मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

मतदातालाई सपना बाँडेको छैन : मेघनाथ पौडेल

मतदातालाई सपना बाँडेको छैन : मेघनाथ पौडेल


रत्ननगर नगरपालिका–९ मोहनाका मेघनाथ पौडेल माओवादी केन्द्रका जुझारु र स्पष्ट दृष्टिकोण बोकेका युवा नेता हुन् । स्थानीय तहको आसन्न निर्वाचनका लागि उनलाई नेकपा माओवादी केन्द्रले वडा नं ९ मा अध्यक्षको उम्मेदवार बनाएको छ । उनी जनवर्गीय संगठनअन्तर्गत २०४७ सालदेखि सर्वहारा श्रमिक संगठन (नेपाल क्रान्तिकारी विद्यार्थी संगठन)मा आवद्ध उनी ०४९ सालमा तीनदलको एकीकरणबाट बनेको अनेरास्ववियु (क्रान्तिकारी) को जिल्ला कमिटी सदस्य, ०५४ मा केन्द्रीय सदस्य तथा ०७० मा वाईसीएलको तामसालिङ राज्य समिति सदस्य तथा रत्ननगर नगरपालिकाको वाईसीएल इन्चार्जको जिम्मेवारी पूरा गरिसकेका छन् । यस्तै पार्टीतर्फ ०५१ मा नेकपा एकता केन्द्रको सदस्य, ०६२ मा वडा नं ९ (साविक–६) को पार्टी सेक्रेटरी, ०७२ मा जिल्ला सदस्य, ०७३ मा माओवादी केन्द्रको वडा नं ९ का अध्यक्ष भई अनुभव हासिल गरिसकेका छन् ।
 
आईए उत्तीर्ण गरेका उनी पार्टीले सञ्चालन गरेको जनयुद्धका क्रममा ०५९ सालमा सेनाबाट घरबाटै गिरफ्तारीमा परेका थिए । करिब एक वर्षको जेल जीवनपश्चात् ०६० को दोस्रो शान्ति वार्ताकालमा उनी जेलमुक्त भएका थिए । पार्टीमा उनले कर्मठ, इमान्दार र जुझारु कार्यकर्ताको पहिचान स्थापित गरेका छन् । राजनीतिबाहेक उनको सामाजिक, शैक्षिक तथा विभिन्न संघसंस्थामा पनि उत्तिकै सक्रियता रहेको छ । जनजागृति सहकारी संस्थाका सञ्चालक, क्रिस्टल कलेजका सल्लाहकार, नेशनल आमाविका सञ्चालक, औषधि थोक व्यवसायी संगठन चितवनका अध्यक्ष, लायन्स क्लब अफ चितवन हेल्थ सिटीका अध्यक्ष, मोहना उमाविका सञ्चालक समिति सदस्यलगायत दर्जनौँ संघसंस्थासँग आबद्ध पौडेलसँग हिमालय खबरका नेपाल संयोजक केशव भट्टराईले आसन्न स्थानीय निर्वाचनको सन्दर्भमा गरेको कुराकानी–
 
१) रत्ननगर–९ मा चुनावी सरगर्मी कस्तो छ ? 
 
–एकदमै तातेको छ । मतदातामा उत्साह थपेको छ । माओवादी केन्द्र, कांग्रेस र एमालेको त्रिपक्षीय प्रतिस्पर्धा देखिएकोमा मनोनयन दर्तापछि दुई पक्षीय प्रतिस्पर्धा देखिन आएको छ । चुनाव प्रतिस्पर्धाको खेल भएकाले हार जित सामान्य कुरा हो । यस वडामा जे पनि हुनसक्छ, पासा कता पल्टिन्छ भन्ने आँकलन कसैले गर्न नसकिने अवस्था छ । इमान्दारिकतापूर्वक भन्नुपर्दा मैले आफूलाई बलियो प्रतिस्पर्धीका रुपमा लिएको छु ।
 
२) घरदैलोका क्रममा मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ? 
 
–घरदैलो अभियान जारी छ । मतदाताबाट एकदमै राम्रो हौसला पाएको छु । एक्काइसौँ शताव्दीमा राज्यको पुनर्संरचनाको संघीय संरचनाअनुसार वडा सञ्चालनको सवालमा क्षमताको हिसाबले, सामाजिक लगानीका हिसाबले र हाम्रो पार्टीको बलियो उपस्थितिका हिसाबले मेरो उम्मेदवारी अब्बल र योग्य रहेको मतदाताले मूल्यांकन गर्नुभएको छ । सामाजिक न्याय, श्रम र योजनाका लागि मसँग क्षमता छ । इमान्दारिकतापूर्वक समाज रुपान्तरणको अभियानमा योगदान दिएका हिसाबले मतदाताले मन, वचन र कर्मले सहयोग गर्ने प्रतिबद्धता पाएको छु । 
 
३) वडाअध्यक्षमा तपाईंको नै उम्मेदवारी किन ? 
 
