मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

बाँडिन चाहन्न, मलाई नेपाली हुनुमै गर्व छ

बाँडिन चाहन्न, मलाई नेपाली हुनुमै गर्व छ


यो हफ्तैभरी फेसबुक र अनलाइन अखबारहरु प्रवाशी मन्चको समाचारले रङ्गीन देखिए । फेसबुकका भित्ताहरु बधाई , शुभकामना र सेल्फी तस्वीरहरुले भरिएका थिए । जित्नेहरु खादा र रातो टीकामा गमक्क फुलेका , हार्नेहरु अमिलो मन बोकेर सत्तो सराप गरेको दॢश्य त्यहाँ छताछुल्ल भएको धेरैले अनुभव गरेको हुनुपर्छ ।  हिजोसम्म आफू नेपालका कुनै दलसँग साइनो नभएको बताउँदै रवाफ दिने केही मित्रहरू लर्को लागेर एकताको सन्देश भन्दै सेल्फीमा सजिएर गौरवसाथ मन्चको अधिवेशनमा सहभागी बनेको पनि देखियो । फेसबुकका भित्ताहरुमा बधाई सन्देश  लेख्नेहरुले पनि त्यो पद , संस्था र त्यसको औचित्यका बारेमा  जानकार छु भन्ने हेक्का कति राखे होलान् , उनीहरूलाई नै थाहा होला । 
 
नेपालको राजनीतिलाई अमेरिकी माटोमा मलजल गरेर यहाँको नेपाली समाजले के पाउने होला ? केकोलागि , कस्कोलागि नेपाली नेपाली विभाजित गर्ने  स्वदेशको राजनीतिक दलदलमा भासिएको होला ?  अमेरिकी समाज र यहाँको राजनीतिक मन्चमा आफ्नो ऊर्जा नखर्चेर किन मुल्यवान समयलाई यसरी वेफ्वाँकमा उडाउने होला ? जब जब म नेपालका राजनीतिक दलका छाँया संस्थाहरूको यस्तो क्रियाकलाप देख्छु मेरो मन मस्तिष्कमा  यस्तै प्रश्नहरुले औडाहा हुन्छ । उर्जाशील नेपालीहरू अमुक राजनीतिक दलको झोला बोकेर समुदायमा ताहुर माहुर गरेको देख्छु मलाई लघुताभास  हुन्छ ।  
 
कहिले जनसम्पर्कको नाममा , कहिले प्रवाशी मन्चको नाममा त कहिले कुन दलको भातॢ संस्थाको नाममा अमेरिकी नेपाली समाज विभाजित हुनु कति उपयोगी होला ? हो , जतिबेला नेपालमा मानव अधिकार थिएन , निरंकुश शाशन थियो ,जसले जनताका आवाजलाई कुल्चिने गर्थ्यो – त्यो बेला अलोकतान्त्रिक नेपाली सत्तालाई  विदेशबाट दवाव सिर्जना गर्न यस्ता खाले दवाव समूह आवश्यक पर्थ्यो । विदेशमा बस्ने नेपालीहरूले अन्तर्राष्ट्रिय संस्था र विश्व समुदायलाई झक्झक्याउँथे । 
 
अहिले त्यो अवस्था रहेन । अब त हामीले यहाँको नेपाली समुदायलाई संगठित र एकताबध्द बनाउनु पर्नेमा उल्टै दलगत राजनीतिमा होमेर जग हँसाउदै छौँ । यहाँ स्थानीयस्तरमा धेरै नेपाली संघ संस्थाहरू क्रियाशील छन् । परेको बेलामा आफ्नो समुदाय र मातॢभूमीकोलागि सकारात्मक काम गरेका छन् । ती संस्थाहरूमा एकसे एक प्रतिभावान र उर्जाशील नेपाली काम गर्छन् । विस्तारै अमेरिकी मूलधारमा आफ्नो हाजिरी देखाउँदैछन् । कति नेपाली अझै पनि संघर्षका अप्ठ्याराहरुसंग लाप्पा खेल्दै जीवनको रफ्तारमा आफूलाई समायोजन गर्न खटिएका छ्न् । उनीहरूलाई खै त चाहिएन नेपालका राजनीतिक दलको छहारी ? हामीले त  त्यस्ता संघ संस्थाहरुलाई मलजल गर्नु पर्ने हो । एनआरएन जस्तो संस्थालाई प्रवाशी नेपालीको साझा चौतारी बनाउन भरथेग गर्नु पर्ने हो ।  यसलाई समेत राजनीतिक रङ्गले पोत्न बन्द गरौं । 
 
