकातिर आधा भन्दा बढी मतदाता पहिलो पटक मतदान गर्दैछन् भने अर्कोतर्फ पार्टीहरूको चुनावी तालमेल पनि भएकोछ । संविधान सभाको निर्वाचनमा काठमाण्डौं उपत्यकाका १६ मध्धे १३ सिट जितेको नेपाली काँग्रेस धेरै हदसम्म चुनाव जित्नेमा ढुक्क देखिन्छ । बाँकी अरू पार्टी पनि आफू जित्ने कुरा बताइरहेका छन् । यो चुनावमा प्रमुख पार्टीका अतिरिक्त अरू पनि प्रखर उम्मेद्वारहरु भएकाले जित्नेहरु आफ्नो भोट आएर भन्दा पनि अरू कसैले अर्काको भोट काटिदिन्छ र जितौंला भनेर पनि बसेका देखिन्छन् । 
 
अब चर्चा गरौँ मतदाता सङ्ख्या पार्टी र व्यक्तिकै । 
 
 
करिब २ लाख ८४ हजार मतदाता भएको काठमाडौँ महानगरपालिकामा ६५ प्रतिशत भोट खसेमा करिब १ लाख ८५ हजार मत खस्ला । मतपत्र झुक्किने खालको र मतदाता शिक्षा कम भएकोले करिब १० हजार मत बदर हुनसक्छ । 
 
केही समयदेखि चर्चामा आएकी बिबेकशील पार्टीकी उम्मेदवार रञ्जु दर्शनाको नाम सबैको ओठमा छ । तर उनीको टीममा उपमेयरको सम्म उम्मेदवार नहुनु, केही मात्रै वडामा वडा अध्यक्षका उम्मेदवार हुनु र उनका केही भाषणले गर्दा उनी केही सय मतमा सीमित हुने पक्का छ । पछिल्लो समय उनी करिब करिब छायाँमा परेको भान हुन थालेकोछ । न त उन्ले कसैको भोट काट्ने छाँटकाँट छ न त जित्ने नै । तर उनी र उनको पार्टीले अर्को चुनावको लागि जग भने राम्रै हालेकोमा दुइमत नहोला । 
 
अर्का अति चर्चामा रहेका उम्मेदवार हुन् साझा पार्टीका किशोर थापा । काठमाडौँ नगरवासीले चुनाव प्रचारको क्रममा उन्को राम्रै स्वागत गरे । सञ्चार माध्यमहरूले उनी र उनको पार्टीलाई धेरै पछ्याए । घर घरमा उन्का पक्षमा बहस भए । तर जब उनको साझा पार्टीले यत्रो चुनावमा काठमाडौँ र ललितपुर बाहेक अरू कुनै ठाउँमा उम्मेदवार समेत दिन सकेन जनतामा निराशा छायो । काठमाण्डौमा पनि जम्मा दुई जना मात्र उम्मेदवार हुनु साझा पाटीको लागि घाटा भयो । केही वडा अध्यक्ष मात्रै भएका भए पनि उनीहरूले भोट तान्ने वातावरण बन्न सक्थ्यो जुन हुन सकेन । यसकारण उन्ले पाउने मत पनि पाँच अङ्कमा जान कठिन छ । 
 
 
सक्षम र काम गर्न सक्ने र महानगरले खोजेजस्तै हुँदा हुँदै पनि किशोर थापाको पार्टी सानो र अरू भरथेग गर्ने उम्मेदवार नहुँदा यो पटक निकै कम मत मै उनले चित्त बुझाउनुपर्ने देखिन्छ । ठुलो सङ्ख्यामा रहेका नेवार समुदायको मत तान्न नेवार उम्मेद्वारको साथ नहुनुले पनि किशोर थापाको मतमा कमी आउनेछ । 
 
