मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

राप्तीलाई ‘आदर्श, विकसित र अनुशासित’ नगर बनाउँछु : किरणभूषण ओली

राप्तीलाई ‘आदर्श, विकसित र अनुशासित’ नगर बनाउँछु : किरणभूषण ओली


पूर्वी चितवनको राप्ती नगरपालिका–३, झुरझुरेका ४७ वर्षीय किरणभूषण ओली नेपाली कांग्रेसमा स्पष्टवक्ता, जुझारु र क्रियाशील राजनीतिज्ञ मानिन्छन् । स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट मेयरका लागि उम्मेदवारी दिएका उनी ‘ठूलो घर बनाऔँ, सानो घर आफैँ बन्छ’ भन्ने आदर्शका साथ चुनावी मैदानमा उत्रिएका छन् । मनमा लागेको स्पष्ट बोल्ने, अन्यायविरुद्ध लड्ने र सम्भव हुने कुरामात्रै गर्ने उनको शैली धेरैका लागि प्रेरणा बन्दै आएको छ । 
 
०४३ सालदेखि कमर्श क्याम्पस हाल ‘शहीद स्मृति बहुमुखी क्याम्पस’बाट नेविसंघको राजनीतिमा प्रवेश गरेका उनी ०४६ मा नेविसंघका क्षेत्रीय सभापति, ०४९ मा नेविसंघ चितवनको सचिव र ०५१ मा सभापति, ०५४ मा तरुण दलको जिल्ला सदस्य, पार्टीको १२ औँ महाधिवेशन प्रतिनिधि र १३ औँ महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्य भई जिम्मेवारी निभाइसकेका छन् । 
 
पाँच वर्ष बुद्ध शान्ति माविमा शिक्षणसमेत गरेका उनी शिक्षासेवी, राजनीतिसेवी र समाजसेवीको छवि बोकेका सो क्षेत्रका ओझिला राजनीतिज्ञ हुन् । कांग्रेस जनताको पार्टी भएकाले जे बोल्छ त्योमात्र गर्ने भएकाले झुटको खेती गरेर, भ्रम फैलाएर र ठूला सपनाको आश्वासन देखाएर आफूले मतदातालाई आकर्षित नगर्ने उनी बताउँछन् । कांग्रेसलाई समग्र नगरवासीको पार्टी बनेर देखाउने प्रतिबद्धता गरेका जनप्रिय स्थानीय नेता ओलीसँग हिमालय खबरका नेपाल संयोजक केशव भट्टराईले गरेको निर्वाचनकेन्द्रित कुराकानीको सारसंक्षेप–
 
१) राप्ती नगरपालिकामा चुनावी माहोल कस्तो छ ?
 
– असाध्यै राम्रो छ । चुनावी लहरले मतदातामा उत्साह र उमङ्ग ल्याएको छ । कांग्रेसमा प्रवेश गर्नेको ओइरो लागेको छ । कांग्रेस साँच्चै जनताको पार्टी रहेछ भन्ने अनुभूति जनताले आत्मसात् गरेका छन् । भर्खरैमात्रै एमाले पार्टी परित्याग गरी १२७७ जना एमाले सगठित सदस्यसमेत कांग्रेसमा प्रवेश गरेका छन् । माओवादी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेको संख्या पनि बढिरहेको छ । जसलाई हामीले उम्मेदवारसमेत बनाएका छौँ । किनकि कांग्रेस सबैलाई समेटेर लैजाने र छहारी दिने एकमात्र लोकतान्त्रिक पार्टी हो । 
 
२) राप्ती नगरबाट मेयरमा उठ्दै हुनुहुन्छ, चुनावी प्रतिस्पर्धा कत्तिको छ ?
 
– खासै प्रतिस्पर्धीचाहिँ मैले देख्दिन । तर, हाम्रो प्रतिस्पर्धा एमालेसँग नै हुन्छ । लामो समयदेखि कांग्रेस जनप्रतिनिधिविहीन अवस्थामा रहँदा एमालेको वर्चश्व कायम रहँदा कुनै विकास निर्माणका कामहरु भएनन् । आजसम्म राप्ती समस्यै समस्या र अभावै अभावबीच गुज्रनु गरेको छ । एमालेले जे जति प्रचारमुखी कुरा गरे पनि ०५६ को निर्वाचनमा यस क्षेत्रबाट विजयी नेतृ सावित्री बोगटीले रातो किताबमा पारेका योजनाहरु कार्यान्वयन हुँदै गएका हुन् । त्यसको साख एमालेले उठाउँदै यहाँका जनतालाई भोट बैंकका रुपमा उपयोग गरेकोमात्र हो । कांग्रेस झुटको खेती गर्दैन । गर्न सक्ने र हुन सक्ने कुरामात्रै मतदातासँग गर्छ, त्यही कारण मतदाताको विश्वास हामीले जितेका छौँ । त्यसकै कारण जनलहर पनि बढेको छ । प्रतिस्पर्धाको दौडमा हामी धेरै अगाडि छौँ । 
 
३) राप्ती नगरमा तपाईंको उम्मेदवारी किन ? 
 
