मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

राजनीति र समाजसेवा नै मेरो सम्पत्ति : शंकर लामा

राजनीति र समाजसेवा नै मेरो सम्पत्ति : शंकर लामा


रत्ननगर नगरपालिकाको मुटु मानिने वडा नं १ का ४५ वर्षीय शंकर लामा नेपाली कांग्रेसका सर्वसम्मत वडाअध्यक्षका उम्मेदवार हुन् । ०४६ सालको जनआन्दोलनदेखि राजनीतिमा सक्रिय उनी ०५१ सालदेखि तरुण दलमा आवद्ध भएका हुन् । तरुण दलको नगरसभापति हुँदै कांग्रेसको वडा सभापतिको जिम्मेवारी उनले पूरा गरेका छन् । राजनीति र समाजसेवालाई नै आफ्नो धर्म सम्झने उनी ०६२/६३ को दोस्रो जनआन्दोलनमा पनि उत्तिकै सक्रियतापूर्वक आन्दोलनमा सहभागी भएका युवा नेता हुन् । 
 
बकुलहर माविको अभिभावक संघको अध्यक्ष र व्यवस्थापन समिति अध्यक्षको भूमिका निभाइसकेका उनी भानु प्रेरणा पुस्तकालय, चितवन तामाङ घेदुङ संघलगायत विभिन्न संघसंस्थामा आवद्ध रहेर सामाजिक सेवा पु¥याइसकेका छन् । सामाजिक न्याय र जनतालाई अधिकारसम्पन्न बनाउन स्थानीय निकायमा उम्मेदवारी दिएको बताउने उनले गाउँसमाजकै परिवर्तनका लागि आफू समर्पित भइरहने प्रतिबद्धता जनाएका छन् । प्रस्तुत छ– युवा नेता लामासँग हिमालय खबरका केशव भट्टराईले गरेको सक्षिप्त कुराकानी– 
 
१) वडाअध्यक्षमा तपाईंको उम्मेदवारी के का लागि ? 
 
–पार्टीका साथीहरुले अगाथ आस्था र विश्वासका साथ सर्वसम्मत उम्मेदवार बनाएर सद्भाव देखाउनु भएकाले मैले आफ्नो जिम्मेवारी पूरा गर्न र वडा नं १ मा विकास र परिवर्तनको अनुभूति गराउन मेरो उम्मेदवारी हो । पार्टीभित्र कैयन क्षमतावान् र योग्य साथीहरु हुँदाहुँदै पनि मलाई जुन नेतृत्व गर्ने मौका प्रदान गर्नुभयो, त्यसलाई मैले गम्भीरताका साथ लिएको छु । दिग्गज र विद्धान् साथीहरुसँग सुझाव र सल्लाह लिएर रत्ननगरको मुटुका रुपमा रहेका यस वडाको समग्र विकास गर्नका लागि मेरो उम्मेदवारी हो । 
 
२) पार्टीका साथीहरुको त विश्वास जित्नुभयो, मतदाताको नि ? 
 
–मेरो वडामा व्यक्तिगत र पार्टीगत रुपमा मतदातासँग घुलमिल भएको, यहाँका हरेक समस्याबारे जानकार भएको, घरदैलोमा पुगेको कारण मतदाताको मन जित्न सफल बलियो उम्मेदवार हुँ । यहीँ जन्मे–हुर्केको नाताले पनि यहाँका मतदाताबीच म लोकप्रिय नै छु । सामाजिक तथा शिक्षा क्षेत्रमा जोडिएका कारण पनि मतदाताको विश्वास जित्दै आएको छु । पार्टीगत रुपमा प्रतिस्पर्धा भए पनि व्यक्तिगत रुपमा मैले कसैलाई प्रतिस्पर्धी देखेको छैन । मलाई धेरै नै आशा छ मैले मतदाताको पनि विश्वास जितेर अमूल्य मत आर्जन गर्ने छु । 
 
३) मतदाताले तपाईंलाई नै किन भोट दिने ?
 
–जीवनको साढे चारदशकको यात्रामा मेरो कसैसँग पनि वैरभाव छैन । अहिलेसम्म कोही कसैमाथि अन्यथा व्यवहार गरेको जानकारी मलाई छैन । वडावासीबीच लोकप्रिय र विकासप्रेमी युवा भएकाले मबाट धेरैको आशा र भरोसा रहँदै आएको छ । राजनीति र समाजसेवा नै मैले आर्जन गरेका सम्पत्ति हुन् । यीबाहेक मेरो कुनै पेसा÷व्यवसाय छैन । समाज बुझेको र समाजका समस्या बुझेको नेतृत्वलाई मतदाताले भोट दिने भएकाले मेरो हकमा यी योग्यता हासिल गरेको व्यक्ति हुँ म । त्यसैले मतदाताले मलाई भोट दिएर जिताउने अपेक्षा गरेको छु । 
 
४) चुनाव जित्ने आधार के छ ? 
 
–कांग्रेस समावेशी लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । त्यही समावेशी सिद्धान्तअनुसार मलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको हो । यस वडा कांग्रेसको जनाधार अत्यन्त बलियो भएको ठाउँ हो । सयौँ संगठित सदस्य, हजारौँ पार्टीका समर्थक रहेको यस वडामा अन्य पार्टीबाट पनि विश्वासको मत आर्जन गर्न सक्ने संभावना देखेको छु । यस्तै तटस्थ मतदाताले मलाई सद्भाव राख्नेमा आशावादी छु । यस वडामा जनजाति, थारु आदिवासी, दलितहरुको अधिकांश मत मलाई आउने देखेको छु । किनभने, म यही जनजाति समुदायकै उम्मेदवार रहेको कारण जनजातिको भोट मलाई नै प्राप्त हुनेमा म ढुक्क छु । 
 
सबैलाई समेटेर अगाडि लैजाने र वडालाई समावेशी बनाउने क्षमता मसँग छ । युवा, महिला, वृद्धवृद्धा सबैलाई समेटेर समुन्नत वडाका रुपमा विकास गर्ने योजना पनि मसँग छ । यही समाजको दुःखसुख र पीरमर्कामा सधैँ सहभागी हुँदै आएका नाताले पनि सबैको सद्भाव र सहयोग मलाई प्राप्त हुन्छ भन्ने आत्मविश्वास छ । मेरो जितका आधार पनि यिनै हुन् । 
 
५) वडा विकासका योजना के के छन् ?
 
–यस वडामा देखिएका समस्या नगरका साझा समस्या नै हुन् । सडकको पूर्वाधार विकास गर्नुपर्ने, ग्राभेल भएकालाई कालोपत्रे गर्नुपर्ने र कालोपत्रे भएकाहरुलाई स्तरोन्नति गर्नुपर्ने छ । देवौली कुलोलाई व्यवस्थित गर्ने, सफा र वातावरणमैत्री, बालमैत्री, युवामैत्री, अपाङ्गमैत्री वडा बनाउन कार्यक्रमहरु ल्याउने छु । यहाँका प्रमुख समस्याहरु पहिचान गरी स्वास्थ्य, शिक्षालगायत विभिन्न आवश्यकताहरु विभिन्न संघसंस्थाहरुसँग समन्वय गरेर समाधान गर्ने छु । यहाँ रहेका जनजाति, आदिवासी, दलित, मुस्लिम, अल्पसंख्यक सबैको उत्थानमा सहयोग पु¥याउने छु । विज्ञहरुसँग सल्लाह र अन्तक्र्रिया गरेर आवश्यक योजना पूरा गराउन समर्पित हुनेछु ।