मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

असुरक्षित गर्भपतन बढ्दै

असुरक्षित गर्भपतन बढ्दै


लमजुङ । जिल्लामा असुरक्षित रुपले गर्भपतन गराउनेको संख्या बढेको सार्वजनिक भएको छ । 
 
असुरक्षितरुपले गर्भपतन गराउँदा समस्या बल्झिएपछि थप उपचारका लागि जिल्ला अस्पताल आउनेको सङ्ख्या बढेकाले सो घटना सार्वजनिक भएको हो । 
 
जिल्लाको सबैभन्दा ठूलो अस्पताल लमजुङ जिल्ला सामुदायिक अस्पतालमा गर्भपतन सेवा नभए पनि अन्यत्र गर्भपतन गराएर समस्यामा परेका बिरामी भने सो अस्पतालमा आउने गरेका छन् । 
 
अस्पतालको तथ्याङ्कअनुसार गत साउन यता ५६ जनाले असुरक्षितरुपले गर्भपतन गराउँदा समस्या भएर थप उपचारको लागि जिल्ला सामुदायिक अस्पतालमा आएका हुन् । गर्भपतनपछि समस्या भएर आएकाको पनि तथ्याङ्क राखिएको जनस्वास्थ्य प्रमुख दुर्गादत्त चापागाईंले बताए । 
 
लमजुङमा सुरक्षित गर्भपतनको लागि पाँचवटा स्वास्थ्य एकाइले मात्र अनुमति पाए पनि निजी मेडिकल हल तथा क्लिनिकमा गएर असुरक्षित गर्भपतन गराउने बढिरहेको अनुमान गरिएको छ । 
 
“सरकारले १२ हप्तासम्मको गर्भपतनको निम्ति निःशुल्क व्यवस्था गरेको छ” जनस्वास्थ्य प्रमुख चापागाईंले भने, “तर अस्पतालको तथ्याङ्क अनुसार पैसा तिरेर अवैधानिक र असुरक्षित गर्भपतन गराउने अधिक भएको अनुमान गरेका छौँ ।” 
 
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार सदरमुकाम बेसीसहरको लमजुङ मोडेल अस्पताल (निजी अस्पताल)ले सुरक्षित गर्भपतनका लागि मान्यता पाएको छ । 
 
सोबाहेक सुन्दरबजार अस्पताल, चिसंकु स्वास्थ्यचौकी, धमिलीकुवा स्वास्थ्यचौकी र खुदी स्वास्थ्यचौकीले सुरक्षित गर्भपतनका लागि अनुमति पाएका छन् । 
 
अवैधानिक र असुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्था पहिचान भएकाले त्यस्ता संस्थालाई छानबिन गरी कारबाही गरिने जनस्वास्थ्य प्रमुख चापागाईंले बताए । 
 
सरकारले अनुमति दिएका स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको निम्ति शुल्क नलाग्ने घोषणा गरे पनि सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या अघिल्ला वर्षको तुलनामा घटेको पाइएको छ । 
 
कार्यालयका अधिकृत कौशल भण्डारीका अनुसार चालु आवमा लमजुङमा गर्भपतन गराउनेको सङ्ख्या १०० पनि कटेको छैन । उनले जिल्लाका पाँच वटै सेवा केन्द्रबाट करिब ७५ जनाले सुरक्षित गर्भपतन गराएको बताए । यसअघिको तथ्याङ्कअनुसार जिल्लामा मासिक ५५ भन्दा बढीले गर्भपतन गराएका थिए । 
 
असुरक्षित यौन सम्पर्क, छोरा पाउनुपर्ने परम्परागत मान्यताजस्ता कारणले गर्भपतन गराउनेको सङ्ख्या बढेको सरोकारवाला बताउँछन् । गर्भपतन गर्नेमा २० देखि ४० वर्ष उमेर समूहका बढी रहेको तथ्याङ्कले देखाएको छ । रासस