मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेन्जरदेखि अमेरिकी बीमा कम्पनीको सफल एजेण्टसम्म

रेन्जरदेखि अमेरिकी बीमा कम्पनीको सफल एजेण्टसम्म


(जीवन अचम्मको छ । साधारण लाग्छ हेर्दा । तर बुझ्दै जाँदा यो गहिरो र रहस्यमयी  लाग्छ । सामान्य लाग्ने मानिसका पनि जीवनमा अनेक असमान्य घटना घट्छन् । कुनैबेला कसैको जीवनका ती अनुभवहरू अरुकालागि उदाहरण र प्रेरणा श्रोत बन्न सक्छन् । मानिसको जीवन त एउटै हुन्छ तर त्यहाँ धेरै मोडहरू पार गर्नु पर्ने हुन्छ । जीवनभित्र संघर्षका कथाहरू हुन्छन् । खुशी र उन्मादका क्षणहरु आउँछन् । आफूले कल्पनै नगरेका सफलताका मोडहरू फेला पर्छन् । यिनै सेरोफेरोमा हामीले, प्रवासमा बसेर समयसँग कुस्ती खेल्दै जीवनको यात्रालाई डोर्याइरहेका नेपालीहरूको खुशी अनि कथा व्यथा प्रस्तुत गर्ने  यो नयाँ स्तम्भ प्रारम्भ गरेका छौँ – सम्पादक )  
 
रेन्जरदेखि अमेरिकी बीमा कम्पनीको सफल एजेण्ट –बच्चा तिवारी 
 
सर्लाही जिल्लाको गाउँ सिमरा । भारत, बिहारको सिमासंग जोडिएको यो गाउँमा २०२६ साल भदौ २९ गते रासनारायण तिवारीको घरमा कान्छो छोरो जन्मियो । मधेसमा छोरा जन्मिनु त्यसै पनि असाध्यै खुशीको कुरा मानिन्छ । न्वारानमा उसको नाम बच्चा बाबु तिवारी राखियो । छोरालाई भने पढाउनै पर्ने मान्यता बोकेको त्यो मधेसी परिवारले स्कुल जाने उमेर पुगेपछि बच्चा बाबुलाई श्री तेजनारायण दयावती मिडिल स्कुल भर्ना गरिदिए । स्कुलमा उसको बिचको नाम बाबु हटाएर बच्चा तिवारी हुन पुग्यो । निम्न वर्गीय किसान भए पनि बच्चाका बुबा त्यो बेला पट्वारी काम गर्थेँ । त्यसैले छोरालाई भरथेग गर्दै पढाउन सके ।  
 
त्यो सर्लाही सुदूर गाउँको सिंगाने, फाटेको कमीज र धर्के पाइजामा लगाएर हुर्केको केटो, आज अमेरिकाको प्रतिष्ठित बीमा कम्पनी, न्यूयोर्क लाइफ इन्सुरेन्समा सफल एजेण्ट भएर समुदायमा चर्चित बनेको छ। गाउँमा स्कूले जीवन बिताउँदाका कठिन क्षणहरु सम्झिदा अहिले उनलाई एकादेशको कथाजस्तै लाग्छ । तर यथार्थ त्यस्तै थियो ।  त्यति बेला साइकल समेत चढ्ने सामर्थ्य थिएन अहिले लेक्सस कार बच्चाकोलागि सामान्य भएको छ । आफूले गाउँको गरिब स्कुलबाट कालो पाटीमा कखरा सिकेर शिशा कलम हुँदै एसएलसी पास गर्न हम्मे हम्मे भएको त्यो विगत स्मृतिमा ताजै होला । तर उनका छोरा छोरी अहिले अमेरिकाको स्तरीय स्कुलमा अध्ययन गर्दैछन् । बच्चालाई अब छोराछोरीको चिन्ता लाग्न छोडेको छ । भन्छन्- राम्रो शिक्षा पाएपछि उनीहरू आफैँ सक्षम हुन्छन् । आफ्नो जीवन आफै पाल्न सक्छन् ।  
 
तर अहिलेको अवस्थासम्म आइपुग्न बच्चा तिवारीले जीवनका अनेकौँ मोडहरु पार गर्नु पर्‍यो । अनेक उकाली ओराली पार गर्दै उनको जीवन यात्रा यहाँसम्म आइपुगेको छ । 
 
