मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

बस्ने अमेरिकामा, राजनीतिको ह्याङओभर नेपालकै

बस्ने अमेरिकामा, राजनीतिको ह्याङओभर नेपालकै


आइतबार गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको अध्यक्षमा गौरी जोशीको उम्मेदवारी सार्वजनिक कार्यक्रम थियो टेक्ससको ड्यालसमा । नेपाली समाज टेक्ससको सभाहलमा आयोजित कार्यक्रममा उनले भने—‘हामी यहाँ बस्नेलाई नेपालको राजनीतिक दलको भातृसंस्था खोलेर, त्यसमा बस्नुको के औचित्य हुन्छ ? बरु यही (अमेरिका) कै डेमोक्रेटिक या रिपब्लिकन पार्टीमा आवद्ध भएर अघि बढौँ न । त्यसैमा हामी र हाम्रा नयाँ पुस्ताले धेरै सिक्ने/जान्ने अवसर पाउँछन् ।’
 
कार्यक्रममा टेक्ससमा रहेका नेपाली समुदायका थुप्रै गिनेचुनेका व्यक्तिहरु थिए । जोशीको भनाईलाई समर्थन गर्दै सबैले तररर… ताली पनि ठोके । जोशीको मुखबाट त्यो भनाई निस्किएपनि अधिकांश नेपालीले महसुस गरेको तथ्य थियो त्यो । नेपालका राजनीतिक दलको भातृ संस्था खोल्ने, नेताहरु आउँदा एअरपोर्टमा खादा ओढाउने प्रतिस्पर्धा, कसले नेतालाई आफ्नो घरमा लगेर पहुँच देखाउने होडबाजी र अन्तिममा समाजलाई त्यसले गराएको बिभाजनले बौद्धिकवर्गमा गनिने नेपाली समुदाय बिरक्तिएको छ ।
 
तर, जोशीको कार्यक्रम नसकिँदै हलमा मान्छेहरु पातलिन थाले । हल खाली हुन थाल्यो । केही बेरमै नेपाली समाज टेक्ससको हलबाट निस्किएर मानिसहरु रमाइलो रेष्टुरेन्ट र त्यससँगै रहेको ह्याथ्रोन सुइटमा बाँडिए ।  
 
रमाइलोमा नेपाली जनसम्पर्क समितिको गोप्य भेला थियो । जहाँ जनसम्पर्क समिति अमेरिकामा पद नपाएर विचलित भएका विष्णु सुवेदी आफुले गर्न लागेको भेलाका बारेमा जानकारी दिँदैथिए । 
 
उता ह्याथ्रोनमा प्रवासी नेपाली मञ्चको अधिवेशनका लागि प्रतिनिधि छनौट कार्यक्रम । आउँदो महिना बाल्टिमोरमा हुन लागेको अधिवेशनमा सहभागी हुने ३६ प्रतिनिधिहरुको छनौट गरियो भेलामा । अधिवेशनमा नेपालबाट एमालेका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री केपी शर्मा ओली आउँदैछन् ।
 
नेपाली समाजमा एउटा भनाई छ—‘पढायो पढायो पाठ, सोह्र दुना आठ ।’ जोशीले नेपालको ह्याङओभर छाडेर यहीँ अमेरिकाको राजनीतिमा सकृय हुन आह्वान गरेको आधा घण्टा नबित्दै नेपालकै राजनीतिक दलको भातृसंस्थाको भेलामा नेपालीहरु तँछाड मछाड गर्दै सहभागी भए । 
 
अमेरिकामा नेपालीको संख्या झण्डै साँढे दुईलाख छ । एनआरएनले बिभिन्न निकायहरुबाट लिएको तथ्यांक र लामो अध्ययनपछि यो संख्या बाहिर आएको हो । दुईचार हजारको तलमाथि हुनसक्छ । तर अबदेखि यसैलाई आधार मान्नुपर्ने अवस्था छ । किनकी यो आधिकारिक संस्थाले, आधिकारिक संस्थाहरुसँग लिएर, लामो समय अध्ययन गरेर निकालेको तथ्यांक हो । 
 
साँढे दुईलाख नेपाली भएको अमेरिकामा मानिसहरु विभक्त छन् । विशेषगरि राजनीतिक आस्थाका आधारमा नेपाली समुदाय असाध्यै बाँडिएको छ । अमेरिकाकै राजनीति (डमोक्रेट र रिपब्लिकन) को आधारमा बाँडिएको भए त्यति अप्ठेरो हुने थिएन । तर यहाँ त केबल नेपालको राजनीतिक दलमा आस्था राखेकै आधारमा मानिसहरु बिभक्त छन् । 
 
