मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

रत्ननगरलाई पर्यटकीय र वातावरणमैत्री सहर बनाउँछु : भेषराज दुवाडी

रत्ननगरलाई पर्यटकीय र वातावरणमैत्री सहर बनाउँछु : भेषराज दुवाडी


भेषराज दुवाडी, चितवनका चर्चित एवम् सफल युवा व्यवसायी हुन् । रत्ननगर–१३, जयमंगला निवासी ४३ वर्षीय दुवाडीको सामाजिक क्षेत्रमा क्रियाशीलता देख्दा उनी व्यवसायीभन्दा बढी सामाजिक अभियन्ता हुन भन्न करै लाग्छ । नेपाल वैदिक प्रज्ञा प्रतिष्ठान, नेपालका अध्यक्ष रहेका उनकै सक्रियतामा जयमंगलामा श्रीराम वैदिक गुरूकुलम् सञ्चालित छ । चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष, क्षेत्रीय होटल संघ सौराहाका द्वितीय उपाध्यक्ष, रोटरी क्लब अफ रत्ननगरका निर्देशक रहेका उनी गोर्खा चितवन सम्पर्क समाजका उपाध्यक्ष पनि हुन् । दर्जनौँ संघसंस्था एवम् व्यावसायिक प्रतिष्ठानमा आवद्ध रहेका उनको व्यावसायिक सक्रियतासँगै राजनीतिक क्रियाशीलता पनि उत्तिकै छ । 
 
रत्ननगर–१, निपनीस्थित होटल स्टार व्याङ्क्वेट प्रालिका प्रबन्ध निर्देशक रहेका उनको भरतपुर–९, हाकिमचोक र काठमाडौँ–१५, स्वयम्भुलगायतमा व्यावसायिक सञ्जाल छ । ०४६ सालको जनआन्दोलनदेखि नेविसंघको सक्रिय राजनीति सुरू गरेका दुवाडी विद्यार्थी आन्दोलनमा करिब तीनसाता जेल जीवन भोगेका थिए । पारिवारिक प्रेसरका कारण जेलमुक्त भए पनि आन्दोलनमै लागेका कारण प्रहरी धरपकडपश्चात् उनी सुर्खेत र नेपालगञ्जमा भूमिगत जीवन बिताउनु परेको थियो । नेतृत्व तहमा रहेर राजनीति नगरे पनि उनी पार्टीका हरेक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । 
 
०६२/०६३ को आन्दोलनमा काठमाडौँमा उनले आफ्नो होटलमा पार्टीका शीर्षस्थ नेताहरुलाई सेल्टरका रुपमा राख्ने काम गरे । यस्तै होटल स्टार व्याङ्क्वेट पनि रत्ननगर कांग्रेसको पार्टी कार्यालय नै हो भन्दा फरक पर्दैन । कांग्रेसको हकहित र सुदृढीकरणका लागि अविचलित रुपमा कांग्रेसको मूल मर्म अनुशरण गर्दै आएका उनी आसन्न स्थानीय तहको निर्वाचनमा रत्ननगर नगरपालिकाको मेयरमा आकांक्षी बनेका छन् । प्रस्तुत छ, विकासप्रेमी, समाजसेवी र निष्ठाको राजनीति गर्ने दुवाडीसँग हिमालय खबरका लागि केशव भट्टराईले गरेको कुराकानीको सारसंक्षेप– 
 
१) मेयरमा तपाईंको उम्मेदवारी केका लागि ? 
–रत्ननगरको गहनाका रुपमा विश्वकै चर्चित र तेस्रो गन्तव्य सौराहाको पर्यटकीय सौन्दर्य बढाउन मेरो उम्मेदवारी हो । जैविक विविधता र सांस्कृतिक संभ्यता झल्काउन सौराहालाई जसरी विकास गरिनुपर्ने हो त्यो हुन सकेको छैन । यो पछिल्लो समय कंक्रिटको जंगल बन्दैछ । यहाँ वातावरणमैत्री र स्थानीय संस्कृति झल्काउने पर्यटकीय बजारका रुपमा परिवर्तन गर्नका लागि मेरो आकांक्षा हो । रत्ननगर पर्यटन, कृषि र उत्पादनमुखी उद्योगका लागि उर्वर र संभावनायुक्त क्षेत्र हो । अर्गानिक खेतीलाई प्रोत्साहन गर्न र रत्ननगरलाई पर्यटकीय, वातावरणमैत्री सहर स्थापनाका लागि पनि मेरो उम्मेदवारी हो । 
 
२) करिव दुई दर्जन आकांक्षीबीच तपाईंलाई के आधारमा पार्टीले टिकट दिने ? 
 