–हाम्रो पार्टीले दलित, उत्पीडित, आदिवासीलगायतको उत्थान गर्नका लागि राजनीतिक वर्गाीकरण गरेर जुन मुद्दाको उठान गरेको छ, त्यसलाई कार्यान्वयन गर्नका मेरो उम्मेदवारी हो । राज्यको पुनर्संरचनाअन्तर्गत सिंहदरवारको अधिकार गाउँगाउँमा पु¥याउने जुन एजेन्डा पार्टीले जन्माएको हो, त्यसैको नेतृत्वले वडा हाँक्नुपर्छ भनेर पार्टीको विजयीका लागि मेरो उम्मेदवारी हो । 
 
४) वडा विकासका लागि तपाईंसँग के कस्ता एजेन्डा छन् ? 
 
–मुख्य कुरा त हामीले संघीयतालाई स्थापित गराउनुपर्छ । नयाँ मूल्य र मान्यता विकसित गर्न पुरानो संरचनालाई भत्काउनुपर्छ । यहाँको स्रोत र साधनको समुचित प्रयोग गरी सम्पूर्ण वर्ग, जाति, लिङ्ग र क्षेत्रको प्रतिनिधित्व हुने गरी इमान्दारितापूर्वक काम गर्न प्रतिबद्ध छु । योजना बनाउन सक्ने र त्यसलाई कार्यान्वयन पनि गर्न सक्ने क्षमता भएको र यसअघि पनि विकास निर्माणका कार्यहरुमा सम्मिलित हुँदै आएकाले यस वडामा पाँच वर्षभित्र पक्की सडक र ढल निकासको काम पूर्ण रुपमा सम्पन्न गर्ने छु । यस्तै कच्ची तथा कृषि सडकलाई पक्की बनाउने एजेन्डा हामीसँग छ । 
 
शैक्षिक रुपमा उत्पीडित दलित, जनजाति, आदिवासी तथा पिछडिएका महिलाको शैक्षिक तथा चेतनास्तर उकास्न लागिपर्ने छु । विकास निर्माण, शिक्षा, खानेपानी, सरसफाइजस्ता समस्याहरुको पहिचान गरी प्राथमिकताका साथ वडाका लागि चाहिने आवश्यक पूर्वाधारहरु पूरा गर्न म कटिबद्ध छु । यस वडासँग जोडिएको बराण्डाभार क्षेत्र छ, खगेरी खोला छ, जसलाई पर्यटकीय वडाका रुपमा विकास गर्नका लागि बराण्डाभार जङ्गलमा हात्ती सयर र खगेरीमा डुङ्गा सञ्चालन गरिने छ । स्रोतको खोजी गरी खगेरी खोलाको किनारमा पर्खाल लगाउने योजना पनि छ । यस वडामा कलेज छैन, एउटा कलेज स्थापना गर्ने मेरो सपना छ । यस्तै हस्पिटल छैन, सहरी क्लिनिक सञ्चालन गरेर भए पनि वडावासीको उपचारका लागि सहज बनाउने छु । 
 
५) मतदातालाई के कस्ता आश्वासन बाँड्नु भएको छ ? 
 
–व्यक्तिगत रुपमा र पार्टीगत रुपमा हामी काम दिन्छौँ, जागिर दिलाइदिन्छौँ भनेर कुनै पनि आवासन र सपना बाँडेको छैन । जनताको दुःखकष्ट, पीडा र समस्याको पहिचान गरी विकास योजनामा लाग्न अभिप्रेरित गराउने हो । निरन्तर जनतासँगै रहेर जनतालाई आफ्ना अधिकारबारे बुझाउने, परिवर्तनलाई  आत्मसात् गरेर स्पष्ट योजना र दृष्टिकोण प्रस्तुत गर्ने उम्मेदवार चयन गर्नुहोस् भनेर सम्झाउने हो । मतदाताले पनि हामीले उठान गरेको एजेन्डा बुझ्दै जानुभएको छ । 
 
६) तपाईंले चुनाव जित्छु भन्ने आधार के देख्नुभएको छ ? 
 
–पहिलो आधार त हामीले जन्माएको र हाम्रो पार्टीको एजेन्डा नै हो । हाम्रो वडामा संगठनको उपस्थिति पनि राम्रो छ । पछिल्लो चुनावी माहोल र वस्तुस्थिति मूल्यांकन गर्दा हामी बलियो प्रतिस्पर्धाका रुपमा अगाडि देखिएका छौँ । संगठनले इमान्दार, विकासप्रेमी र जनसेवक उम्मेदवारहरुको चयन गरेको छ । इमान्दारहरुको टीम भएकाले हामीले जित्छौँ । जनताको हामीप्रति विश्वास, सद्भाव र हौसला नै हाम्रो जित सुनिश्चितताको संकेत हो । अर्को आधार प्रतिस्पर्धी (एमाले र कांग्रेस)को गुटबन्दी र विद्रोह पनि एक हो । हामीबीच एकता छ र जनताको समर्थन छ । यिनै आधारले मेरो जित सुनिश्चित छ । (अरुण रेग्मीको सहयोगमा)