रेन्जर बन्ने धोको 
पढेपछि  छोराले जागिर खानै पर्छ भन्ने मान्यताले तिवारी परिवारलाई बाध्य पारेको थियो । परिवारको खर्च धान्न पनि जागिर आवश्यक थियो त्यति बेला । गाउँमा रेन्जर बनेर जागिर खानेहरुको रवाफ देखेर बच्चालाई पनि त्यतैतिर हाम्फाल्न रहर जाग्यो । त्यसो त इन्जिनियर बनेर पैसा कमाउने धोको पनि उनलाई नभएको हैन । तर भाग्यले साथ दिएन । सिभिल इन्जिनियर हुन जाँच दिए तर पार लागेन । अन्तत: फरेष्ट्री पढ्न वन विज्ञान अध्ययन संस्थान हेटौँडा पुगे । २०४५ सालमा रेन्जर बनेपछि बच्चाको जीवन यात्राले एउटा उकाली पार गर्‍यो । 
 
सर्लाहीको तातो हावापानीमा हुर्किएको मधेसी केटो  रेन्जर बनेर सिन्धुपाल्चोकको चिसो सिरेटो खान पुग्यो । सुनकोशी किनारको बाहॣबिसे सेक्टर हेर्न खटिएपछि पहाडी वातावरणले बच्चालाई लोभ्यायो । सबैसँग सजिलै घुलमिल हुनसक्ने स्वभावले त्यहाँ बसुन्जेल उनलाई कुनै समस्या भएन । तर त्यो जागिर अस्थायी थियो । 
 
२०४६ सालमा लोकसेवा पास गरेपछि स्थायी रेन्जर बनेर उनी बन अनुसन्धान तथा सर्भेक्षण विभाग पुगे । त्यहाँ डीएफआइडीको प्रोजेक्टमा झन्डै दश वर्ष काम गरे । त्यहीबेला बच्चालाई देश विदेश घुम्ने अवसर मिल्यो । काठमाडौँलाई राम्ररी चिने । नयाँ नयाँ साथीभाईहरु बनाए । ब्रिटिस प्रोजेक्ट हुनाले तलब भत्ता राम्रो थियो, घरमा परिवारलाई भरथेग गर्न थाले ।  
 
अर्को छलाङ्ग
सुब्बाको जागिर कति खाने ! अझै अघाडि जानु पर्छ भन्ने बच्चाको दिमागले योजना बनाउन थाल्यो । लगनशील भएर लागेपछि सफलता हात लाग्छ, उनलाई पनि त्यस्तै भयो । वीएस्सी फरेस्ट्री अध्ययन गर्न पेशावर ,पकिस्तानको इन्स्टिच्युट अफ फरेस्ट्रीमा उनले भर्ना पाए । 
 
सन् १९९८ मा त्यहाँको पढाइ सकेर नेपाल फर्केपछि सुब्बाबाट अधिकॢत बने । सहायक बन अनुसन्धान अधिकॢत भएर बबर महलमा बच्चाको पोस्टिङ्ग भयो । त्यहाँ खासै कामको बोझ थिएन । फुर्सदको समय त्यसै खेर फाल्नु भन्दा केही पार्ट टाइम अरू काम गर्न पाए अतिरिक्त  पैसा आउने र  समयको सदुपयोग  पनि हुने सोच उनको तेज दिमागमा पलायो । 
 
सन् १९९९ मा बच्चाले बीमा संस्थानबाट एजेन्टको परीक्षा पास गरेर लाइसेन्स लिए । नेपाल जीवन बीमा कम्पनीमा अभिकर्ता बनेर पार्ट टाइम काम गर्न थाले । कामप्रतिको लगन र सक्रियताले उनलाई सफल अभिकर्ता बनायो । ठूल्ठुला व्यापारी , उध्योगपति र सरकारी हाकिमहरुसंग उनको सम्पर्क बढ्न थाल्यो ।  
सन् २००० मा भारतीय जीवन बीमा निगम नेपालमा सुरु भयो। अलिक ठुलै कम्पनीमा काम गर्ने दाउ हेरेर बसेका बच्चालाई यो सुनौलो अवसर थियो । पुरानो कम्पनी छोडेर उनले भारतीय जीवन बीमा निगममा काम थाले । बच्चाको काम गर्ने आक्रामक शैली र कामप्रतिको इमान्दारीले पहिलो वर्षमै  सफलता हात लाग्यो ।उनले Million Dollar Round Table (MDRT) को Court of The Table पुरस्कार पाए ।  पुरस्कार त पाए नै, त्यही थाप्न उनलाई अमेरिका आउने अवसर पनि थपियो । २००३ मा बच्चा रङ्गीन शहर लासभेगस पुगेर पुरस्कार थापे । तीन महिना मज्जैले अमेरिका घुमे । साथीहरूले एसाइलम हालेर अमेरिकै बस भनेर सुझाव दिँदा पनि उनको मनले मानेन । आफ्नै देशभित्र केही गर्छु भन्ने हुट्हुटी बाँकी थियो । 
 