–म एक युवा उद्यमी हुँ । नगरभित्र देखिएका अनियमितता हटाउन, नगरवासीमा अन्यौलता चिर्न र नगरपालिकामा पुरानो प्रणाली हटाएर गतिशील र गुणस्तरयुक्त बनाउँदै चुस्त व्यवस्थापन गर्न सक्ने पर्याप्त आधार मसँग छ । 
 
३) तपाईं राजनीतिज्ञभन्दा बढी व्यवसायीकै रुपमा परिचित हुनुहुन्छ । व्यावसायिक मान्छे मेयर बनेर कसरी काम गर्न सक्नुहुन्छ ? 
 
–हेर्नुस्, व्यवसाय पनि एउटा सिस्टमा चल्ने चिज हो । विगत केही वर्षदेखि व्यवसायमा भन्दा सामाजिक क्षेत्रमै बढी समय दिएको छु । संयन्त्रले गर्दा नै यो सम्भव भएको छ । फेरि मेरो बिजनेस प्रायः पार्टनरशीपमा छ । सुरूदेखि नै सामाजिक काम र नगरको विकास गर्ने वातावरणले मलाई प्रेरित गरेकाले मसँग समय छ । व्यावसायिक राजनीतिमार्फत् मैले धेरै संघसंस्थाको हकहित र विकासका लागि धेरै मह¤वपूर्ण भूमिका निर्वाह गरेको छु । 
 
जस्तै, चितवन उद्योग संघले ल्याएका दुईवटा प्रोजेक्टमा मेरो प्रभावकारी भूमिका छ । भरतपुरमा चितवन एक्पो सेन्टर स्थापना गर्ने र शक्तिखोरमा चितवन औद्योगिक क्षेत्र खोल्ने जुन दुईवटा योजना छन्, त्यसमा मैले समन्वयकारी भूमिका खेल्दै आएको छु । यसले सिंगो पर्यटनमा सकारात्मक भूमिका खेल्ने छ । 
 
४) रत्ननगरको समग्र विकासका लागि तपाईंको एजेन्डा के के छन् ? 
 
–रत्ननगरमा विशेषगरी रातो किताबमा परेर पनि ओझेलमा परेको क्षेत्रीय रंगशाला शिलान्यास भएर स्थगन हुन पुग्यो । उचित स्थानको पहिचान गरेर क्षेत्रीय रंगशाला बनाउने मेरो पहिलो एजेन्डा हुनेछ । यस्तै, रत्ननगरमा व्यवस्थित र आधुनिक वधशाला बनाउने अर्को योजना छ । सौराहालाई विश्वभर पहिचान गराउन संसारकै अग्लो गैंडाको स्तुपा निर्माण गरी गार्डेन र फन पार्क बनाउने मेरो लक्ष्य छ । सौराहा जाने एउटामात्रै पुल छ, साँघुरा सडक छन्, सौराहाको रुपरेखा नै बिग्रिएको अवस्था छ । यसको स्तरोन्नति गरी बाह्य तथा आन्तरिक पर्यटक बढाउने योजना मैले ल्याउने छु ।
 
पिठुवा, पञ्चकन्या र रत्ननगर क्षेत्र दूध, केरा र फलफूलका पकेट क्षेत्र हुन् । व्यावसायिक प्रवद्र्धनका लागि सिंचाइ, मल बीउबिजनलगायत संभावनाअनुसार कृषक दाजुभाइलाई प्रोत्साहन दिँदै उनीहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्नेछु । ‘सिंगो रत्ननगर, पर्यटकीय नगर’ भन्ने नारालाई सार्थकता प्रदान गर्न नगरभित्र कोही पनि निरक्षर नहुन्, बरोजगार नरहून्, कोही पनि स्वास्थ्य सेवाबाट वञ्चित नरहून् भन्नेमा म सजक छु । त्यसको महसुस नगरवासीले गर्न पाउने छन् । यस्तै, जनजाति, आदिवासी, धार्मिक तथा सांस्कृतिक गहनाको जर्गेना गर्न सबैलाई समन्वय गरी जनभावना बुझेर सुशासनको प्रत्याभूति पनि दिलाउने छु । नगरवासीलाई शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासन दिलाउने छु । 
 
५) रत्ननगरमा सुधार गर्नुपर्ने समस्या के के महसुस गर्नुभएको छ ? 
 