अमेरिकामा हामी नेपाली भएर बाचौं न । यहाँको मूलधारमा आफ्नो अस्तित्व देखाउन हाम्रो आफ्नै समुदायलाई बलियो बनाउँन । किन बन्छौं काँग्रेस ? किन हुनुपर्यो एमाले ?अनि किन चाहियो माओवादी र राप्रपा ?  दलको नाममा , जातको नाममा , धर्म र क्षेत्रको नाममा यहाँ पनि हामी किन बाँडिदैछौं ?  नेपालका राजनीतिक दलका नेता आउँदा एयरपोर्ट पुगेर खादा ओढाउन संस्था चाहिएको हो ? पारिवारिक भेटघाट र व्यक्तिगत काममा यहाँ आउने  नेताहरूको अघिपछि चाकडी बजाउन कार्यकर्ता चाहिएर संस्था गठन गरिएको हो ? यदि हैन भने त्यस्तो चाकडी बजाउन बन्द गरौं । यहाँको समग्र नेपाली समुदायको हितैषी बनेर आउनेहरुलाई स्वागत गरौं । थोत्रा  राजनीतिक नारा , भाषण र अर्थ सहयोगको अपेक्षा बोकेर आउनेलाई तिरस्कार गरौं । 
 
केही समय अघाडि कॢष्ण धरावासीको ग्रेट फल्स पढ्दै गर्दा अमेरिकावासी नेपालीका बारेमा उनको घतलाग्दो प्रतिक्रिया पाएँ त्यहाँ । मैले अमेरिका बसाइको शुरुदेखिनै नमिठो मानेको बुझाइलाई धरावासीले यसरी खुलस्त पारेछन्- " मैले अमेरिकी नेपालीहरू यति सिकिस्त भइसकेका होलान् भनेर अनुभव गरेको थिइनँ । नेपालको राजनीतिक , सामाजिक र आर्थिक वातावरणबाट असन्तुष्ट भई देशै छोडेर हिँडेकाहरुभित्र देशको विकॢति यति धेरै घुलिसकेको हुँदो हो भन्ने सोचेको पनि थिइनँ । मलाई त लागेको थियो – उनीहरू अमेरिका आएपछि यहाँको खुला , शान्त र समानताभित्र बिस्तारै घुल्दै गइरहेका होलान् । तर अमेरिका आएका नेपालीहरू यहाँ पनि तेल र पानीकै अवस्थामा रहेछन् । .. "  
 
आफूलाई नेपाली अमेरिकन भन्न रुचाउने अमेरिकी नागरिकता लिइसकेका नेपाली हुन् वा ग्रीनकार्डधारी धेरै नेपाली  , यस्तो राजनीतिक र संकीर्ण सोचले खोलिएका संस्थाप्रति खुसी पटक्कै छैनन् ।  अमेरिकी नागरिकता गोजीमा हालेर  यहाँ नेपाली दलगत राजनीति गर्नेहरुले के बुझ्नु पर्‍यो भने उनीहरू नेपाल फर्केर जाने हैनन् , अब नेपालप्रतिको भावुकता उताको फोहोरी राजनीतिले हैन यहाँ गरिने असल र लगनशील कर्मले प्रमाणित हुनेछ ।  
 
नेपालबाट एक जना बराल बन्धुले गएको महिना मलाई एउटा अनुरोधपूर्ण खबर गरे- दाई त्यता पनि बरालहरु धेरै भइसकेछन् , बराल बंश प्रतिष्ठानको शाखा खोलौंन । 
 