– नगरको अभाव र समस्या समाधान गर्न मेरो र कांग्रेसका सम्पूर्ण उम्मेदवार मित्रहरुको उम्मेदवारी हो । यस नगरमा विभेदमुक्त समाज निर्माण गर्न, भूमिहीन सुकुमबासीको व्यवस्थापन गर्न, पिछडिएका चेपाङ, तामाङलगायतका जनजाति, आदिवासी, दलित, अल्पसंख्यकहरुलाई आत्मनिर्भर र जीवनशैलीमा स्तरोन्नति गर्न, स्वास्थ्यमा गरिब तथा विपन्नहरुको सहज पहुँच पु¥याउन र गरिबीकै कारणले शिक्षाबाट वञ्चित भएका विद्यार्थीलाई शिक्षादीक्षा दिलाएर दक्ष बनाउन मेरो उम्मेदवारी हो । पार्टीलाई एनजीओकरण गरी व्यक्ति मोटाउने प्रवृत्तिलाई निरुत्साहित गर्न, ऐलानी जग्गालाई व्यवस्थित गरी नगरको सौन्दर्य झल्काउने किसिमका काम गर्न, खुरखुरेदेखि लोथरसम्म ढल निकास गर्न, पाँच वर्षभित्र बाटोघाटो र सिंचाईको व्यवस्था गर्ने अठोटका साथ मेरो उम्मेदवारी हो । 
 
४) मतदाताले तपाईंलाई नै मत दिनुपर्ने कारण ?
 
– हेर्नुहोस्, म प्रष्ट छु । देखेको र हुनसक्ने समस्या समाधानबारे मात्र व्याख्या गर्छु । नगरवासीलाई परिआएका बेला दिनरात नभनी सेवारत छु । न्यायोचित व्यवहार गरेको छु । यही माटोमा जन्मेर यहीँ शिक्षादिक्षा लिएर हुर्किएका कारण मप्रति नगरवासीको ठूलो लगानी छ । मप्रति दर्शाउनुभएको माया, गर्नुभएको विश्वास र सुम्पिनुभएको जिम्मेवारीले मलाई केही गर्ने ऊर्जा मिलेको हो । मप्रति गरेका आशा र भरोशा नै मतदाताको विश्वास हो । म उहाँहरुको अपेक्षाप्रति सधैँ जिम्मेवारपूर्ण, बफादार र प्रतिबद्ध छु । यिनै कारण हुन् मतदाताले मलाई मत दिनुपर्ने र दिने आधार पनि । 
 
५) राप्ती नगरपालिकालाई कस्तो बनाउने सोच राख्नुभएको छ ?
 
– मैले राप्तीलाई ‘आदर्श, विकसित र अनुशासित’ नगर बनाउने सोच राखेको छु । आदर्श नगरपालिकाको रुपमा मलुककै नम्बर १ बनाउने मेरो इच्छा छ । यहाँका नगरवासीलाई पर्ने कुनै पनि समस्याप्रति नगरप्रतिनिधि जवाफदेही रहने हो भने नगरवासी खुसी हुन्छन् र नगरप्रति जवाफदेही पनि हुन्छन् । जो नगरवासी आफ्नो नगरमा सम्मानपूर्वक, समतामूलक र बिनाभेदभाव बाँच्न सक्छन् उनीहरु पक्कै पनि नगरप्रति जवाफदेही बन्नेछन् । जनता खुसी हुनु आफ्नो नगरप्रति गर्व गर्नु भनेको सकारात्मक सोच हो । सकारात्मक सोचले नै सकारात्मक परिणाम ल्याउँछ । अनि मुलुकभरि नै खुसीको सञ्चार बढ्दै जान्छ । विकास निर्माणका काम नि अविश्वसनीय गतिमा सम्पन्न हुँदै जान्छन् । 
 
म विभिन्न देशविदेश घुमेर प्राप्त गरेको अनुभवले पनि समुन्नत नगरको परिकल्पना गरेको हुँ । समृद्ध नगर बनाउने भाव नगरवासीलाई आमसात् गराउने हो भने कृषि, पर्यटन, वन र पूर्वाधार विकासले गति लिँदै जान्छ । समस्या पहिचान गरेर आफूलाई त्यसमा समाहित गर्दै लैजाने हो भने असम्भव केही छैन । राप्तीलाई आदर्श, विकसित र अनुशासित नगर बनाउँछु, बनाएरै छाड्ने छु । 
 
६) चुनाव जित्ने आधारचाहिँ के देख्नुभएको छ ? 
 
– कांग्रेस भरोशाको केन्द्र हो भन्ने कुरा त मैले भनिराख्नु पर्दैन । देश र जनतालाई संकट पर्दा निर्णायक भूमिका खेलेर जनताप्रति अत्यन्त संवेदनशील हुने पार्टी कांग्रेस हो । त्यही पार्टीको मूल्य, मान्यता र आदर्श बोकेर जनतालाई सपना बाँड्ने होइन, सत्य बोल्नुपर्छ भनेर हिँड्ने उम्मेदवार भएकाले म मतदाताप्रति सत्य बोल्ने कार्यकर्ताका रुपमा परिचित छु ।
 
यही ठाउँमा जन्मिएर, हुर्किएर भोलि यही ठाउँमा मर्नु छ भने किन आश्वासनमात्रै बाँड्ने ? भर्खरै नगरपालिका बनेको र पर्याप्त आयश्रोतसमेत नरहेको नगरबारे यहाँका मतदाता बेखबर हुनुहुन्न । यस नगरको विकास गर्ने अभियन्तामात्रै मतदाताले खोज्नु भएको छ । मप्रति नगरका अधिकांश आमाबुबा, दाजुभाइ, दिदीबहिनीको असाध्यै विश्वास र समर्थन रहेको छ । उहाँहरुको मायाममता र सद्भाव रहेको र मैले सामाजिक रुपमा गरेका विगतका योगदानको मूल्याकन गरेर मप्रति देखाउनुभएको प्रतिबद्धता नै मेरो चुनाव जित्ने आधार हो । र, मेरो विजय पनि सुनिश्चित छ ।