राजनीतिपछि नेपालीहरु बाँडिएको अर्को कारण हो—जातजाति । ‘म फलानो जातीको’ भनेर त्यही अनुसारका संस्थाहरु खुलेका छन् । अमेरिका आएर पनि ‘म जनजाति’ भनेर फलाक्नु र समाजलाई विभाजन गर्नुको कुनै तुक देखिँदैन । हो, आफ्नो धर्म, संस्कार अनि संस्कृतिका बारेमा साना नानीहरुलाई सिकाउनुपर्छ । तर त्यसको असर यस्तो नपरोस् कि हामी त अलग्गै समुदायका रहेछौँ ।
 
बेलाबखतमा यहाँ रहेका नेपाली संस्थाको नेतृत्वका लागि प्रतिस्पर्धा हुन्छ । जसरी अहिले एनआरएनको लागि भइरहेको छ । त्यतिबेला नेपालको राजनीतिको स्पष्ट छायाँ यहाँ पर्छ । ‘फलानो त बामे हो नि, कता भोट दिने त्यसलाई ?’, ‘ढिस्कानो त कालो कांग्रेस हो, त्यसलाई त ढिम्किनै दिनुहुँदैन’ देखि लिएर ‘यो त खाँटी मण्डले हो’ भनेका स्वरहरु यो टिप्पणीकारले धेरै पटक धेरैका मुखबाट सुनेको छ । 
 
नेपालको राजनीतिक दलकै प्रभावले चुनाव हुँदा ‘राम्रा मान्छे भन्दा हाम्रा मान्छे’ का आधारमा छानिन्छ । कुन संस्थामा कसले कव्जा जमाउने भन्ने कोठे बैठक हुन्छन् । नेपालको दलको छायाँले गर्दा नेपाली संस्थाहरु पटक पटक टुटफुट भएका छन् । अझै फुट्ने चरणमा छन् । 
 
के अमेरिका आएर हामीले सिकेको यही हो त ? छातीमा हात राखेर मूल्यांकन गरौं—कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति, एमालेको प्रवासी मञ्च लगायत अरु दलका प्रवासी भातृसंस्थामा लागेकाहरुमध्य कति जनाका छोराछोरी ती संस्थामा सकृय छन् ? सकृयताको कुरा छाडौँ, कतिजनाका छोराछोरीले ती संस्थाप्रति चासो दिएका छन् ? शायद यसको जवाफ उहाँहरु आफैँले मनमनै खोज्नुहुनेछ र भेट्नुहुनेछ—‘शून्य’ ।
 
नेपालमा छँदा एउटा राजनीतिक दलमा आस्था नराख्ने कोही पनि हुँदैन । नचाहेर पनि आवधिक निर्वाचनमा मतदान गरेका र कतिपय त उम्मेदवारै भएका पनि अमेरिकामा छन् । त्यसको अर्थ यो होइन कि त्यहाँ दलमा आवद्ध भएकै आधारमा यतापनि त्यतैको राजनीतिलाई समातिरहनुपर्छ । 
 
अमेरिकामा नेपालबाट दलका उपल्लो तहका नेताहरु आउँछन् । अधिकांश यस्तै भातृसंस्थाका कार्यक्रममा त केही आफ्ना छोराछोरी, नातिनातिना भेट्न आइपुग्छन् । उनीहरुले पनि ‘अमेरिकाको राजनीतिमा स्थापित हुनुस्’ भनेर शूभकामना दिएको यो टिप्पणीकारले सुन्ने अवसर पाएको छैन । उही पट्यारलाग्दा विपी कोइराला र मदन भण्डारीका सिद्धान्तका कुराभन्दा ती नेताहरुले थप केही बोलेको सुनिएको छैन । नेपालका नेताहरुले यहाँ आएर अमेरिकाका राष्ट्रपति, सेक्रेटरी अफ स्टेट त छाडौँ तिनले काउन्टीका मेयरलाई समेत भेटेर कुराकानी गरेको रेकर्ड छैन । 
 
गत महिना परराष्ट्रमन्त्री प्रकाशशरण महत एनआरएनको साधारण सभा उद्घाटनका लागि अमेरिका आए । परराष्ट्रमन्त्रीले एनआरएन मुभमेन्टलाई ठूलो महत्व दिएर सात समुद्रवारिसम्म आइपुग्नु प्रवासी नेपाली समुदायको लागि निकै गर्व गर्ने अवसर हो । उनको यो भ्रमण राजनीतिक दलको नेताको हैसियतमा नभएर सार्वभौम मुलुकको परराष्ट्रमन्त्रीको रुपमा थियो । तीन दिने अमेरिका भ्रमणको क्रममा उनी टेक्सस, अझै भन्नुपर्दा ड्यालस छाडेर कतै गएनन् । 
 