नेपाल फर्किएपछि फेरि बच्चालाई अर्को पुरस्कारले पछ्यायो । भारतीय जीवन बीमा निगमको बोनस   पुरस्कार जितेर मारुती कार पाए । अब त उनको जीवन शैली नै परिवर्तन हुनथाल्यो । बन विभागको एउटा सेक्सन अफिसर मारुती कार चढेर अफिस आउने जाने गर्न थाल्यो । इर्ष्या गर्नेहरु बढ्न थाले । उनको सरुवा रुकुम रोल्पातिर हुन्थ्यो । तर त्यो सरुवा कार्यान्वयन नहुँदै बच्चाको थमौति भैसक्थ्यो । आफ्नी पत्नी मधु तिवारीको नाममा ठेक्का पट्ठा गर्न थाले । त्यो काम पनि सफल हुँदै गयो । पैसाको अभाव भएन । आर्थिक कठिनाइ भोग्नु परेन । 
 
फेरि पनि सपना अमेरिकाको
अमेरिका घुमेर फर्केको पाँच वर्षपछि फेरि अमेरिकै जाने रहरमा डीभी हाले । शायद बच्चाको भाग्यमा प्रवाश नै लेखिएको रहेछ, उनलाई डीभी पर्‍यो । नपुग्दो थिएन, सम्पति जोडेकै थिए । तर डलरको मोहले २००८ मा उनलाई अमेरिका हुत्यायो । टेक्सासको डालसमा उनले भारी बिसाए । तर जसको भर गरेर यता आए उसैले वास्ता नगरेपछि केही समय हतास बने । पत्नी र दुई छोराछोरी सँगै लिएर आएकोले व्यस्थापन  गर्न त्यति सजिलो थिएन । क्रेडिट नभै एपार्टमेन्ट समेत नपाउने अवस्था थियो । गतिलै रकम बोकेर आएका थिए, छ महिनाको भाडा अग्रिम दिएपछि कोठा पाए । 
 
अब उनको अमेरिकी जीवन प्रारम्भ भयो । भाग्यले नेपालमा आफूसँगै काम गरेको साथी महेस उप्रेती भेट भयो । छोराछोरीको स्कुलदेखि सोसियल सेक्युरिटी कार्ड, गाडी किन्नेदेखि ड्राइभर लाइसेन्स बनाउने कामसम्म महेसले ठुलो सहयोग गरे । त्यसैले बच्चा अहिले पनि उनको नाम गर्वसाथ लिन्छन् ।  
 
एउटा कपडा  कम्पनीमा काम पाए । नयाँ लुगाहरुमा प्राइस ट्याग लगाउने काम । तर १४/१५ घण्टा उभिएर काम गर्नु पर्थ्यो । तीन महिना लखतरान भएर काम गर्दा पनि खासै उपलब्धि हुने छाँट देखेनन् । नेपालबाट ल्याएको पैसा पनि सकिने अवस्था आइपुग्यो । उनलाई लाग्यो अब ड्यालसमा आफ्नो जीविका चल्दैन । पत्नी मधुको आफन्त मार्फत बच्चा परिवार लिएर ह्युस्टन सरे । त्यहाँ आइपुग्दा घरखर्च धान्ने पैसा नपुग्ने स्थिति भएपछि मधुलाई एउटा भारतीय रेष्टुराँमा काम लगाए । उनले कमाउने पैसाले घरखर्च चल्न थाल्यो । बच्चालाई भने बीमा एजेण्ट भएर नेपालमा काम गरेको ह्याङ्गओभर बाँकी नै थियो । एक दिन भारतीयहरूको स्टोरहरुमा सित्तैमा पढ्न पाइने समाचारपत्रमा छापिएको विज्ञापनमा उनको आँखा पर्‍यो । न्यूयोर्क लाइफ इन्सुरेन्सले बीमा एजेण्ट मागेको थियो । बच्चाले आफ्नो जेठानसंग कुरा गरे । तर जेठानलाई आफ्नो ज्वाँइले यस्तो काम गर्न सक्छन् भन्ने विश्वास भएन, बच्चाले प्रोत्साहन पाएनन ।  
 