तर यो चुनावले साझा पाटीलाई निकै राम्रो पाठ भने सिकाउनेछ । आगामी प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा सबैतिर उम्मेदवार उठाउन सके यो पार्टी राष्ट्रिय पार्टी हुनेमा विश्वस्त हुने प्रशस्त ठाउँ छ । सायद यो चुनाव उनीहरूको प्रयोग पनि हुनसक्छ । 
 
माथिका दुई उम्मेद्वारका प्रचार प्रसार धेरै हदसम्म सामाजिक सञ्जालमा देखिन्छ । सामाजिक सञ्जालमा सकृय धेरै मानिसहरू काठमाण्डौका मतदाता नै हैनन् । तसर्थ पनि उनीहरूको प्रचारको खासै अर्थ नराख्ला । 
 
अर्का उम्मेदवार हुन् संघीय समाजवादीका पवित्र बज्राचार्य । पुराना राजनैतिक कार्यकर्ता, वडा अध्यक्ष र नेवारी समाजमा अत्यन्त घुलमिलका कारण उनी राम्रो भोट ल्याउन सफल हुनेमा शङ्का छैन । तर पनि उन्को भोट महानगरपालिकाको मेयर हुन पुग्ने भने छैन । करिब १५ हजारको सङ्ख्यामा आउने उन्को भोटले एमालेलाई भने नराम्ररी धक्का दिन्छ । 
करिब २ लाख मत मध्धे माथि भनिएका र केही हजार अरू भोट कटाउँदा बाँकी रहन्छ करिब १ लाख ५० हजार मत । यस अर्थमा काँग्रेस वा एमालेका कुनै पनि उम्मेद्वारले चुनाव जित्न करिब ७५ हजार मत ल्याउनु जरुरी छ । 
 
अब कुरा गरौँ एमालेको । एमालेले यो चुनाव मनोनयन दाखिला गर्नु अघिनै हारेको हो । आफ्नो हार निश्चित भएका कारण उसले उपमेयरमा उम्मेदवारी समेत दिन सकेन र तालमेल गर्नपुग्यो राप्रपासँग । त्यस्को कारण थियो आफूसँग भएको करिब ३५ हजार मत र राप्रपाको करिब २० हजार मतले चुनाव जित्छु भन्ने हिसाब । तर एमाले भित्रको तीव्र गुटबन्दी र कमजोर उम्मेद्वारका कारण बिद्यासुन्दर शाक्यलाई आफ्नै पार्टीको पनि मत आउन कठिन छ । साथै एमालेले उप मेयरमा राप्रपालाई मत नदिने भन्ने गुटगत हल्लाले राप्रपाको कार्यकर्ता तहमा शङ्का बढेको पाइएकोछ । यो परिस्थितिमा राप्रपाको २० हजार मध्धे केही हजार मात्रै मत कम आएपनि एमाले निकै तल पर्छ । 
 
अझ त्यसमाथि एमालेको उच्च तह काठमाण्डौको ३२ वडा मध्धे पाँच देखि सात वटा वडा मात्रै जित्ने आँकलन गरेर बस्नुले पनि एमालेको आत्मबिस्वास यो चुनावमा कहाँ छ भन्ने स्पष्ट छ । साथै किशोर थापाले काँग्रेसको मत काट्छन् र एमालेले जित्छ भन्ने तर्कका साथ नेताहरू हिंडेको देख्दा उनीहरूको आफ्नो मत कति छ भन्ने स्पष्ट छ । 
 
यो सबै पृष्ठभूमिमा काठमाण्डौमा बलियो भनेका कांग्रेसका राजुराज जोशी नै हुन् । आफ्नै मतले काठमाण्डौं जित्न पुग्ने कांग्रेसलाई माओवादीको थपिने केही मतले जित फराकिलो बनाउने मात्रै हो । 
 
हेरौं अबका चार दिनमा केही ठुलै परिवर्तन आउँछ कि ?
 
 
www.rajunepal.com / [email protected]
(लेखकका बिचार निजी हुन् ।)