परराष्ट्रमन्त्रीले यहाँ (अमेरिका) का सरकारी उच्च अधिकारीहरुसँग भेटेर नेपाली समुदायका कुराहरु राख्न सकेको भए भ्रमण थप सार्थक हुनेथियो । तर उनी नेपाली समुदायको हित, प्रवासी नेपाली समुदायले भोगेको समस्यालाई समाधान गर्ने भन्दा पनि भातृसंस्थाका पदाधिकारीको ‘जुँगाको लडाईँ’ लाई साम्य बनाउनेतिर तल्लित भए । यसले पनि स्पष्ट पार्छ—‘हामी नेपालीको हैसियत ।’ परराष्ट्रमन्त्रीले देशको प्रतिनिधित्व गरेर अमेरिकाका सरकारी निकाय, राजनीतिक व्यक्तित्वहरुसँग भेटेर आपसी हित र सहयोगका विषयमा कुराकानी गर्नुपर्नेमा कांग्रेसको भातृसंस्था जनसम्पर्क समितिको जुँगे लडाईलाई महत्व दिनुलाई धेरैले सहज रुपमा लिएका छैनन् । 
 
महतलाईमात्र आरोप लगाउन खोजेको होइन । शायद अर्को महिना आउन लागेका एमाले अध्यक्ष केपी ओलीले पनि गर्ने यही र यस्तै हो । उनले पनि अमेरिकी राष्ट्रपति लगायत उच्च सरकारी अधिकारीहरुसँग भेटेर नेपाली प्रवासी समुदायका बारेमा केही कुरा राख्लान वा गर्लान भनेर आशा गर्नसक्ने आधार भेटिएको छैन । 
  
अमेरिकामा बसेपछि आफ्नो र समुदायका हितका लागि यहाँका जुन दल र नेताहरु सकारात्मक र सहयोगी छन् त्यतैतिर लाग्नुपर्ने थियो । तर ‘टाउको दुखेको ओखती नाइटोमा लगाउने’ भनेजस्तै भएको छ । नेपालका नेताहरुले नत यहाँ गर्ने सामथ्र्य र ह्याउनै राख्छन्, नत विधिवत रुपमा नेपालको दलको भातृसंस्था हौँ भनेर भन्न सक्ने अवस्थानै छ । तरपनि मरिहत्ते गरेर एकले अर्कालाई उचाल्न, पछार्न समाजका अगुवाहरुनै अग्रसर भएको देखिन्छ । नेपालबाट नेताहरु आउँदा लावालश्कर लागेर चाकडीमा लीन भएको दृश्य अपाच्यनै हुन्छ । 
 
हामीमध्य धेरैले अमेरिकालाई कर्मभूमि बनाइसकेका छौँ । एकाधलाई छाडेर कोहीपनि अमेरिका छाडेर मातृभूमि फर्कन चाहँदैनन् । त्यसो हुँदा बरु यहीको राजनीतिमा संलग्न किन नहुने ? हामीले हाम्रा छोराछोरीलाई सिकाउने र उनीहरुले जान्नुपर्ने यहीको राजनीति हो । यहाँ नेपालीले नेपालको राजनीति गरेर, दलको भातृसंस्था खोलेर कुनै प्रभाव पर्नेवाला पनि छैन । अमेरिकामा हाड घोटेर कमाएको ‘पेनी’ र ‘डलर’ कमाउने तपाई—हामीहरु नेपालका नेताका ‘मुर्गा’ भन्दा बाहेक केही हुन र बन्न सक्दैनौँ । 
 
एनआरएनका अध्यक्षका अर्का उम्मेदवार राम सी पोखरेल अमेरिकाको अहिलेको सत्तासिन रिपब्लिक पार्टीका सदस्य हुन् । उनले सो पार्टीको ‘मेम्बर एट लार्ज’ का लागि आवेदन दिइसकेका छन् । उनी नेपाली राजनीतिक दल र तिनका भातृसंस्थाले अमेरिकामा गर्ने कार्यक्रममा बिरलै पुग्छन् । जाँदै जाँदैनन् भन्दा पनि हुन्छ । 
 
केही नेपालीहरु अहिले अमेरिकाको मुलधारको राजनीतिमा स्थापित हुने प्रयासमा छन् । चाहे जुनसुकै दलबाट स्थापित हुने प्रयासमा भएपनि नेपाली समुदायले उनीहरुलाई सहयोग गरेमा भविष्यमा आफ्नै  समुदायलाई सहज हुने हो ।