उनी पनि के कम ! नेपालमा बीमासम्बन्धी त्यत्रो अनुभव र सफलता पाइसकेकोले भाग्ने कुरा थिएन । आत्मविश्वास थियो । त्यस सम्बन्धी किताबहरू खोजेर पढे, परीक्षा दिए । नभन्दै सजिलै पास गरे । नियुक्ति दिने म्यानेजरलाई भेटे । उसले जाँच लियो । त्यहाँ पनि सफल भए । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन ।  
 
ह्युस्टनमा बच्चा तिवारी न्यूयोर्क लाइफ इन्सुरेन्सको अब्बल एजेण्टमा गनिन्छन् । प्रत्येक वर्ष उनले  Million Dollor Round Table(MDRT) पुरस्कार पाउने गरेका छन् । उनको कामप्रतिको लगनशीलता र आत्मविश्वास कै कारण न्यूयोर्क लाइफ इन्सुरेन्स कम्पनीको President Council  सदस्य बनेका छन् ।  उनले कम्पनीबाट Life Stars Individual र Centurian Award पाएका छन् । उनलाई न्यूयोर्क लाइफ इन्सुरेन्सको सुपर स्टार मानिन्छ, २०११ देखि नै यो पुरस्कार पाएका छन् । 
 
सामुदायिक सक्रियता 
१४ वर्ष अघि आमा गुमाएका बच्चाले तीन महिना अघि मात्र आफ्नो बुबा पनि गुमाए । उनी त्यसै पनि सामुदायिक काममा कहिल्यै नथाक्ने व्यक्ति हुन् । आमाबुबाको अभावले बच्चालाई समाज र सामाजिक कामप्रति अरू मुखरित बनाएको छ । नाम बच्चा भए पनि व्यवहार र स्वभावले उनी परिपक्व देखिन्छन् । ह्युस्टनका टीनएजेर्स, तन्नेरी, अधबैंसे र पाकाहरुबीच उनी उत्तिकै घुलमिल हुनसक्छन् । नेपाली मात्र हैन बच्चा भुटानी, पन्जाबी, बङ्गाली र गुजराती समुदायमा समेत भिजेका छन् । ह्युस्टन नेपाली समाजमा कुनै कार्यक्रम गर्नु पर्दा सहयोग र सौजन्यको सूचिमा बच्चा तिवारी कै नाम पहिला आउँछ । उनी खुलेर सहयोग गर्छन् । त्यसैले उनी मनकारी छन् ।  नेपाली समुदायप्रति सहयोगी र सद्भाव भएकै कारण बच्चा नेप्लिज एसोसिएसन अफ ह्युस्टनका सहायक कोषाध्यक्ष छन् । 
 
यहाँको व्यस्त जीवनमा परिवारलाई समय दिन निक्कै कठिन हुन्छ । तर उनकी पत्नी यस्तो अप्ठ्यारो बुझ्छिन् । बच्चा भन्छन् – मधुको सहयोग नपाएको भए म आफ्नो व्यवसाय र सामुदायिक काममा कसरी लाग्न सक्थें । सन् १९९९ मा पहिलो भेट मै मधुलाई मन पराएर  विवाह गरेका बच्चा आज पनि उनको फ्यान छन् । परिवारलाई जोडेर, दुख र सुख दुबैबेला साथ दिने आफ्नी पत्नीप्रति उनी गर्व गर्छन् । 
परिवारको साथमा बच्चा तिवारी 
उनलाई जीवनको यो मोडसम्म आइपुग्न लामो समय त लाग्यो तर धेरै कठोर संघर्ष झेल्नु परेन।   ह्युस्टन बसाइ सरेपछि बच्चाको सामुदायिक सक्रियता बढेको छ । पारिवारिक, सामाजिक सबैरुपमा  खुशी छ जीवन । आर्थिक समस्या केही छैन । तर पनि उनलाई नेपालको मायाले पछ्याइरन्छ । नेपालमा रहेको कुनै पनि सम्पत्ति बेचेका छैनन् । " रिटायर्ड लाइफ " नेपाल मै बिताउने उनको योजना छ । त्यहाँ बसेर गरिब असहायहरुको सेवा गर्ने आफ्नो धोको रहेको उनले बताए । थाहा छैन, यहाँको सुख सुविधा र रङ्गीन जीवन छोडेर बच्चा तिवारी साँच्चिक्कै नेपाल फर्केलान् ? यो प्रश्नको उत्तर  पाउन भने उनको जीवनको उत्तरार्ध मोडसम्म पर्खनु पर्ला ।