– पर्यटकीय नगरी भइकन पनि सडक÷बाटोको समस्या यथावत छन् । भएका सडक साँघुरा, अतिक्रमित र जीर्ण छन् । त्यसलाई मापदण्डअनुसार मर्मत तथा स्तरोन्नति गर्नुपर्ने देखिन्छ । जग्गा खण्डिकरण (प्लटिङ)लाई व्यवस्थित गर्नुपर्ने छ । खोला, कुलो, सिमसार र मुहानलाई व्यवस्थित गर्नुपर्ने छ । नगरभित्र रहेका सार्वजनिक जग्गालाई नगरको दायरामा ल्याएर विकासका संरचना निर्माण गर्नुपर्ने छ । खहरे खोला, कयर खोला, राप्ती, बूढी राप्तीलगायतलाई तटबन्ध गरी बाढीपहिरोबाट जोगाउनु पर्ने छ । 
 
अन्तर्राष्ट्रियस्तरको सिटी हल, फन पार्क र गैंडाको प्रतिमा निर्माण गर्नुपर्ने छ । सुकुम्बासी समस्या छ, यसको समाधानका लागि एकीकृत बस्ती निर्माण गरी भौतिक पूर्वाधारसहित रोजगारीको सिर्जना गर्र्नुपर्ने छ । 
 
६) स्थानीय निकाय अधिकारसम्पन्न बनेको छ । त्यसको क्षेत्र पनि फराकिलो भएको छ । कसरी नेतृत्व प्रदान गर्नुहुन्छ ? 
–सरकारले दिएको म्यान्डेटअनुसार त्यसको भरपू्र उपयोग गर्न मसँग नेतृत्व क्षमता छ । सिंहदरबारको अधिकार जनताको अपेक्षाभन्दा बढी महसुस गर्ने गरी नेतृत्व प्रदान गर्न म कटिबद्ध छु । वडा–वडाबाट प्रतिनिधित्व गर्ने साथीहरु र कर्मचारीहरुसँग समन्वय गरेर आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सक्छु । 
 
७) चुनाव जित्न प्रतिस्पर्धीको सामना गर्दै मतदाताको मन जित्नुपर्छ । तपाईं मतदातामाझ कति लोकप्रिय हुनुहुन्छ ? 
–चुनाव जित्ने आधार मैले राम्रोसँग विश्लेषण गरेको छु । आवश्यक रणनीतिबारे पनि मलाई राम्रो ज्ञान छ । देशको परिस्थिति बुझेर सकारात्मक सोच राख्ने उद्यमी भएकाले सचेत नागरिक र सबै नगरवासीले मलाई कुनै न कुनै रुपमा चिन्नुहुन्छ । सबै वडाहरु राम्रोसँग घुमेको, उहाँहरुसँगको आत्मीयता र भावनाका कारण मेरा मतदाता धेरै हुनुहुन्छ ।
 
र, व्यक्तिगत प्रभावले पनि प्रतिस्पर्धी पार्टीको भोट र न्यूट्रल भोट दिन मतदाता आतुर हुनुहुन्छ । मेरो आन्तरिक तथा प्रतिद्वन्द्वीसँग कुनै प्रतिस्पर्धा छैन । मैलै आफूलाई कुनै पनि मानेमा अयोग्य ठानेको पनि छैन । पार्टीले मलाई टिकट दिलाउनेमा म आश्वस्त छु । र, नगरमा अत्यधिक बहुमत ल्याउन र मेयर, उपमेयरसहित वडावडामा कांग्रेसलाई स्थापित गराउन पूर्ण रुपमा समर्पित रहने छु ।