उनको कुरा आधा मात्रै सुनेपछि मेरो कन्पारा तात्यो । मैले ठाडो भाषामा उनलाई सम्झाएँ – भाई म यहाँ बराल भएर बसेको हैन ,न त बाहुन भएर नै । म अमेरिकामा झापाली पनि हैन , न त काँग्रेसी हुँ । आजसम्म म एउटा नेपाली हुँ । भोली अमेरिकी नागरिकता लिएछु भने म नेपाली अमेरिकन हुनेछु । बराल बंशको सदस्य हुन मन लागे त्यतै आउँला । नेपालको राजनीति गर्ने जाँगर चल्दा त्यतै आएर कम्मर कसौंला । अहिलेलाई यहाँ नेपाली भएरै बाँच्नु छ । अबदेखि यस्तो बकम्फुसे कुरा मलाई सुनाउने होइन ।  
 
उसले आशै नगरेको जवाफ सुनेर सायद रन्थनियो त्यो भाई , त्यसपछि सम्पर्क गरेन । 
 
यहाँ पनि मेरा धेरै साथीभाईहरु बेला बेलामा राजनीतिक आग्रह लिएर आउँछन् । म जहिले पनि उनीहरूलाई रित्तो हात फर्काउँछु । मित्रता आफ्नो ठाउँमा छ । मेरो अन्तरमनले नमानेको कुरा म कसरी मानुँ ? यो पंक्तिकार संघसंस्था विरोधी होइन । तर औचित्य पुष्टि नहुने संस्थामा बसेर समय खेर फाल्न मलाई मन छैन । साथीभाईको नाताले भलाकुसारी गर्नु , भेटघाट गर्नु सामाजिक कर्तव्य हो । भोली अमेरिकामा नेपालका नेताहरू आउलान् । शेरबहादुर , केपी , प्रचण्ड , कमल जो आएपनि खादा ओढाउन एयरपोर्ट पुग्दिन । शिष्टाचार भेट गर्नु अर्कै कुरा हो । हो नेपालबाट डा.गोविन्द केसी , कुलमान घिशिङ्ग,अनुराधा र  मदनकॢष्ण हरिबंशजस्ता पत्यारिला नेपाली आएभने माला बोकेरै स्वागतमा बसौंला ।यिनीहरूले नेपालको इज्जत बोकेका छन् ।  नेपालका राष्ट्रप्रति , प्रधानमन्त्री औपचारिक निम्तोमा आएभने संयोग पर्दा हार्दिकताले स्वागत गर्नु पर्छ । उनीहरू देशको प्रतिनिधित्व गर्छन् । 
 
मेरो आशय यहाँका नेपाली लगनशील , अनुशासित र  उर्जाशील भएको देख्न पाउँ । सकिन्छ आफ्नो समाज र समुदायकोलागि राम्रो गरौं । हैन , सकिँदैन भने चुपचाप आफ्नो जीविका गरौं ।  भविष्यमा कुनै नेता निस्किए जस्लाई देखेर नेपालीको शिर ठाडो हुनेछ , त्यति बेला सोचौंला कसरी उनीहरूको सम्मान गर्ने भनेर ।अहिले त म नेपालमा शीर्ष भनिएका  कसैलाई पनि अन्तर मनबाट सम्मानको  हकदार देख्दिन । साथीभाई रिसाउलान् भनेर आफूलाई बोध भएको कुरा नलेख्ने कुरा भएन । लेखकले सत्य लेख्नु पर्छ भन्छन् । लेख्दा ब्रम्हले देखेको लेख्नु पर्छ भन्छन् । मैले त्यही लेख्दैछु । म कसैको अधिनमा हैन स्वविवेकले बाँधिएको छु । म यहाँ नेपाली हुनुको गर्व गर्न चाहन्छु । कॢपया मलाई राजनीति, जात धर्म र क्षेत्रमा नबाँड्नु  होला साथीहरू ।  
 
 
 
प्रतिकृया दिनुहोस